नवौं दिन : २०७७ असोज ३०, शुक्रबार
तर आज खाना खाएर छतमा गइनँ। मिश्र जीको किताब बढेर समय विताएँ। त्यो भन्दा धेरै त सुतेँ।
अनि मोबाइल चलाएर समय विताइदिएँ। केही समय अफिसको कममा पनि दिएँ।
प्रकाश दाईको जोक, अर्जुन दाईको विश्लेषण र विक्रम दाईको आत्म अनुभव सुनेको आज तेस्रो दिन। त्यसैले दिन वित्यो।
हाम्रो कोठामा नयाँ आएका एकजना बाजेले भने पल्लो कोठामा भएका ६२ वर्से अर्को बाजेलाई साथी बनाएछन्। उनीहरु आजकल खुब गफिन्छन्। बाजेलाई आफ्ना कुरा सुनाउन खुब मनपर्छ।
उनी आफ्नो स्याउ खेती, स्याउको सस र गुन्द्रुकबारे धेरै कुरा गर्छन्। स्याउबाहेक उनको घरमै ओखर खेति पनि रहेछ। सुनाउँछन – कसरी टिप्ने कसरी सुकाउने, बेच्ने ठाउँ र बजार कस्तो छ।
सिलाजित कस्तो ठाउँमा पाइन्छ। कसरी निकालिन्छ। कति गाह्रो छ यस्तै अनुभव सुनाउँछन।
तर ति बाजे गफ पनि ए.... वा हे... लगाएर गर्छन्।
‘ए... त्यो त माथीऽऽऽ छ नि ! धेरैऽऽऽ माथी हो नि ! एकदिन लाग्छ एकदिन,’ यार्सागुम्बा पाइने ठाउँबारे सोद्दा उनले यसरी जवाफ दिए।
अरु कुरामा पनि हे वा ए लगाउने बानी उनको जिब्रोमै थियो।
तर आज तपाइँलाई सुनाउनु पर्ने अर्को कुरा पनि छ – विहान छतमा योगा गर्न जाँदा एकजना प्रहरी दाईको मोवाइल हराएछ।
छतमा सीसी क्यामेरा छैन्। यसकारण चोर पत्ता नै लागेन। अर्कोजना प्रहरी दाईले सोद्दै खोज्दै खाएका त थिए। तर उनले पनि धेरै छानविन गरेनन्।
रातिसम्म पनि चोर पत्ता लागेन्। सायद उनले मोवाइल नै माया मारे होलान्। केही गोप्य चिज हरायो कि ! मैले अनुमान गलाएँ।
यता, मैले आज साँझमा पनि अभ्यास गरेँ। ११ राउन्ड छतमा फान्को मारेँ।
त्यति सकेपछि तल गीत बज्न थाल्यो। ‘को नाचे होलान् र ?’ मनमा प्रश्न जाग्यो। तर आज त अचम्मै भयो। १०/१२ जना नाचिरहेका थिए। हिजो एकजना पनि ननिस्किएको ठाउँमा आज एकाएक यतिधेरै ? आफैंले आफैंलाई प्रश्न गरेँ। किनभने नाच्ने भनेको यहाँको एक प्रकारको सेलिब्रेसन जस्तै हो।
म पनि गएर भ्यागुत्तो उफ्रेझैँ उफ्रन थालिहालेँ। पसिना आएको ज्यान झन् धेरै भिज्यो। बिक्रम दाई त पुरै भिज्नुभयो।
आज धेरै दिनपछि एकदमै मजा खायो। सबैका झुम्पाङ डान्स देख्न पाइयो।
केही छिनमा गीत मर्यो। तल फोन आएछ क्यारे। तातिएको युवा जोस रोकिएको गीतले कहाँ रोक्थ्यो र ?
‘कलिलो तामालाई सोध आमालाई....’ एकजनाको मुखबाट प्याट्ट निस्किहाल्यो। सबैका ओठले त्यही गीत पछ्याइहाले।
‘लेकाली हो हो चोयोको डोको.....’ त्यसपछि अर्को गीत सबैको मुखबाट बज्न सुरु भयो। सायद एक्कासी बज्न छोडेको स्पिकर पनि छक्क पर्यो होला। ठूलो जमातको ठूलो स्वर सुनेर।
यसरी नै चार गीतमा नाचिसकेपछि भने गला सुकेछ क्यारे। शान्त भए सबै। तर कसैलाई चाहिँ शान्त हुनु थिएन्।
एकजनाले भट्उन पो थाले – अरुले देउसिरे भन्न थाले। पाँच मिनेट जति त तिहार आएकै आभाष भयो।
कही मिनेटपछि गित बज्यो। तर नाच्ने खालको बजेन। अब सबै मान्छे गलेजस्तो लाग्यो। लाखापाखा लाग्न थाले। म पनि कोठामा फर्र्किएँ।
आजको थप कुरा चाहीँ बाहिर वाइफाई इन्स्टल गरिएको रहेछ। देखेको थिएँ दिउँसो। साँझमा कनेक्ट गर्न प्रयास पनि गरेँ तर मेरोमा कसैगरे चलेन।
नचलाईकन चित्त बुझाएँ। फेरि अहिले पनि ट्राई गरेँ तर चलेन। एकछिन गफ गरेर कोठामा फर्केँ।
नाचेर र दौडेर आज निकै खुट्टा दुखिरहेको छ। साँझ खाना खाएपछि सुतिहाल्ने विचार थियो। तर हिजोको र आज दुई दिनको डायरी लखेकै थिएन्।
लेख्छु भनेर ल्याप्टप निकालेँ। १० बजेर दस मिनेट जाँदा लखेर भ्याएँ। हिजोको अल्छे केटा आज एकाएक जाँगरिलोमा बदलिएको भान भइरहेको छ। तर निद्रा पनि लागिरहेको छ।
अनि आजको नयाँ खबर भनेको थोरै मात्रामा भए पनि साबुनको बासना आएको छ। मलाई अत्यन्तै खुसी लागिरहेको छ। अब कोरोना रिकभर हुने लयमा लागेको भान भइरहेको छ।
म दिनकै एकपटक वा दुई पटक साबुन सुँघ्ने गर्छु सँधै बासना आउँदैन थियो। आज अलेली आयो पहिलोपटक। धेरै खुसी लाग्यो। आज त १०÷१५ पटक जति सुँघे हुँला।
तर बासना धेरै कमजोर थियो। हो की हो कि भन्न खालको मात्र।
यो शुभ खबर सहित आजलाई शुभरात्री।
भाग - १०

No comments:
Post a Comment