कोठामा छिर्नेबित्तिकै वाइफाईसँग जोडिएको आवाज मेरो मेसेन्जरले जहिल्यै दिन्छ। आज पनि दियो। हातगोडा धोइसकेपछि मेसेन्जरमा सबैको डे र मेसेज चेक गरेँ। र, फेसबुकको वाल कोट्याउन थालेँ।
फेसबुकमा सदाझैँ पोष्टहरु थिए। स्क्रोल गर्दै जाँदा एक ठाउँ पुगेँ। जहाँ, आँखा ट्याक्क अडिए – ‘साया’ नामक फेसबुक ग्रुपको पोस्ट थियो त्यो।
एक प्रश्न सोधिएको थियो त्यहाँ, जसले मेरो दिमागलाई सोच्न बाध्य बनायो। उसो त, सामाजिक संजालको पोस्टबारे धेरै सोच्ने गर्दिनँ। त्यसमाथी जुन ग्रपुमा पोस्ट भएको थियो, त्यो ग्रुपको मेम्मबर थिइनँ। मेम्बर बन्नका लागि एक जाना साथीले आग्रह गरेका रहेछन्।
पोस्टको माथी देखाइएको थियो – ‘विपिन वान्टस यू टू जोइन साया।’
तर मैले ग्रुप जोइन गर्ने भन्दा पनि कोइसनको उत्तर सोच्न थाले। जहाँ सामीले प्रश्न गरेकी थिइन, ‘तपाईंहरुलाई भाँडा माझ्ने बेला सबैभन्दा माझ्न दिक्क लाग्ने भाँडो कुन हो ?’
म पनि घरमा दैनिक भाडा माझ्ने मान्छे। सकेसम्म घरमै खाना बनाएर खाने, जसकारण भाँडा माझ्ने काम हुने नै भयो। त्यसैले आफैंले आफैँलाई सोधेँ – ‘मलाई माझ्न अप्ठ्यारो लाग्ने भाँडा कुन होला त ?’
उत्तर पाउन मुस्किल पर्यो।
एसो आर्मालितिर हेरेँ – ग्लास र बटुका चम्किरहेका थिए। तर तिनीहरु माझ्न अप्ठ्यारा थिएनन्। फिल्टर तिर हेरेँ त्यो पनि माझ्न खासै गाह्रो थिएन्।
अलि गाह्रो लाग्ने भनेको कालो कराई हो। त्यो पनि भन्नैपर्ने गरिको गाह्रो भने होइन। थाल प्लेट पनि माझ्दा स्वाट्टै गइहाल्ने खालका भाँडा हुन क्यारे।
‘आखिर के हुन सक्छ त त्यो बस्तु ?’ धेरै गहिरिएर सोचेँ। उत्तर पत्ता लगाउन नसकेपछि त्यही पोस्टको कमेन्ट हेर्ने सोच बनाएँ। तर कमेन्ट हेर्न मिलेन। पहिले ग्रुपमा जोइन हुनपर्ने भयो।
मैले साया लेखेको ठाउँमा क्लिक गरेँ। र, ग्रुप जोइन गरेँ।
अनि लगत्तै रिफ्रेस गरिहालेँ। वालको तेस्रो स्थानमा देखियो त्यो पोस्ट। लगत्तै कमेन्टमा क्लिक गरेँ। त्यहाँ केही इमोजीका कमेन्ट थिए त केही मलाई भाँडा माझ्ना आउँदैन भन्ने खालका। आउँदैन भन्नेवाला धेरैजसो केटाहरु नै थिए।
तर तेस्रो कमेन्टमा मिलन रोकायाले कुकर माझ्न अप्ठ्यारो लाग्ने लेखेका थिए। त्यसपछि कुमारी आलेले त्यही पोस्टमा कमेन्ट गर्दै ‘कुकरको ढक्कन’ लेखकी थिइन्। उनलाई कुकरको बिर्को माझ्नल गह्रो लाग्ने रहेछ।
मैले सोचेँ। अहो...! हो त है...
त्यो कुकरको बिर्को माझ्न त लास्टै घाँडो हुन्छ। कहिले चिल्लो जादैन, कहिले सिट्ठीले दुःख दिन्छ त कहिले रबरको कुनाको जुठो त्यतिकै रहन्छ।
अझ भनौँ। त्यो सानासाना प्वालबाट त घोचीघोची फोहोर निकाल्नु पर्छ। यसको आकार पनि नियमित हुँदैन। कस्तो आकारको हो यो बिर्को ? मैले कुकरको बिर्को अन्य भाँडाको बिर्कोसँग दाँजी हेरेँ तर अन्य कुनैसँग मेल खाएन।
‘खै कस्तो आकार हो यसको।’ यही कुरा मनन गरेकी केशरी थापा लेख्छिन्, ‘दाल उमालेको कुकरको ढक्कन माझ्न लास्टै गह्रो।’ र, हो पनि।
किनभने दाल उमालेपछि त्यसको छोक्रा अक्सर कुकरको प्वालमा गएर टाँसिन्छ। र, माझ्न अप्ठ्यारो हुन्छ। मैले पनि अनुभव गरेको कुरा हो।
त्यही पोस्टको कमेन्टमा लोकेश घर्ती लेख्छन्, ‘सबैभन्दा गाह्रो कुकरको बिर्को हो। यो बनाउने मान्छेलाई मेरो तर्फबाट ध्यानाकर्षण गराउन चाहान्छु।’ कुकर बनाउनेलाई घर्तीले फेसबुकबाटै सानोतिनो गुनासो पोखे।
यसो भन्दै गर्दा मैले सोचेँ। साँची ‘कुकर र त्यसको बिर्को कसले बनायो होला ?’ गएर गुगल गरिहालेँ, ‘हु इन्भेन्टेड प्रेसर कुकर एन्ड इट्स कभर ?’
गुगलले देखाइहाल्यो – ३५० वर्ष पहिले फ्रेन्च भौतिकशास्त्री डेनिस पपिनले प्रेसर कुकरको डिजाइन गरेका रहेछन्। प्रेसर कुकरको सन् १६७९ बाट औपचारिक व्यापार सुरु भएको रहेछ। मैले दैनिक प्रयोग गरिरहेको कुकरको सुरुमा नाम कुकर होइन रहेछ।
यसलाई बनाउने वैज्ञानिक पपिनको नामबाट राखिएको रहेछ – पपिन्स डाइजेस्टर। पछि यसैलाई नै प्रेसर कुकर भनेर चिनिन थालिएछ। तर घर्तीको यो अपिल भौतिकशास्त्री पपिनले सुन्न पाउने छैनन किनभने उनको मृत्यु १७१३ मै लन्डनमा भइसकेको छ।
फेरि पोस्टकै कुरा गरौँ, धेरै मानिसले पनि कुकरको बिर्को नै माझ्न सबैभन्दा गाह्रो हुने लेखेका छन्। त्यही पोस्टका धेरै कमेन्ट पढेपछि प्रश्नकर्ता समीले आफ्नै पोस्टमा कमेन्ट गरेकी छिन्, ‘सबैलाई कुकरको बिर्को नै रैछ, गाह्रो लाग्ने।’
यो कमेन्टको साथमा उनले हाँसोको एउटा स्माइली पनि छोडेकी छिन्।
यसबाहेक एक जना फेसबुक प्रयोगकर्ता कुमार घिमिरेले सहित्यिक पारामा कमेन्ट गरेका छन्, ‘सबैभन्दा घाँडो, दुधचिया उमालेको भाँडो।’ साथै अर्को एक जनाले चिया उमाल्ने किट्ली पनि माझ्ना गाह्रो पर्ने बताए। कमेन्टका साथ उनले आँखाबाट आँशु चुहाउँदै हाँसीरहेको चार वटा स्माइली राखेका छन्। जसले उनको कमेन्ट एक ठट्टा हो भन्ने जनाउँछ।
तर अधिकांस मानिसले कुकरको विर्को वा ढक्कन नै गाह्रो हुने बताए। कतिले सिधै कुकर लेखे, कतिले कुकरको बिर्को लेखे भने, कति जनाले तर रोमनमा कुकर लेख्दा त्यसको स्पेलिङ शुद्ध लेखेनन्। विगारे। जे होस् धेरैलाई कुकरको बिर्को माझ्न अप्ठ्यारो लाग्ने रहेछ।

No comments:
Post a Comment