इलाम बाट विर्तामोढ र त्यहाँ बाट २ घण्टा बसमा दौडेपछि इटहरी पुग्यौं । इटहरी पारायण ०६३ मा।
आजपनि त्यो बेलाको धमिलो याद मानसपटलमा कतै लुकेर बसेको छ । कञ्चन थाल... भन्दै आरति घुमाएर तल लैजाँदा झुकेका तिम्रा नजर आरती माथि ल्याउँदा मेरा आँखासंग ठ्याम्मै जुधेका थिए ।
कति रोमाञ्चकता भरेको थियो है त्यो पलले ?
ममिको सारीको आँचलमा लुक्दै हेर्दै गर्दा मैले संसारै भुलेको थिएँ प्रिये । के तिमिले त्यस्तो महसुस गरेनौं ?
‘आबोजी बाला मारे घेर आबोजी बाला...’ देखि ‘मंगलाचरण प्रकरण’ सम्मको बिहानिको प्रेम र ‘भई भईरे नवखण्डो आरती’ गाउँदा पटक पटकको हेराइको नसा अझैसम्म उत्रिएको छैन प्रिये ।
के तिमि अझैं संझना गर्दैनौ ति स्वर्णिम पलहरुलाई ?
अहँ ! म मान्दिन कि बाँकी मेरा प्रेम झुटा छन् । तर तिमिसँगको त्यो निःशव्द प्रेमनै पहिलो र अझर प्रेमको प्रतिक बन्यो । कति निःश्वार्थ थिए ति भावनाहरु ।
न डेटिङ् जानलाई पैसा जोगाउनुपर्ने डर, न झुटको बहाना बनाउनुपर्ने बेदना, न यौनको भोक, न बिबाहको चाहाना । बस प्रेम थियो । निश्चल प्रेम । तर आज आएर तिमि कथामा मात्र सिमित हुन पुग्यौ । प्रिये ।
आज पनि तिम्रा सहअस्तित्वका गुञ्जाइसहरु विलिन भैसकेका छैनन् । तिम्रा ओठ, नाक, कपाल सबै छापिएका मेरा कागजका पानाहरुको अन्तिम रुपहरु यतै कतै रहिरहेछन् ।
ममिले बढो स्नेहपुर्वक सफा गर्दै डस्टविनमा जतनसाथ राख्नुभएका ति पानाहरु आज खरानि भएर मेरा वरिपरी घुम्छन् । प्रिए! एस्तो प्रेमभुमरी भएन र तिमिलाई ?
'प्रेम के हो ?' भन्ने आभास नहुँदै परमात्मालाई साक्षी राखेर गरिएका मौन वार्तालाप निरन्तर चलिरहोस् जस्तो लाग्दथ्यो । हामिले सँगै खाएका प्रसाद र चरणामृत खासमा प्रसाद र चरणामृत थिएनन्, हाम्रा प्रेमका सगुन थिए । यै सगुुन त्यहाँ आजपनि बाँडिन्छ । तर खानलाई तिमी र म साथ हु्दैनौं । यो कस्तो बिडम्बना ?
सुर र तालमा लयबद्ध गरीएका सेवापुजाका धुनहरु, रसहरु हाम्रो प्रेमको धुन भैदिए हुन्थ्यो जस्तो लाग्थ्यो । तर ति धुनहरु आज सेवापुजामा सुन्न पाइँदैन प्रिये । कठोरतापुर्वक ति धुनहरु परिवर्तन गरीसकिएछ ।
'सायद हामिबीचको प्रेम पुरानो धुनसँगै विलिन भयो' भन्ने सोचेकि छेउ भने, छैन प्रिये । म त्यहि धुन फर्काउन निरन्तर लागिरहेको छु ।
हो । यसपालि पनि म गएँ, इटहरी पारायणमा । मेरा प्रेमहरुलाई फर्काउन । समयले टाढा पुर्याएकाे तिमीलाई म सम्म ल्याउन । प्रेमको लय फेरि फर्काउन ।
मेरो प्रेमको वीउ रोपिएको मन्दिर त हुर्किएर वयस्क भैसकेछ प्रिये । मन्दिर जस्तै तिमि पनि अब जवान भैसकेकी हौली । मन्दिझैं तिम्रो कद पनि अग्लिएको होलान् । सोह्रै शृंगार गरेर आउँदा तिमिलाई कस्ति देखिएला ? मन्दिर जस्तै वा त्यो भन्दा राम्री ? तिमी पनि यो पुण्यभूमि झैं पवित्र छेउ, मेरो मनमा । सदा सदाका लागि ।
मैले नचिने पनि मेरो प्रेमले तिमिलाई अवश्य चिन्नेछ प्रिये । तर दुर्भाग्य प्रेम अन्धो छ ।
No comments:
Post a Comment