Feature

अनुभुति : इटहरी पारायण र मेरो प्रेम

इलाम बाट विर्तामोढ र त्यहाँ बाट २ घण्टा बसमा दौडेपछि इटहरी पुग्यौं । इटहरी पारायण ०६३ मा। आजपनि  त्यो बेलाको धमिलो याद मानसपटलमा कतै लुकेर...

Friday, November 6, 2020

१५ औं दिन : आइसोलेसनको अन्तिम दिन

२०७७ कार्तिक ५ गते, बिहीबार


आज यहाँ आएको १५ औं दिन। दिउँसो मेरो डिस्चार्ज हुँदै छ। विहान अफिसको काम सकेपछि पनि केहीबेर सुतेँ।

सुत्नु पनि कति हो ! बेडको बीचको भाग नै गहिरो भइसक्यो। अझ सिरानीतर्फ धेरै बसेर होला त्यो भाग अन्य भागभन्दा धेरै गहिरो थियो। राति सुत्दा पनि मुनी कपडा र माथीबाट सिरानी राख्नुपर्ने हुन्थ्यो। खाडल परेर।

दिक्कलाग्दो बेड छोडेर कपाल कोर्न छतमा गएँ।

‘रिपोर्ट आज पनि आएन है ?’ प्रश्न आइरहेकै थियो।

‘अब दशैंको पुण्र्यापछि आउँछ,’ प्रश्न सोध्ने सबैलाई ठट्टाको पारामा जवाफ दिँदै गएँ। छतमा योगा चलिरहेकै थियो।

जाने दिन भएकाले यसैबारे गफहरु भएरहे। आइसोलेसन भवनबाट कोरोना जितेर जानु भनेको दशैं, तिहार, तीज, छठ सबै वर्पको खुसी एकैठाउँमा मिसाउँदा जस्तो हुन्छ नि त्यस्तै हो।

यहाँबाट निश्किनु भनेको जेलबाट कैदी बाहिर निस्कनुजस्तै हो। व्यवहारले त्यस्तो नभए पनि मानसिक रुपमा त्यस्तै भान हुने रहेछ। आइसोलेसनमा रहने मानिसको अन्तिम उद्देश्य भनेकै कोरोनालाई जित्नु र त्यहाँबाट बाहिर निस्कनु हो।

त्यसैले त्यहाँ बसिरहेका मानिसले जाने मानिसलाई गहिरो गरि हेर्छन्। एक खालको हेराई हुन्छ नि – जसमा कसैले राम्रो प्रगति गरेको छ र उसको प्रगति देखेर भित्रैदेखि खुसी भएर कसैले हरिरहेको छ। हो त्यस्तै खालको हेराई।

बाहिर जाने मानिसलाई देखेर लाग्छ, एक दिन म पनि त्यसैगरि बाहिर निस्कने छु।

आज बाहिर जाने दिन भएकाले अरुले मलाई हेर्ने शैली पनि मलाई त्यस्तै लाग्थ्यो। त्यसैले आज विहानको फुटबल खेल मेरो विदाईस्वरुप भयो।

हामीले तीन दिन देखि छतमा गोल खेरिरहेका छौं। गोल बनाउने समान त पाइँदैन तर त्यहाँ नचाइने समान रबरले बेरेर खेल्ने गरेका छौं। खाना–तरकारी ल्याउने गरेको प्लास्टिक, काम नदिने कपडा, मोजा, रबर, फोहोर राख्ने प्लास्टिक आदि बलको कच्चा पदार्थ थिए।

हिजो साँझ गोल बनाएर खेल्दै थियौँ। पहिलो गोल गर्ने जोसम बल अघि लिएर गएँ। र, केही अघिबाट पोस्टतर्फ प्रहार गरेँ। बल त पोस्ट माथीबाट हावामा गयो र तल मैदानमा झर्यो।

अब पर्यो फसाद।

हामीले मैदानमा गएर गोल लिएर आउने उपाय थिएन्। नर्सलाई फोन गरेर रिक्वेस्ट गर्दा छतमा खेल्ने अनुमति नभएको उत्तर पायौँ र चुप लागेर बस्यौँ।

त्यत्रो जोरजाम गरेर बनाएको बल खस्दा निकै नरमाइलो लाग्थ्यो। हिजो हाम्रो बल दोस्रोपटक खसेको थियो। पहिलो पटक हिजो विहान खसेको थियो रे। म चाहिँ हिजो विहान छतमा उक्लेको थिइनँ।

अब अर्को गोलको लागि समान जोरजाम गर्नुपर्ने भयो। त्यसरी गोल बाहिर जाँदा लास्टै नरमाइलो लाग्ने गर्दथ्र्यो।

तर होस् पुर्याउँदा पुर्याउँदै पनि गोल बाहिर गइहाल्ने। आज विहान पनि एउटा गोल बाहिर गर्यो। अर्को बनाउनु पार्यो। तर जे होस् खेलले शरीरलाई थकान धेरै दियो। अभ्यास राम्रो भयो।

आज विहान पनि गलियो। खेलपछि म कोठामा फर्केँ। जाने दिन त थियो तर ब्याग प्याक गरेको थिइनँ। अहिल्यै गर्न मन पनि थिएन्। आज एक दुई जनालाई फेसबुकमा एड गनुपर्ने थियो। ठकुरी भईले मलाई खोजेर एड गरे।

आज थाहा भयो, उनको नाम टंक शाह रहेछ। अनि ३०१ मा बस्ने हुम्लाको साथीको नाम एडी शेर्पा रहेछ। फेसबुकमा साथी बन्यौँ। मेले संगै बसिरहेका बासँग यत्रो दिन सँगै बस्दाको अनुभव साटेँ। उनी हिजो ज्वरो आएर सुतेका थिए।

दशैंमा घर जान नपाएपछि उनलाई धेरै तनाब भएको प्रस्टै देखिन्थ्यो। उनको घरमा अभिभावक विनाको दशैं खराब भएको भान उनले फोनमा कुरा गर्दै थाहा पाएको थिएँ।



मैले पनि सान्त्वना दिएँ – विश्वमै यस्तो महामारी छ....। सहमति जनाए तर मनको पीर त्यसै कहाँ जान्छ र ? उनको आँखामा प्रस्टै देखिन्थ्यो।

त्यो दिन उनीबाहेक धेरै जनासँग कुराकानी भयो। एकजना मानिस कोठाबाहिर झ्यालमा आएर आफू कसरी आइसोलेसनमा आइपुगेँ भनेर सुनाए। मैले उनको नाम त सोधिनँ तर उनी झगडाका क्रममा पक्राउ परेका रहेछन् र १० दिन जति थुनामा परेपछि कोरोना जाँच्दा संक्रमित भएको पाइएछ र यहाँ आएका रहेछन्।

उनीसँगै जुवा खलमा पक्राउ परेको ग्याङ पनि रहेछ। ६÷७ जनाको। सामाजिक सञ्जालमा चर्चित १÷२ जना पनि त्यसमा थिए। उनीहरु डेढ लाख रुपैयाँसँगै जुवाको खलबाट पक्राउ परेका रे। ति व्यक्तिले सुनाए।

म मज्जाले हासेँ। उनले कस्टडीमा बस्दाको अनुभव सुनाए। मैले चाख दिएर सुनेँ। मैले धेरै प्रश्न गरिनँ। म फोन चलाउँदै थिएँ, उनी आए बोलाए र गफ गर्न थाले। उनले कथा सुनाउँदै गए म आश्चर्यमा परेर सुन्दै गएँ।

बोर लाग्न थोलपछि उनीसँग विदा मागेँ, उनी गए। एकछिन फेसबुक चलाएर नुहाउन गएँ। आज त्यहाँ नुहाउने अन्तिम दिन। पानीमा खै के हालेको थियो कुन्नी हत्पत्ति साबन नै नलाग्ने।

नुहाइसकेर त्यहाँ बस्दाको भन्दा अर्को लुगा लगाएँ। म हिँडन लागेको खबर सबैले थाहा पाउनेगरि लुगा लगाएँ र खाना खाएँ।


खानापछि फेरि गफ गर्न थालेँ। आजको महत्पूर्ण काम नै गफ गर्ने थियो। धेरैजनासँग गफका साथै दिउँसो दुई बजेतिर घर जाने नाम लिस्टमा मेरो नाम पनि आयो।

मैले झोला प्याक गरेँ र बेड मिलाएँ। निकाल्नुपर्ने सामान निकालेँ र पट्याएँ। अब निस्किनको लागि तयार भएँ। लगत्तै मोवाइलमा घण्टि बज्यो।

अचम्म कहिल्यै सेभ नभएको डल्फिन भन्ने नामबाट म्यासेज आएको थियो। हेरेँ कोरोना रिपोर्ट रहेछ – फेरि पनि पोजेटिभ।

भाग - १६

१४ औं दिन : सम्भव भए आजको दिन मेटिदिन्थेँ

२०७७ कार्तिक ५ गते, बुधबार


आज मलाई डायरी लेख्नै मन लागेको छैन्। सम्भव हुँथ्यो भने आजको दिन म मेरो जीवनबाटै हटाइदिने थिएँ। के राख्नु यस्तो दिन पनि। विहानै एकैछिन अफिसको काम गरेपछि दिनभरी त्यसै बित्यो।

एनटीसीको डाटा प्याक लिने प्रकृयामा मिस्टेक भएछ। छ सय रुपैयाँ जति थियो मोवाइलमा। स्वाहा भएछ। तर आजको दिन नराम्रो हुनुको कारण यो होइन्।

उसै खोई किन हो विरक्त लागेको छ। दिन त्यस्तो विशेष केही छैन। आलस्य लागेको छ।

उही हिजोकै जस्तो रिपोर्टको पर्खाइ। उही गफ। खाजा, खानाको उही टाइम। सबै उही। बहिर त्यही साथीहरु। गफ त्यही बेड त्यही ओछ्यान त्यही।

विहान एकपटक बाहिर कुनै अस्पतालमा गएर टेस्टका लागि स्वाब दिएर आउन मन थियो। फेरि हिँड्दै जना अल्छि लाग्यो। भोली डिस्चार्ज हुने दिन हो। बरु भोलिनै गरौँला।

अल्छि लाग्दो दिनको कथा पढ्न पनि अल्छि नै लाग्ला त्यसैले आजलाई बाइ बाइ।

भाग - १५

जिन्दगी जानेभो कोरोनाको रिपोर्ट कुर्दैमा..

१३ औं दिन : २०७७ कार्तिक ४ गते, मंगलबार


विहे कहाँ हुन्छ नि लगन जुर्दैमा...
जिन्दगी जानेभो रिपोर्ट कुर्दैमा ।

यो माथीको सायरी मैले आजै रचना गरेको हो। आजको दिन सायरीको दोस्रो सेन्टेन्स जस्तै भयो, ठ्याक्कै। पहिलो वाक्य चाहिँ भाका मिलाउन लाई मात्र राखेको हो।

यो कुरालाई घटना क्रम मिलाएरै बुझौं।

कोरोनाको रिपोर्ट कुर्दाकुर्दै हिजोको दिन वित्यो। आज ९ बजेसम्म आउला भन्ने आशाले निकैबेरसम्म सुतेँ। अझ भनौं रिपोर्ट आउला अनि त्यसै अनुसारको योजना बनाउँला भन्ने मनमा लागेको छ।

त्यसैले विहानको काम त्यतिकै रह्यो। प्रकाश दाई उठेदेखि नै टेन्सनमा देखिनुहुन्थ्योे। उहाँ म भन्दा एक दिन अघि आउनु भएको हो। एक दिन अघि नै जानुहुन्छ।

सुरुमा उहाँको सिटी भ्यालू २३÷२४ भएकाले चाँडै निको हुने आशा थियो। दाईको अस्तिदेखिनै गन्द आउन थालिसकेको थियो।

त्यसैले उहाँले यहाँबाहेक स्टार अस्पतालमा पनि स्वाव दिएर आउनु भएको रहेछ। आज दुवैतिरको रिपोर्ट आउनुपर्ने हो। ९ बजेसम्म त रिपोर्ट कुर्नै पर्यो।

विहानको खाजा खाएपछि म मिश्रको किताब निकालेर पढ्न थालेँ। पढ्न पटक्कै मन लागेन।

यहाँ आएको १२ दिनसम्म कुनै टेन्सन थिएन्। तर जाने बेलामा पनि कोरोना निको नभए के गर्ने भन्ने दोधार र तनाब सुरु भयो।

घरबेटीलाई के भन्ने, छिमेकीलाई के भनेर चित्त बुझाउँने ? सबैलाई केही न केही भनेर चित्त बुझाउन सकिएला तर आफ्नै मनलाई चाहिँ के भनेर फकाउने ?

यस्तै, भावनाले प्रकाश दाईलाई पनि तनाब भएको हुनुपर्छ, उहाँले दोस्रोपटक स्टार अस्पतालमा फोन गर्नुभयो। फोकल पर्सनले १ बजे मात्र रिपार्ट आउने बताए।

तनाबमा देखिनुभएका प्रकाश दाईले आज नै आइसोलेसनबाट डिस्चार्ज माग्नुभएछ। भित्र आएर भन्नुभयो।

‘अहो हामीलाई यहाँ बस्न नमजा हुने भइगो नि,’ उहाँको निर्णय सुनेर मैले भने।

‘अब यस्तै परिगयो, के भन्ने र खै !’ दाईले भन्नुभो।

‘अर्जुन दाई तपाइँ चाहिँ कहिले जाने ?’ मैले अर्को दाईलाई सोधेँ।

‘मेरो त आज १५ दिन पुगिसक्यो त। आज जानेँ,’ उहाँले पनि त्यसो भनेपछि म झसंग भएँ।


१३ दिनसम्म सँगै बसियो, गफ गरियो, वादविवाद गरियो मित्रता किनै गाढा भइसकेछ। तर मैले अर्जुन दाईको नाम भने गलत बुझेको रहेँछु। नर्सले डिस्चार्ज लिस्टबाट नाम पढेपछि पो उहाँको नाम थाहा भयो।

‘तपाईंको नाम अर्जुन होइन ?’ मैले उहाँलाई सोधेँ। उहाँले दाईले ‘होइन ’ भन्नुभयो।

अर्जुन भन्ने नामसँग झन्डै मिल्ने गरि उहाँको नाम त अर्कै पो रहेछ।

मैले सोधेँ उहाँले हास्दै ‘हो त नि’ भन्नुभयो। मैले यत्रो दिनबाट गलत नाम बोलाईरहेको रहेछु।

फेरि नाममा के राखेको छ र ? भन्ने प्रश्नले मनमा समाइहाल्यो। यो विषयलाई त्यत्तिकै छोडिदिएँ।

आज विहान मैले न मैले घाम तापेँ न मिश्रको किताब पढेँ न अफिसको काम नै गरेँ। सबै भुलेर कोरोना रिपोर्टको पछि लागेको थिएँ। चिन्ता लिएर हुने त केही पनि होइन तर त्यसै चिन्ता बढिरहने।

दशैं आइसक्यो। सपिङ केही गरेको छैन। अफिस विदा माग्ने कि नमाग्ने दोधारमा छु।

घर जोन कि नजाने त्यसको पनि टुंगो छैन्। पोहोर पनि दशैंमा घर गएको थिइनँ। यसपालि पनि टुंगो छैन भन्दा ममीले रिसाउँदै गालि गर्नुभएको थियो।

यो वर्ष तिम्बुङ पोखरी घुम्न जाने योजना बन्दैथियो। तर कोरोना लागेर आइसोलेसनमा भर्ना भएपछि भने सबै बिग्रियो।

जाने योजना बनाएका केही साथीले फोन गरेर दुई तीन पटक सम्झाइसके मैले आउँछु आउँछु भनेर टारिरहेको थिएँ।

यस्तै यस्तै कुराहरु दिमागमा खेलिरहेका छन्। यता रिपोर्ट पोजेटिभ वा नेगेटिभ आएको भए पनि त्यसै अनुसार गर्न हुन्थ्यो।

अब बाहिर जँचाउन जाने कि नजाने। नेगेटिभ आयो भने पनि पुरा विश्वस्त हुने अवस्था छैन्।

अर्जुन दाईको सँगै बस्ने भाइले टेकुमा टेस्ट गर्दा नेगेटिभ आएको थियो तर रिपोर्ट आएको भोलिपल्ट सेन्ट्रल डायगोनस्टिक ल्याबमा टेस्ट गर्दा पोजेटिभ आएको हिजो मात्र हो।

अब कुन रिपोर्टलाई सही मान्ने ? ठिक ठिक योजना नभएपछि मनमा के के कुरा आइरहन्छ।

यसैबीच पल्लो कोठाको ठकुरी भाई आए। मैले उनलाई पनि लिएर छतमा गएँ। तर फर्किहालेँ। एकछिनमा नुहाउने विचार आयो र नुहाउन निस्किएँ।

बाहिर जाने वित्तिकै साथीहरुको प्रश्न उही हुन्थ्यो, ‘रिपोर्ट आयो ?’

मेरो उत्तर पनि उही – छैन यार।

‘ढिलो आयो भने त स्योर पोजेटिभ हो,’ त्यसपछि सबैले भन्ने उत्तर यही नै हो।

म नुहाएर फिर्किँदा पनि अवस्था उही थियो। दुवै जना दाई जानलाई तयार रहनु भएको थियो। धेरै नरमाइलो महशुस हुँदै थियो। यहाँबाट कोरोना जितेर फर्कनु त राम्रो कुरा हो र साथ छुट्नुपर्दाको पीडा अर्कै थियो।


त्यहाँ बसिरहन मनै लागेन। म फेरि छतमै गएँ। निकै बेर रुमल्लिएर कोठामा फर्कँएँ, दाइहरुर्ला डिस्चार्ज दिएको थिएन्। धेरै मानिस भएकाले कागज पत्र मिलाउन समय लागेको थियो रे।

केहीबेर गफिएर बस्यौँ। यत्रो दिन सँगै बस्दाको समिक्षा गर्यौँ। आज स्टार अस्पतालबाट डोल्पाली बा र प्रकाश दाईको रिपोर्ट फेरि पोजेटिभ आयो। यसकारण उहाँहरु चिन्तित हुनुहुन्थ्यो।

शब्दले ‘केही चिन्ता छैन’ भनेको भए पनि चिन्ता आँखामा प्रष्टै देखिन्थ्यो।

नर्सले नाम बोलाएपछि हामीले जाने बेलाको सद्भाव साटासाट गयौँ। सेल्फी खिच्यौँ।

सबैले फोन नम्बर लेनदेन गर्यौँ। फेसबुकमा जोडियौँ। अन्तिम पल्ट मैले कोठाबाटै हात हल्लाएँ।

नयाँ साथीहरु बनाएको भए पनि आज मलाई एक्लो फिल भइरहेको छ। केही गर्नै मन लागेको छैन्। अरु साथीहरु त छन्। उनीहरु कोठामा आउँछन्। गफमा भुल्याउँछन्।

उनीहरुको बाल्यकालका कथा सुनाउँछन्। म पनि सुनाउँछु। सँगै हास्छौं तर मनमा डर त्यही रिपोर्ट के आउला भन्ने नै छ। यसैबीच मैले अफिसको केही काम पनि भ्याएँ।

हिजो डायरी लेखेर भ्याएको थिइनँ। बेलुकाको पार्ट लेख्न बाँकी थियो। लेखेर भ्याएँ। कामकाबीच वरपरका साथीहरु आइरहे। गफमा पनि उत्तिकै समय खर्च भयो।

दिउँसो एउटा फिल्म पनि हेर्न थालेको थिएँ। बिचमा पुगेपछि अल्छि लाग्यो। आधा नपुग्दै छोडिदिएँ।

फेरि डायरीमै लागेँ। हिजोको चाहिँ बल्ल बल्ल सकेँ। केही लामो भएजस्तो लगेका थियो होइन रहेछ। र, दि ढल्दै गएपछि ठकुरी भाइसँग छतमा उक्लिएँ।

छतमा आज नयाँ खेल खेलियो। खासमा खेल्नलाई केही पनि थिएन्। तर इच्छा भयो भने कसको के लाग्ने रहेछ र ?

एकजनाले जारको सानो बिर्को छतमा पुर्याएका रहेछन्। अर्कोजनाले गोल खेल्न थालेछन्। त्यसमा तीन जना थपिएर खेल्दै थिए।

फुटबलमा मुसो छक्याइ जसरी खेलिन्छ नि ठ्याक्कै त्यसै गरेर। अनि अनमोल पण्डित र मैले पनि त्यही ग्रुप जोइन गर्यौँ। निकै बेर खेल्यौँ।

अनि छक्याइ छोडेर दुईपछि पोस्ट बनायौं। चप्पल राखेर। तीन तीन जननको टिम बाँडेर निकै बेर खेल्यौं। लास्टै मजा भयो। यसले त फुटसलको भोक नै मेटाइदियो।

एकछिन भए पनि दिमागलाई आराम मिल्यो। पसिना आयो। छिनपछि फम्र्याट चेन्ज गरेर पोस्ट बनाए पछि रौनक बढेको थियो। छ जना, सबैलाई रमाइलो लागेछ।

राति त्यो विर्को नदेखिने भएसम्मै खेल्यौँ। र भोलिका लागि बिर्को सुरक्षित राख्यौँ।

आज नाच्ने बेला भइसहेको थियो। तर कोही नाच्ने वाला कोही थिएन्। अस्ति मैले र्याप हान्ने भइ भनेको थिएँ नि उनी पनि आज डिस्चार्ज भए।

१० दिन मात्र भए पनि उनले घरै गएर आइसोलेसन बस्न चाहे। मैले उनको डिस्चार्जका लागि निवेदन देखिदिएँ। उनी एकजना ड्राइबरलाई कुट्ने ग्यांगका रहेछन्। तर कस्टडीमा कोरोना देखिएपछि आइसोलेसनमा ल्याइएको रहेछ।

उनी सुरुमा थुनुवा कक्षमै थिए। पछि मुद्दा फस्र्यौट भएपछि माथिल्लो फ्लोरमा सिफ्ट भएका थिए। आज गए।

मैले भन्न विसेको कुरा चाहिँ यो भवनको ग्राउन्ड फ्लोरमा कोरोना संक्रमित थुनुवाहरुलाई राखिने रहेछ।

यता, बाँकी साथीहरुले पनि जाँगर चलाएनछन क्यारे। नाच्ने कोही भएन छ। केही साथीहरु मेरो कोठामा आएर गफिन थाले। म आजको डायरी सुरु गर्ने पक्षमा थिएँ तर सकिनँ।

गफले भुल्यायो वा म आफैं भुलिएँ। खै के भायो ! गफ सकिएपछि र खाना खाएपछि भने डायरी लेख्न बसेँ। ११ बज्नै लाग्दा आजको दिन पनि शब्दमा व्यक्त गरिसकियो तर रिपोर्ट अझै आएको छैन्।

फोन गरेर साध्दा पनि पहिलो मोवाइलमै नोटिफिकेसन आउँछ भन्छन। के हो कसो हो बुझ्न साह्रो पर्यो।

मनमा अनेक कुरा खेल्दै थिए। म निदाएँ।

भाग - १४

गीतको लिस्ट र काेराेनाको डर

३ कार्तिक २०७७, सोमबार


हिजो र आज बिहान जित बहादुर बोहरा बाजेले दिक्क लगाए। तिनै स्याउवाल बाजे के त ! विहानै उठेर धान्धान र धुन्धुन गर्छन उनी। हामीलाई डिस्टर्ब भइरहेको थियो।

विहानै उठेर मोवाइलमा गीत पो सुन्न थाले। मलाई निद्रा लागिरहेका थियो, रै पनि उठेँ। साढे पाँच भएको रहेछ।

फेरि सुतौं बत्ती बलेको छ, निद्रा विच्किसक्यो। त्यसैले ल्यापटप निकालेर घोच्न थालेँ। विहानको काम धेरै बेर लागेन, सकिहालेँ।

आजको विहान सदा भन्दा फरक थियो, अर्कै। सबै जना चुपचाप तर जित बहादुर बाजे मात्र गीत सुनिरहेका।

सबै सुतेका बेलामा ठूलो स्वरमा गीत सुन्न त नहुने हो, उनमा कमन सेन्सको अभाव देखियो। हाम्रो स्वतन्त्रताको त मतलबै भएन नि होइन ?

दिक्क लाग्दो पारामा प्रकाश दाई र अर्जुन दाई पनि उठ्नु भयो। एकलट विहानको गफ सुरु भयो। हामीले साधारण विषयमा गफ गर्योँ। म छतमा जाने तरखरमा थिएँ। खाजा आयो। त्यसअघि करिब २० मिनेट मिश्रको किताब पढेँ।

चना खाएर काइँयो कपालामा भिरेँ। अनि छतमा गएँ। त्यहाँ घाम लागिसकेको थियो। योगा गर्ने मानिस भेला भएर बसिरहेका थिए। म कपाल कोर्न थालेँ। आज निकै आकाश खुलेको छ। 



परिपरिका डाँडाहरु प्रष्ट देखिन्छन्। तिनै डाँडाहरु ब्याग्राउन्डमा राखेर सामाजिक दुरी पालना गर्दै योगा गरिरहेको फोटो र भिडियो खिचेँ। केहीबेर छतमा निस्किएका मनिसहरुसँग गफिएँ र साढे ९ बजेतिर ओर्लिएँ।

कोठा सुनसान थियो। जस्तो पहिले घट्टेकुलोमा हुन्थ्यो। आज यहाँ त्यस्तै थियो। आइसोलेसनमा नबसेर आफ्नै कोठामा बसेको फिल भइरहेको थियो। अरुबेला हल्ला हुन्थ्यो मानिसहरु वरिपरि हुन्थे। आज एकान्त, सुनसान।

आज ति डोल्पाली बालाई लिइए प्रकाश दाई स्टार अस्पताल जानुभएको थियो। उनलाई आफ्नो रिपार्ट नेगेटिभ आउँछ भन्ने लागेको थियो। त्यसैले उहाँ आइसोलेसनमा कम बस्नु परोस भनेर चेक गराउन जानु भएको थियो।

प्रकाश दाई चाहिँ उहाँलाई पुराउन जानु भएको रे। म आज मजाले फेसबुकमा रमाउन थालेँ। ग्रुप च्याटमा आएका म्यासेज हेरेको थिइनँ। ३÷४ पटक चलाउन खोज्दा पनि खै के मिलिरहेको थिएन।

२÷३ दिन नै भएको थियो। आज सप्पै हेरेँ।

दशैंका शुभकामना पनि आउन थालेछन अब त। कसैका गीत, कसैका गजल र कसैका भावना तर सबैमा कोरोना मिसिएका थिए।

महान् चार्डको शुभकामना दिँदा पनि महामारीको चेतावनी जस्तो पो लाग्ने। कति सुनेँ कति सुनिनँ।

त्यसबाहेक पनि फेसबुकमा झुमिरहेँ। सबैको डे चेक गरेर भ्याएँ। पोस्टमा रियाक्ट र कमेन्ट गरेँ। शान्त वातावारणको इन्जोय फेसबुक चलाएर गरेँ। पढेर गरेको भए हुनेरहेछ। बुद्धि पछि मात्र आयो जब विहानको खाना खाने बेला हुन लाग्दा दाई र बाजे आउनु भयो।

बेलुका रिपोर्ट आउने आशामा उहाँहरुले चेक गराउनु भएको थियो। खाज खाना खाएपछि पनि म छतमा गइनँ। मिश्रको किताबका पाना सक्न थालेँ। तर साइडमा गफ सुरु भयो।

धेरै पढ्न सकिनँ। ठकुरी भाई सहित पल्लो कोठाका अन्य दुई जना पनि प्रकाश दाईको जोक्स सुन्दै बसिरेका थिए। त्यसैबीच ठकुरी भाइले क्यारेम बोर्ड खेल्न जाउँ भन्न थाले। म पनि गएँ।

आज भने उनको सेखी झरिदिएँ। तीन खेलमा तिनै सेट जितेँ। दुई पल्ट निल खुवाएँ भने एक पटक उनले पनि ६ अंक ल्याए। मनमनै लाग्दै थियो, अहो ! म पनि एक्स्पर्ट भएँ कि क्याहो ?

तर हैन उनी खेल्नै नजान्ने थिए। तुलनात्मक रुपले म जान्ने भएँ। तीन गेम जितेपछि खुसी हुँदै फेरि कोठामा फर्केर फेसबुकमै झुम्मिएँ। फुलमा भवँरा झुम्मिएसरी।

त्यसको केही समयपछि अफिसको काममा खर्चिएँ। साविक समयमै खाजा खायो। लिएर आएँ। रोटी र आलु–केराउको तरकारी आजको खाजा थियो। खायौँ। खाइसकेर सबैजना बाहिर जानुभयो। म आज युट्युब चहार्न थालेँ।

आधा हेरेपछि थाहा भयो। यो फिल्म त अस्ति हेरिसकेको हो। अर्को निकालेर हेर्न थालेँ त्यो पनि हेरिसकेको। फेरि हरेँ। बाँकी समय नयाँ गीतमा रमाउन थाले। बीचमा केही बेर पढ्न पनि बसेँ।

यसैबीच हिजो मात्र भेट भएका एक जना मित्रसँग आज पनि भेट भयो। नाम भने आज मात्र थाहा पाएँको। उनी आफ्नो भाई र भाइको साथीसँग आएका रहेछन्।

फेसबुकमा जोडिन चाहे। अनमोल पण्डित रे, उनको नाम। एड गर्ने अप्सन थिएन। हेल्लो लेखेर म्यासेज पठाएँ।

उनले रिक्वेस्ट पठाए। उनले चाहिँ आफ्नोमा रिक्वेस्ट पठाउन नमिल्ने बनाएका रहेछन्। मैले पनि त्यस्तै बनाएको थिएँ। तर हटाएर सबैले रिक्वेस्ट पठाउन सक्ने बनाएपछि उनको रिक्वेस्ट आएको थियो।

करिब साढे पाँच बजे ठकुरी भाई छतमा जाऔं भन्दै आए। एकै छिन मात्र छतमा गएर फर्कियौँ। मैदानबाट बाँसुरी र मादलको धुन बरिरहेको थियो। थप्पडी मार्दै सुनेँ।

आज एउटा काम गर्ने सोचिरहेको थिएँ। हिजो म्युनिक बजाउन र नाच्नेको तालमेल नमिल्दा नाच्न गाह्रो परिरहेको थियो। त्यसैले त्यो तालमेल मिलाउनका लागि मैले गीतको लिस्ट तयार परेर दिने निधो गरेँ।

त्यो अस्ति भनेको थिएँ नि, र्याप हान्ने भाई। ऊ सँग मिलेर गीतको लिस्ट बनाएँ।

१. यानी माया छुटिन सारो सारो..., २. ललिपप लागे लु.... यस्तै यस्तै १०÷१२ ओटा गीतको लिस्ट तयार भयो। तल्लो फ्लोरमा बस्ने दिदीहरुले राई झुमा र बियर सड्काउने दुई वटा गीत फर्माइस गर्नुभयो। त्यो सहितको लिस्ट रिसेप्सनमा फोन गरेर टिपाएँ।

यता बाँसुरी म्यानले सँयौ थुँगा बजाउँदै आफ्नो काम सके। म चाहिँ सँदाझैँ रनिङ गर्न छतमा निस्किएँ।

तर आज धेरै रनिङ गरिनँ। तल गीत बज्न सुरु भइसकेको थियो। म मिसिन गइहालेँ। कोठाका चारै जना नाच्न थाल्यौँ। अरु धेरै थिएँ।

आज धेरै रमाइलो भयो। नाच्ने ग्रुप ठूलो थियो। मैले हल्ला धेरै नगर्न अनुरोध गरेँ। केटाहरु नाच्न पाएपछि धेरै हल्ला गरिदिन्छ र अरुलाई डिस्टर्ब गर्छन्। केही मानिसलाई चित्त बुझेनछ सायद उनीहरु हिँडे। हामी नाचिरह्यौँ...

पौने एक घण्टा नाचिएछ। खुब मजा आयो। सभा ७ बजेतिर रुम फर्केँ। एकछिनमा प्रकाश दाई र अर्जुन दाई पनि फिर्नुभयो।

‘हिजोको पीसीआर रिपोर्ट आज आउनुपर्ने थियो। अझैसम्म आएन त ?’ मैले सोधेँ।

‘हो हुन त। तर आएन,’ प्रकाश दाईले भन्नुभयो। त्यसको कही छिनपछि मोवाइलको स्क्रन उज्यालो भायो, बल्यो। म्यासेज आएको रहेछ।

‘अहो ! रिपोर्ट आएछ’ भन्दै नोटिफिकेसन बार खोलेर हेरेको एनटीसीको म्यासेज रहेछ।

‘रिपोर्ट आयो दाई÷भाई÷ब्रो’ भन्दै आज दिउँसैदेखि धेरै जनाले सोधिरहेका थिए। म भने निरुत्तरित थिएँ।

गर्न त निकै जनाको सँगै गरेको थियो। तर मलाई मात्र धेरैले सोधेको जस्तो लागि रहेका थियो। आज निकै बेरसम्म मोवाइल चेक गर्दै बसेँ तर रिपोर्ट आएन। यही रिपोर्टबारे कुरा गर्यौ।

आज थप एउटा हल्ला चलेको छ। नेपाल सरकारले हिजो(आइतरबार, २ गते कार्तिक)बाट आइसोलेसनमा बसेका मानिसको पैसा लिने भएको छ रे। अनि आजबाट कोरोना टेस्ट पनि नहुने रे।

मन लाग्नेले आफैं चेक गर्न सरकारले भनेको छ रे। अब हाम्रो के हुन्छ ? कति खर्च गर्नुपर्छ भन्नेबारे केही सूचना थिएन्। दिनको दुई हजार रुपैर्या तिर्नुपर्ने भन्ने आईसोलेसनको नियम छ भन्ने सुनेको हो।

त्यसमाथी अब १० दिनभन्दा धेरै आइसोलेसनमा नराख्ने रे। लौ परेन त फसाद अब के गर्ने होला भनेर म आत्तिएको थिएँ। दोधारमा परेका कुराहरु सुनेर त्यो दिन सुतियो।

११ औं दिन : दोस्रो पीसीआरको दौडमा होमिँदा

आइतरबार, २ कार्तिक २०७७


अहो ! आज त मेरो पीसीआर चेक गर्ने दिन। खुसी बिहानै देखि मनमा थियो। त्यसैले विहानै उठेँ, पाँचै नबजी। हिजो बिक्रम दाईको नेगेटिभ आएकोले खुसी अनुहारमा प्रस्टै छरिएको थियो।

आज आइतबार भएकाले अफिसको काम निकै थियो। ल्याप्टप निकालेर काम गर्न थालेँ। सात बजे काम सकियो।

फेरि सुत्न खोजेँ। तर निद्रा लागेन। बिक्रम दाई कोरोना चेक गर्नुअघि एक दिनभरि घाममा सुत्नुभएको थियो।

घाममा बसे रोगसँग छिटो लड्न सकिन्छ भन्ने प्रभाव मेरो मस्तिष्कलाई पनि परिसकेको थियो।

त्यसैले केही बेर सुतेपछि छतमा जार्ने तर्खर गर्दैथिएँ, खाजा आयो। आज पनि चना र कुकिज। चना भकाभकी खाइहालेँ। कुकिज त्यसै रह्यो। अर्जुन दाईले दिएको फुरन्दाना पनि खाएँ।

केही छिनपछि के विचार आयो खै, आजको कुकिज राखेर हिजोको भने चियामा चोबेर खाएँ। सिध्याएँ।

अनि बल्ल घाम ताप्ने बेला भयो। बिक्रम दाई छतमा मस्त गफ लडाइरहनु भएको परैबाट देखिन्थ्यो। उहाँ गफ गर्ने कलामा निपूर्ण हुनुहुन्छ। ५/६ जना मानिस साथमै थिए।

म पनि छेवैमा बसेर सुनिरहेँ। मलाई घाम ताप्नु मात्र थियो। गफ पनि सुनिरहेँ। लामो कपाल भएर होला, मानिसहरुले मलाई केही ध्यान दिएजस्तो लाग्थ्यो। म सँधै विहान ल्याप्टप चलाएको देखेर एक जना मानिस सोध्नै आइपुगेका थिए।

‘के गर्नुहुन्छ भाई ?’ उनले सोधे मैले अफिसको साधारण काम भनेर जवाफ फर्काएँ। मानिसहरु अझै पनि ल्यापटपमा केही लेखिरहेको छ भने ध्यानमा परिहाल्ने रहेछन्। विर्सिसकेको एउटा यही कुरा केही दिनयता मेरो दिमागमा आइरहेको थियो।

आजको विश्वमा कामको सहजताका लागि ल्याप्टपको प्रयोग सबैको पहुँचमा रहेनछ कि क्याहो ! मलाई शंका लागिरह्यो।

मानिसले ल्याप्टपको प्रयोग अत्याधिक रुपमा भिडियो हेर्नका लागि गर्छन्। यसकारण हाम्रो समाजमा ल्याप्टपको अन्य उपयोगिता छायाँमा परेका हेलान्।

आज विहान छतमा बस्दा दिमागमा यस्तै कुराहरु आइरहे।

म सँधै विहान छतमा गएको थिइनँ आज मात्र हो। त्यहाँ एकजन दिदीले योगा सिकाउनु हुँदो रहेछ। उनीसँगै योगा गर्ने २०/२५ जना थिए।


मैले केहि फोटो र भिडियो लिएँ। हिजो पनि कुरा गरेका ठकुरी भाई सँगै थिए। उनी ठूलो स्वरमा केही भनिरहेका थिए। ध्यान दिएर नसुने पनि मैले उत्तर फर्काइरहेको थिएँ।

मैले उनलाई सानो स्वरमा बोल्नका लागि भनेँ। भर्खर १२ मा पढ्दै गरेका मानिसको जोस उनमा थियो।

हामी ‘पाइहालिन्छ नि’ भन्दै अरुको स्वतन्त्रना भंग गरिदिन्छौं यो एकदमै गलत लाग्छ मलाई। उनलाई यही कुरा सम्झाएँ। सम्जेझैँ गरेर उनले विस्तारै बोल्न थाले।

खासमा यस्तो कुरा सम्झायो भने मानिसहरु रिसाउँछन्। त्यसैले आजाभोलि राम्ररी चिनेकोे र उमेरले सानो मानिसलाई मात्र मैले जानेका कुराहरु सेयर गर्ने गरेको छु।

उस्तै मान्छेहरुले त ‘मन्त्र मनपर्यो, जोगी मनपरेन’ भन्ने तर्क गरिहाल्छन्। तर ति भाईले मैले भनेको माने।

उनलाई लिएर छतको अर्को कुनामा गएँ। विक्रम दाईको गफ अझै सकिएको रहेनछ। दाई त्यहाँ, खाना खाएर घर जाने बताउँदै थिए। आइसोलेसनबाट दिउँसोका खाना वा खाजा दिएर मात्र घर पठाइन्छ। आज पनि त्यही गरियो।

खाना खाने बेलामा म पनि तल झरेँ। खाना लिएर आएँ। विक्रम दाईसँग अन्तिम पल्ट बसेर खाना खाइयो। मजा खायो।

उहाँले विहानै ब्याग ठिक गरिसक्नु भएको थियो। आफू सुतेको विछ्यौना मिलाउनु भयो। तल लाने समान पनि नकाल्नु भयो। नर्सले आज डिस्चार्ज हुने मान्छेको नाम बोलाएपछि दाई पनि निस्किनु भो। गीत बज्यो। उहाँ पनि अरुसँगै नाच्नु भयो।

हामीले माथीबाट हात हल्लायौँ। उहाँ बाई गर्दै जानु भयो।

यहाँबाट बाहिर निस्किनेको पनि छुट्टै स्वाग छ। उनीहरु धेरै खुसी हुँदै बाहिर निस्कन्छन्। कतिपय मानिसको डिस्चार्ज हुने दिनसम्म पनि कोरोना पोजेटिभ नै आउँछ। उनीहरु निराश हुँदै निस्कन्छन्।

पोजेटिभ रिजल्ट आउनेलाई त १५ दिन आइसोलेसनमा बसेर पनि फाइदा भएको जस्तो लाग्दैन मलाई। किनभने उनीहरु खुसी भएर बाहिर जाँन सक्दैनन्। नेगेटिभ रिजल्ट आउनेको भने खुसी धेरै हुन्छ।

मैले त्यही खुसी बिक्रम दाईको आँखामा पनि देखिरहेको थिएँ। आज मेरो पनि पीसीआर गर्ने दिन। बिक्रम दाईजस्तै खुसी भएर जानु छ भने कोरोना नेगेटिभ निकाल्नु पार्यो नि ! फेरि घाम ताप्न गएँ।

निकैबेर तापेर कोठामा फकेँ। प्रकाश दाईको किट्ली मागेर पानी तताएँ। अनि यहाँ आएपछि पहिलोपटक पानीको वाफ लिएँ। झन्डुवाम लगाए। अहो ! नाकको स्मेल त पुरै फर्किसकेछ।

म खुसी थिएँ। नाकको गन्ध फर्किएको थियो। नभन्दै हाम्रो जाने पालो आयो। तलबाट नाम बेलाएछि प्रकाश दाईले हिँडौं भन्नु भयो। हामी निस्कियौँ।


२० जना जतिको नाम आएको थियो। म पनि लाइनमा लागेँ। पीसीआर गर्नका लागि बाटोपारीको भवनमा जानुपर्छ। लाइन लागेर गयौँ। पछि पछि डिसइन्फेक्ट गर्ने कर्मचारी आए।

अघिल्लो पटक पीसीआर गर्दा फोटो लिन पाएको थिइनँ। आज लिएँ। रमाइलो लाग्यो। भिडियो पनि खिचेँ। अब चाहिँ फोटो फेसबुकमा पोस्ट गर्न पाइने भयो।

अरुको भिडियो पनि खिचिदिएँ। जे होस्, समाइलो भयो। हामी पीसीआर गरेर फर्कियौँ।

खाजा आएकै थिएन्। केठा सफा गर्नतर्फ लागेँ यसअघि प्रकास दाईले र विक्रम दाईले सँधै जासो गनुहुन्थ्यो। मैल गरेको थिइनँ आज गरे।

खाजा आएपछि खायौँ। हाम्रो कोठामा फेरि ४ वटा खाजा आयो। विक्रम दाई घर जानुभएपछि नरमाइलो लागिहेको थियो। हाम्रो ग्रुप कोठामा रमाइलो थियो।

तर आज, केही अचम्म अनुभूति भयो। बिक्रम दाई साह्रै रसिलो हुनुन्थ्यो। उहाँ जानुभएपछि कोठा एकान्त जस्तै भयो।

त्यसपछि म आजको डायरी लेख्न बसेँ। एकजना साथी पछिबाट आएर हेर्न थाले। उनलाई नेपाली टाइप गरेको हेर्न मन लागेको छ रे। केहीबेर लेख्दा उनले हेरिरहे।

उनले मैले काम गरेको हेरिरहे। केही बेरपछि काम रोकेर उनीसँग गफिनँ थालेँ। मलाई उनको नाम थाहा छैन। इन्जिनियर हुन् रे। नेपाली टाइप नआए पनि अंग्रेजी फिटीटी आउँछ रे। यस्तै केही गफ भायो।

उनी मैले नेपाली टाइप गरेको हेर्न चहान्थेँ। तर मैले मेरो डायरी उनलाई धेरै देखाउन चाहिनँ।

केही छिन पछि उनी गए मैले डायरी लेख्न निरन्तरता दिएँ। एकछिन पछि ठकुरी भाइ र उनका काका आए। ठकुरी भाइले छतमा जाऔं भने।

उनका काकाको पनि मलाई नाम थाहा छैन, उनी एमएस्सी इन फिजिक्स गर्दाका अनुभव मलाई सुनाउँछन्।

उनले त्रिचन्द्रमा ब्याचलर र सेन्ट जिभियर्समा मास्टर्स पढ्दाका निकै अनुभव सुनाए। हिजो पनि सुनाएका थिए। आज पनि डायरी लेखेर छतमा उनको गफ निकैबेर सुनेँ।

तर मलाई भने फिजिक्समा मास्टर्स गर्न मन नभएको र अरुनै विषयमा गर्ने बताउँदा उनले केही प्रतिकृया दिएनन्। राम्रो नै हुन्छ भने।

केही बेर गफ गरेपछि म सँधैझैँ रनिङ गर्न थालेँ। आज धेरै गरिनँ ६ राउन्ड गरेपछि मैदानमा गीत बज्न थाल्यो। म नाच्नका लागि पहिलो तल्लामा गएँ।

केहीबेर नाचियो। रहर त पुरा भएकै थिएन। गीत मर्यो। एकछिन कुर्दा पनि बजेन हामी फेरि छतमा गयौँ। आफैं गीत गाएर नाच्न थाल्यौँ। हाम्रो ग्रुपमा नयाँ भाइ आएका छन्। अस्ति देउसी गाउने भाई पन यिनै हुन्। उनैले गीत गाएपछि हामीले पछ्याएका थियौँ।

उनी राम्रो गीत गाउँछन्। तर उनको पनि नाम मलाई थाहा छैन।

भोलि थाहा पाएर तपाइँहरुलाई भन्छु है। आज साध्नै भुलेँ अब त रात परिहाल्यो। ७ बज्न लागेपछि आज म छतमा अघि बाँकी रहेको रनिङ पुरा गरेर फर्किएँ।

अनि गोडा धोएर आजको बाँकी डायरी लेख्न बसेँ। आज पीसीआर गर्ने अवसरमा मैले मिश्रजीको किताब पढिनँ।

‘सायद त्यो पुस्कत रिसायो होला। बेलुकाको सभा ७ बजेको छ, अब केही बेर अफिसको काम गरेर पढ्नुपर्यो,’ डायरी लेख्दै गरेको ल्याप्टप थन्क्याउँदै सोचेँ।

००० 

योजना माथि भनेजस्तै थियो। तर योजना अनुरुप कहाँ चल्छ र ? मोवाइल निकालेर आईपीएल पो हेर्न थालेँ। त्यो पनि बराबरीमा रोकियो सुपर ओभरमा गयो। यसबारे अर्जुन दाईसँग गफ गरेँ। त्यतिबेलै प्रकाश दाईले खाना लिएर आउनुभयो। खाने बेला भइहाल्यो।

खाना खाँदै गफ गर्यौँ। कोठा उस्तै शान्त थियो। खानापछि दुध लिन गएँ। ल्याएर मह मिसाएर पिएँ। अनि आजको डायरी सकेँ। अब केहीबेर गफ गरेर सुत्छु।

आज निकै नाचियो। दौडिइयो पनि। गलेको छु। अवस्त गुड नाइट।

भाग - १२

बेचैनी र सबैलाई चकित बनाउने खबर

दशौं दिन : २०७७ कार्तिक १, शनिबार


आज एउटा हाँस्यास्पद खबरका साथ उठेँ। सुरुमा त्यही सुनाउँछु।

म लगायत यहाँ आएका सबै विरामीलाई आएकै दिन दिइने गरेको एउटा अनौठो औषधि हो – कालो औषधि।

यो हेर्दा कालो छ। ठ्याक्कै बाख्राको बड्कौँला करणको। साइज भने पूर्ण  गोलाकार छ। बड्कौँला अण्डाकार हुन्छ। खाँदा ल्वाङ–मरिच खाएजस्तै पिरो छ। चुसेर खानुपर्छ।

आइसोलेसनमा बसेका नर्सका अनुसार यो औषधि अरु ठाउँमा पाइँदैन्। यसले मानिसको इम्युनिटी बढाउन सहयोग गर्छ रे ! आज फेरि बिक्रम दाजुले नर्सलाई फोन गरेर त्यो औषधिको बारेमा सोध्नुभयो।

उताबाट जवाफ आयो, ‘यो त कहिँ पाइँदैन। यहिँ मात्र पाइने हो।’

‘अनि किन बाहिर नबेच्नु भएको त। सबैले खान्थे होलान् नि !’

‘कहाँ बेच्नु यो औषधि त ट्रायलमा छ। यहाँ विरामीहरुलाई दिएको हो।’

‘हैट ! ट्रायल पो ?’ दाईले छक्क पर्दै सोध्नुभयो, ‘अनि यस्तै यस्तै काम गर्ने औषधि बाहिर फर्मेसिमा पाउँदैन्।’

‘यहि चाहिँ होइन, इम्युनिटी केयर भेन्ने पाउँछ। काम यस्तै हो, त्यो चाहिँ डल्ला हुँदैन क्याप्सुल हुन्छ।’

दाईले गफ यस्तै भएको फोनपछि सुनाउनु भयो। त्यसपछि हामी विभिन्न जोक गर्दै हास्यौँ। हामीलाई तर ट्रायल पो गरिँदै रहेछ।

साउथ इन्डियन मुभीमा मुसामाथी औषधि टेस्ट गरेको देखाइन्छ नि त्यस्तै – सबैजाना गलल हासे। मैले पनि हाँसो मिलाएँ। अर्जुन दाईले पनि यस्तै जोक गर्नुभयो।

आज बिहान पनि ब्रेकफास्ट आएपछि मात्र हो म उठेको। ब्रेकफास्टमा चना र कुकिज थियो। जोक सुरु हुँदा मैले खाजा खाइसकेको थिएँ। यो कालो औषधि चाहिँ विहान र बेलुका खानापछि चुसेर खानुपर्ने थियो। तर हत्पत नगल्ने भएकाले लामो समयसम्म जिब्रोमै लुकामारी खेलिरहन्थ्यो।

ट्रायल नै भएपनि औषधिप्रति एक किसिमको भरोषा उत्पन्न भइसक्यो। दुइटा साना साना गेडा छानेर निकालेँ र मुखमा च्यापेँ। एकछिन गफमै भुलिएपछि चैतन्य मिश्र निकालेर घोत्लिन थालेँ। आज विहान अफिसको काम गरिनँ। खासै थिएन पनि।

अहिलेसम्म नेट चलाएको थिइनँ। फेबसुक खोलौँ खोलौँ लागिरहेको थियो। तर किताबमै ध्यान केन्द्रित गरेँ।

फेरि एकैछिनमा ब्रिकम दाईले भनेको कुरा खेलिहाल्नु पर्यो भन्ने लाग्यो। ल्याप्टप नजिकै पुगेँ।

मलाई याद आयो। अहिले मलाई त्यो कथा लेख्न मन लागेको होइन। बरु यो पुस्तक नपढ्न मन लागेको होला।

पढ्न बस्दा मलाई कहिलेकाहिँ यस्तै हुन्छ, के गरौं कसो गरौँ भन्ने लाग्छ। त्यति बुझिसकेपछि चाहिँ पढ्नै बसेँ। केहि छिनपछि मलाई यताउताको साउन्डले डिस्टर्ब गर्यौ।

बाले हेरिरहेको केकी अधिकारीको फिल्म, बिक्रम दाईको लाउड गफ र अर्जुन दाईको युट्युब भिडियोले डिस्टर्ब गरिरहेको थियो। तर यो डिस्टर्ब भन्ने कुरा पनि पुस्तक पढ्दा मात्र हुने।

फेबसुक चलाउँदा, च्याट गर्दा, ट्वीटर, युट्युब र टिकटक चलाउँदा पनि हुनु नि – एसो सोचेँ पढ्दामात्रै किन डिस्टर्ब हुनु होला ?

ल्या ! पढ्दा पढ्दै ध्यान त कतातिर पुगिसकेछ। किन डिस्टर्ब भएँ भनेर सोच्दा सोच्दै मन त्यतै पुगेको पत्तै भएन। त्यतै भुलिएँ।

दुई तीन पन्ना पढेको त दिमागमै बसेन छ। पढेजस्तो लाग्ने ठाउँबाट फेरि दोहोर्याएर पढेँ। यसपटक ध्यान लगाएरै पढे।

केकी समयपछि ३०४ नम्बरको ठकुरी भाई, ‘के छ दाई खबर ?’ भन्दै आइपुगिहाले। उनी आएपछि इग्नोर गरेर पढ्नु पनि भएन। परीक्षा पनि थिएन्। फेरि गफमा भुल्लिएँ।

उनी चाहिँ अल्छि लागेर आएका रे। ‘क्यारेम खेल्नु नि अनि,’ मैले समाधान बताएँ।

‘जाऔं न त !’ ब्रोले त मलाई नै पो सोध्यो। अन्तिममा मै फसेँ।

‘खोज्दै जाँदा २०२ नम्बर कोठामा रहेछ बोर्ड खेल्न थाल्यौँ।’

केही बेर खेलेपछि म जोगी भएँ। त्यसैले कोठामा फर्केँ। मसँग सँगै ठकुरी भई पनि आयो।

‘अर्को दाईको फोन आयो। एक्लै के खेल्नु भनेर हिँडेको,’ उसले सुनायो।

‘कस्तो मुलंखरे मान्छे रैछ ! खाली डिस्टर्ब मात्र गर्छ,’ सोचेँ तर भनिनँ।

फेरि खेल्न गयौँ। यसपटक भने उसलाई मजाले हराएँ।

तीन बोर्डमै गेम खाएँ। अनि उसको पनि चित्त बुझेछ क्यारे बाटा लाग्यो।

खाटमा ढल्किएर पढिरहेको थिएँ। प्रकाश दाईले खाना लिएर आउनु भयो।

अरु सेम, तरकारी चाहिँ च्याउको। मिठो मानेर खाएँ। एसो सुँघेको अलेली गन्ध आउँदै रहेछ। मुखको कालो औषधि सकिएको थिएन। थोरै बाँकी थियो, थुकिदिएँ। र, खाना खान थालेँ।

खानापछि भने विहानको घटनासहित डायरी लेख्नुपर्यो भन्ने सोचेँ। ल्याप्टप निकालेँ। तर लेख्ने जाँगर चलेन। १२ बजेको रहेछ। आज बिहानैदेखि नेट चलाको थिएन्। त्यसमाथि वाइफाई फिट्टो चेलेपो ! त्यसैले डाटा किनेँ। एक जीबी।

फेसबुक खोलेँ। अनि एकछिन ट्वीटर। त्यसपछि एकछिन अफिसको काममा भुलेँ। जुन कामका लागि ल्याप्टप निकालेको थिएँ। त्यो चाहिँ पनि गर्न मन लागेन। थन्क्याएँ। र, मिश्रको किताब पल्टाएँ। यो किताब सुरुमा जाँगाका साथ पढ्न सुरु गरेको थिएँ।

तर एक घण्टा नपढ्दै अल्छि लाग्यो। ३÷४ दिनसम्म अल्छि लाग्यो। कोरोना लागेपछि भने नपढेको अरु किताब बाँकी थिएन्। यहि एउटा मात्र बाँकी थियो त्यसैले त्यही बोकेको थिएँ। तीन दिनयता भने जाँगर चलिरहेको छ। पढ्न बसेँ।

२ बजेसम्म पढेपछि सातु खाएर छतमा उक्लिएँ। पढ्न भन्दा घाममा सुत्न शरीरले चाह्यो। शरीरले भनेकै मानेँ। एकछिन सुतेर केहीबेर पढेँ। यो क्रम ३ पटक जति चल्यो होला। घाम अस्ताउने बेलामामा भने सिरानी र म्याट लिएर कोठामा झरेँ।

अन्ततः आजको डायरी लेख्न थालेँ। यति लेखिसकेपछि ठ्याक करेन्ट आयो। अब सायद गित सुरु हुन्छ होला। म चाहिँ छतमा १० राउन्ड रनिङ गरेर मात्र नाच्न जान्छु। साचेँ।

०००

भने अनुसरै, करिब १० राउन्ड रनिङ सकेर तल ओलिएँ। तर गीत बज्दाबज्दै रोकियो। भेला हुँदै गएका हामी फेरि फर्किएर कोठामै गयौँ। म अफिसको कामतिर लागेँ।

थोरैतिनै काम भ्याएपछि फेरि गीत बज्न थाल्यो। म फेरि गएँ र नाच्न थाले। फर्किएर बाहिर वर्डलिंकले राखेको फ्रि वाइफाई कनेक्ट गर्दै थिएँ।

केही समयसमै चल्न थाल्यो। एक दुईवटा खेलको हाइलाइट सम्म हेर्न भ्याएँ। तर त्यसको रेन्ज म बस्ने कोठासम्म थिएन।

वाईफाइ चलाउन परे त्यहीँ बसेर चलाउनु पर्ने रे ! कस्तो अचम्म ! साध्य हुन्छ त ?

साध्य नहुने देखेर, कोठामा आएर मोलाइल डेटाबाडै केही काम सकेँ। र, खाना खान थालेँ। खानापछि दुध लिएर आएँ। अब एउटा मात्र काम बाँकी थियो त्यो हो ब्रस गर्ने। बाँकी एउटा काम पनि किन ढिलो गर्ने ? फत्ते गरिहालेँ। र, डायरी लेख्न बसेँ।

रनिङ जानुअघिको डायरी लेखिसकेको थिएँ नै। त्यसपछिको पनि झट्पट लेखिहालेँ। सवा ९ बजेको थियो। फेसबुक कमै चलाएको थिएँ आज।

अब एकछिन अनलाईन बस्छु र सुत्छु।

त्यसपछि सुतेँ। साथीहरु पनि सबै जना सुत्नुभयो। विक्रम दाई र अर्जुन दाई मोवाइल चलाउँदै हुनुहुँदो रहेछ। ठूलो स्वरमा ‘ओहो ....!’ भन्दै बिक्रम दाई उठ्नुभयो।

हामीले के भयो भन्यौँ।

‘पीसीआर नेगेटिभ आयो नि !’ दाईले भन्नुभयो। मैले ल बधाई भनेँ। सबैले बदाई दिए।

दाई समाचार सुनाउन दगुर्नु भयो। यसो २÷३ ओटा कोठामा पुगेर आउनुभयो होला। हाम्रो निद्रा पुरै गायब भो।

यता सँगै स्वाब दिएको अर्जुन दाईको भने रिपार्ट आएको थिएन्। अलि पछि मात्र आयो तर उहाँको भने पोजेटिभ। कस्तो विस्वाद !

एकजनाको पोजेटिभ एक जनाको नेगेटिभ !

‘आ.. २ दिन ठिलो त हा। जितिन्छ कोरोनालाई,’ प्रकाश दाईले अर्जुन दाईलाई सान्त्वना दिनुभयो। अर्जुन दाई पनि अशान्त त हुनु भएको थिएन। आशावादी त हुनुहुन्थ्यो नै तर पनि पोजेटिभ नै आयो।

तर अब दुई दिनपछि आइसोलेसन सेन्टरबाट बाहिर हिँड्दा पनि कोरोना नसर्ने चिकित्सकले बताउँदै आएका छन्।

हामी यस्तै कुरा, तर्क गर्दै सुत्यौँ।

भाग - ११

बहुलठ्ठी केटाहरु र झुम्पाङ डान्स

नवौं दिन : २०७७ असोज ३०, शुक्रबार

आजको र हिजोको बिहानमा केही फरक भएन। उस्तै सबै। खाजा उस्तै , ११ बजे आउने खाना उस्तै, तरकारी त्यही – मटर पनिर। अचार सलाद उही। समय विताउने तरिका उस्तै। अरु सबै उही उस्तै।

तर आज खाना खाएर छतमा गइनँ। मिश्र जीको किताब बढेर समय विताएँ। त्यो भन्दा धेरै त सुतेँ।

अनि मोबाइल चलाएर समय विताइदिएँ। केही समय अफिसको कममा पनि दिएँ।

प्रकाश दाईको जोक, अर्जुन दाईको विश्लेषण र विक्रम दाईको आत्म अनुभव सुनेको आज तेस्रो दिन। त्यसैले दिन वित्यो।

हाम्रो कोठामा नयाँ आएका एकजना बाजेले भने पल्लो कोठामा भएका ६२ वर्से अर्को बाजेलाई साथी बनाएछन्। उनीहरु आजकल खुब गफिन्छन्। बाजेलाई आफ्ना कुरा सुनाउन खुब मनपर्छ।

उनी आफ्नो स्याउ खेती, स्याउको सस र गुन्द्रुकबारे धेरै कुरा गर्छन्। स्याउबाहेक उनको घरमै ओखर खेति पनि रहेछ। सुनाउँछन – कसरी टिप्ने कसरी सुकाउने, बेच्ने ठाउँ र बजार कस्तो छ।

सिलाजित कस्तो ठाउँमा पाइन्छ। कसरी निकालिन्छ। कति गाह्रो छ यस्तै अनुभव सुनाउँछन।

तर ति बाजे गफ पनि ए.... वा हे... लगाएर गर्छन्।

‘ए... त्यो त माथीऽऽऽ छ नि ! धेरैऽऽऽ माथी हो नि ! एकदिन लाग्छ एकदिन,’ यार्सागुम्बा पाइने ठाउँबारे सोद्दा उनले यसरी जवाफ दिए।

अरु कुरामा पनि हे वा ए लगाउने बानी उनको जिब्रोमै थियो। 

तर आज तपाइँलाई सुनाउनु पर्ने अर्को कुरा पनि छ – विहान छतमा योगा गर्न जाँदा एकजना प्रहरी दाईको मोवाइल हराएछ।

छतमा सीसी क्यामेरा छैन्। यसकारण चोर पत्ता नै लागेन। अर्कोजना प्रहरी दाईले सोद्दै खोज्दै खाएका त थिए। तर उनले पनि धेरै छानविन गरेनन्।

रातिसम्म पनि चोर पत्ता लागेन्। सायद उनले मोवाइल नै माया मारे होलान्। केही गोप्य चिज हरायो कि ! मैले अनुमान गलाएँ।

यता, मैले आज साँझमा पनि अभ्यास गरेँ। ११ राउन्ड छतमा फान्को मारेँ।

त्यति सकेपछि तल गीत बज्न थाल्यो। ‘को नाचे होलान् र ?’ मनमा प्रश्न जाग्यो। तर आज त अचम्मै भयो। १०/१२ जना नाचिरहेका थिए। हिजो एकजना पनि ननिस्किएको ठाउँमा आज एकाएक यतिधेरै ? आफैंले आफैंलाई प्रश्न गरेँ। किनभने नाच्ने भनेको यहाँको एक प्रकारको सेलिब्रेसन जस्तै हो।

म पनि गएर भ्यागुत्तो उफ्रेझैँ उफ्रन थालिहालेँ। पसिना आएको ज्यान झन् धेरै भिज्यो। बिक्रम दाई त पुरै भिज्नुभयो।

आज धेरै दिनपछि एकदमै मजा खायो। सबैका झुम्पाङ डान्स देख्न पाइयो।

केही छिनमा गीत मर्यो। तल फोन आएछ क्यारे। तातिएको युवा जोस रोकिएको गीतले कहाँ रोक्थ्यो र ?

‘कलिलो तामालाई सोध आमालाई....’ एकजनाको मुखबाट प्याट्ट निस्किहाल्यो। सबैका ओठले त्यही गीत पछ्याइहाले।

‘लेकाली हो हो चोयोको डोको.....’ त्यसपछि अर्को गीत सबैको मुखबाट बज्न सुरु भयो। सायद एक्कासी बज्न छोडेको स्पिकर पनि छक्क पर्यो होला। ठूलो जमातको ठूलो स्वर सुनेर।

यसरी नै चार गीतमा नाचिसकेपछि भने गला सुकेछ क्यारे। शान्त भए सबै। तर कसैलाई चाहिँ शान्त हुनु थिएन्।

एकजनाले भट्उन पो थाले – अरुले देउसिरे भन्न थाले। पाँच मिनेट जति त तिहार आएकै आभाष भयो।

कही मिनेटपछि गित बज्यो। तर नाच्ने खालको बजेन। अब सबै मान्छे गलेजस्तो लाग्यो। लाखापाखा लाग्न थाले। म पनि कोठामा फर्र्किएँ।

आजको थप कुरा चाहीँ बाहिर वाइफाई इन्स्टल गरिएको रहेछ। देखेको थिएँ दिउँसो। साँझमा कनेक्ट गर्न प्रयास पनि गरेँ तर मेरोमा कसैगरे चलेन।

नचलाईकन चित्त बुझाएँ। फेरि अहिले पनि ट्राई गरेँ तर चलेन। एकछिन गफ गरेर कोठामा फर्केँ।

नाचेर र दौडेर आज निकै खुट्टा दुखिरहेको छ। साँझ खाना खाएपछि सुतिहाल्ने विचार थियो। तर हिजोको र आज दुई दिनको डायरी लखेकै थिएन्।

लेख्छु भनेर ल्याप्टप निकालेँ। १० बजेर दस मिनेट जाँदा लखेर भ्याएँ। हिजोको अल्छे केटा आज एकाएक जाँगरिलोमा बदलिएको भान भइरहेको छ। तर निद्रा पनि लागिरहेको छ।

अनि आजको नयाँ खबर भनेको थोरै मात्रामा भए पनि साबुनको बासना आएको छ। मलाई अत्यन्तै खुसी लागिरहेको छ। अब कोरोना रिकभर हुने लयमा लागेको भान भइरहेको छ।

म दिनकै एकपटक वा दुई पटक साबुन सुँघ्ने गर्छु सँधै बासना आउँदैन थियो। आज अलेली आयो पहिलोपटक। धेरै खुसी लाग्यो। आज त १०÷१५ पटक जति सुँघे हुँला।

तर बासना धेरै कमजोर थियो। हो की हो कि भन्न खालको मात्र।

यो शुभ खबर सहित आजलाई शुभरात्री।

भाग - १०

Thursday, November 5, 2020

आठौं दिन : एउटा अल्छे केटोको दैनिकी

२०७७ असोज २९ गते, बिहीबार


आज डायरी लेख्न भ्याइनँ। एउटा अल्छे मानिसका हिबासले सोच्ने हो भने आजको दिन असाध्यै व्यस्त रह्यो। विहान साढे ४ मा उठेर अफिसको सामान्य काम भ्याएँ। तर साढे ६ बजे काम सकिहालेँ।

त्यसपछि फेरि सुतेँ। हिजोआज धेरै सुत्न मन लाग्न थालेको छ। छतमा गएर रनिङ गर्न थालेको दुईतीन दिन भइसेको छ।

शरीर फेरि गल्न थालेको छ। त्यसैले बिहानभरी सुतेँ। दाईले ब्रेकफास्ट र चिया बेडमै ल्याइदिनु भयो। चना र कुकिज थियो। चना खाएँ।

मलाई बिहानै कुकिज खान मन पर्दैन्। चियासँग चना निलेँ र फेरि सुतेँ। आज विहान छतमा गइनँ। विक्रम दाई अर्जुन दाईसँग गफ गर्दै हुनुहुन्थ्यो।

अर्जुन दाईले ध्यानको अभ्यास गर्नुहुन्छ। उहाँलाई बौद्ध, जैन, हिन्दु धर्मसहित आर्य संस्कृतिको विकाससम्मको ज्ञान रहेछ। सुन्न खुब मजा आउँछ। उहाँले धेरै कुराको संयोजन गरेर भन्न सक्नुहुन्छ।

म सुतेर सुनिरहेँ। प्रकास दाईको ननभेज जोक्स आज पनि थपियो। कोहीबेला सुतेर जोसिएको बेला उठेर – म सहमति र विमती जनाउथेँ। अनि फेरि सुत्थेँ।

यसो गर्दागर्दै पौने ११ बजेछ। आज विहान सुत्दा सुत्दै केही गर्न भ्याइनँ। उठेर वाथरुम छिरेँ। फर्किएर छतमा गए नुहाउनका लागि लोमो लाइन लाग्नुपर्ने थियो। अल्छी लाग्यो फर्किएँ, खाना लिएर आएँ।

च्याउको तरकारी, मुसुरी दाल, टमाटरको अचार मुलाका चाना र भात। न्नभेजलाई चिकेन थियो। सबैले खायौँ। कोठामा दुई मात्र भेज थियौँ। अर्जुन दाई र म।

खाएर म नुहाउन लागेँ, तर भिड उस्तै। लुगा साइडमा राखेर रमिता हेर्न थालेँ। उही चन्दागिरी, शिवपुरी, चोभा र पर देखिने फुलचोकीको डाँडा।

त्यसबाहेक चर्का घाममा चलिरहेको वासना नआउने बतास र अस्पतालअघि नयाँ बजार र विभुवन विश्वविद्यालयको जमिन। आँखा र दिमाग भुल्याउने कारण थिए।

नयाँबजारबाट यात्रु लिएर हिँडेको विजोर नम्बरप्लेटको गाडी रत्नपार्क पुगेर फर्किएर खाईपुग्यो होला नुहाउने पालो खाएन। त्यसैले अर्को तर्फ गएँ।

बिक्रम दाई सुतिरहनु भएको थियो। साइडमा अर्को ओछ्यान पनि थियो। म त्यही अर्को ओछ्यानमा पल्टिएँ। केही बेर सुतेपछि पसिना आउन सुरु भइहाल्यो। त्यतिकै निदाएँछु।

निकै बेरपछि ब्युझिँएर फेरि बाथरुम चिहाउन गएँ। खालि भएछ। बल्ल छिर्न पाइयो।

थाहा पाउनु भयो हाला नि म आज कति विजी थिएँ। नुहाउनका लागि समयसँग तीन घण्टा जुद्न पर्यो। त्यसपछि नुहाउन र कपडा धुन एक घण्टा।

कपाल लामो छ सुकाउनु परिहाल्यो। चिसो कपाल कोर्यो भने हाँगा फट्छ त्यसैले नसुकी कोर्न पनि त भएन्। सुकाउन थालेँ।

त्यसैक्रममा, कैलालीका कीर्तिपुर बस्ने एकजना साथी भेट भयो। उनलाई कोरोना सार्दिने ‘भिलेन’ चाहिँ एकजना सरकारी जागिरे हुन् रे। भलाई उनको भिलेन भन्न शब्द सुनेर निकै हाँस उठ्यो। मैले पनि मेरो भिलेन सम्झिएँ। उनी चाहिँ अंकलसँग यहाँ आएका रहेछन्। कपाल सुकुन्जेल गफ लगाएँ, सुनेँ।

फर्किएर कोठामा आएँ र मिश्रको किताब पल्टाएँ। आज खाजा रोटी र केराउको तरकारी थियो। हात चिल्लो बनाउँदै खाएँ। खाएर पढ्न थालेँ।

पाँच बजेर नाघेपछि छतमै उक्लिएँ। यसबीच केही समय सामाजिक सञ्जालमा पनि बिताएँ।

छतमा गएपछि फेरि सुरु भयो नोस्टाल्जिक गफ – महेन्द्र राजमार्ग, रेलवेमार्गदेखि कोरोनाको एन्टीबढी र भ्याक्सिनसम्म। सबैले आआफ्ना तर्क राखे।

साँझमा रनिङ गर्न थालेको आज चौथो दिन हो। आज पनि कन्टिनिउ गरेँ। १० फन्का।

आजको दिन झ्याउ भयो। पटक्कै गीत बजेन।

हिजो त एक्लै भएपनि एकछिन नाच्न ट्राई मारेको हो, आज त त्यो पनि जाँगर चलेन।

अभ्यास सकेर हातगोडा धोएँ। एकछिन बसेर खाना खाएँ अनि आईपीएल हेर्न थालेँ।

पहिलो इनिङ सकिएपछि सुतेँ। हवस्त आजलाई बाइबाई मेरो प्यारो डायरी।

भाग - ९

Wednesday, November 4, 2020

सातौं दिन : दैनिकीको बयान

२०७७ असोज २८ गते, बुधबार


विहान चाँडै उठ्न जाँगर चलेन। आज पनि चाहिँ साढे ७ सम्म सुतेँ। प्रकाश दाईले खाजा ल्याएपछि भने उठ्न कर लाग्यो।

आज खाजा खासै राम्रो थिएन्। कुकिज थियो। मैले खाइनँ। बरु घरबाटै ल्याएको सातु पानीमा घोलेर खाएँ।

अर्जुन दाईसँग फुरन्दाना रहेछ दिनुभयो। मैले खाएँ। ९ बजेसम्म कोठामै गफ गरेर बस्यौँ। मैले विहानको नित्यकर्म गरेँ।

आज छतमा जान जाँगर चलेकोे थिएन। कोठामै किताब पल्टाएर पढ्न थालेँ। समाजशास्त्री चैतन्य मिश्रको किताबमा पनि खासै जाँगर चलेका थिएन। तर आज राम्रैसँग पढ्न मन लाग्यो।

११ बजेपछि खाना खाँदै थियौँ। पल्लो ३०१ कोठाका साथीहरु ठूलो स्वरमा चिच्याए। हामीले अनुमानल गायौँ, विकासको कोरोना नेगेटिभ आएछ क्यारे नभए आज यति ठूलो स्वर आउनुपर्ने अन्य कारण त थिएन्।

उनी हिजोबाटै टेन्सनमा थिए। प्रेमिकाको रिपोर्ट आयो नेगटिभ, उनको आएकै थिएन। नभन्दै हो रहेछ। उनी बाहिर जान ताम्सिएका थिए। अब सफल भए। आजको खुसीको कुरा त्यही भयो।

उनी खाना खाएर बाहिर जान तयार भए। बाहिर जाँदाको आनन्दा माथी पनि भनिसकिएको छ। त्यसैले आज डिस्चार्ज हुने सबैजना खाना खाएरर तयार भइसकेका थिए।

यता नर्सहरुले खाजा खाएर मात्र डिस्चार्ज दिने बताएपछि उनीहरुसँग लामो गफ भयो।

लामो समयपछि बाहिर जाने अवसर आउन लागेकोमा सबैजना खुसी थिए। १४ दिन पुगेपछि मानिसहरु टेस्ट नै नगरि बाहिर पठाइन्छ। तर त्यसअघि नै नेगेटिभ आए आइसोलेसनबाट डिस्चार्ज भइन्छ।

त्यसै जनु भन्दा नेगेटिभ आएर जानुमा धेरै खुसी हुन्छ। आज बाहिर जाने मानिसमा यो खुसी देख्न सकिन्थ्यो। उनीहरुको स्मेल फर्किसकेको पनि थियो। तर मेरो नाकले अझै केही थाहा पाउने अवस्था भएको थिएन।

आजको दिउँसो विदाई टोलीसँग गफ गर्दै वित्यो। त्यसका अलावा बीचमा समय निकालेर केही समय अफिसको काम भ्याए।

दुखलाग्दो कुरा चाहिँ मलाई मनपर्ने खेलाडी रोनाल्डोलाई हिजो कोरोना लागेको थियो। उनी पोर्चुगलका कप्तान हुन।

र, आज रातिको खेल कस्तो होला भन्ने मलाई व्यापक चासो छ। पोर्चुगलले आज राति स्विडेन सँग खेल्दैछ।

यो चिन्ताका बाबजुद मैले मिश्रको किताब ६० पानाजति पढेँ। अझै आधाभन्दा धेरै बाँकी छ। यो किताब सकेर अर्को पनि पढ्न बाँकी नै छ।

मैले कति कथाहरु सुरु गरेको छु तर लेख्न भ्याएको छैन्। त्यसलाई पनि आइसोलेसनमा बस्दा पुरा गर्नुछ।

तपाइँहरुलाई लाग्दो हो म यहाँ आनन्दसँग बसिरहेको छु। तर मलाई विहानैदेखि बेलुकासम्म भ्याइनभ्याई हुन्छ।

कोरोना जित्ने भनेर केही धेरै समय सुत्न भने थालेको छु। निद्रा मजाले पुरा गर्छु। साथै हिजोबाट शारीरिक अभ्यासमा फर्किएको छु। त्यसपहिले शरीर विक भएकाले अभ्यास गर्न सकेको थिनँ।

आज पनि दिउँसो फ्राइ राइस खाएर केही बेर किताब हेरिसकेपछि म अभ्यासको लागि बाहिर निश्किएँ। १० मिनेट जति नाच्न गएँ। नयाँ साथीसँग कुरा गरेँ र कोठामा फर्किएँ। मोबाइलमा फेसबुक खोल्दै थाहा पाएँ। सरकारमा केही पक्कै भएको छ।

समाचार खोलेर हेरिहालेँ – मन्त्रीहरु परिवर्तन भएछन्। यस्तै कुरागर्दै खाना खाने बेला भयो। खानापछि म फेरि फेसबुकमै घोत्लिन थालेँ।

एकछिन ट्वीटरतिर पनि झुल्किएर दैनिकी लेख्न बसेँ। साढे ९ मा आजको कथा सकियो। अब सुत्नु पर्ला।

केहिछिन आईपीएल हेरेर अब सुत्छु। मैले लेख्दै गरेको डायरी बन्द गरेँ र आईपीएल हेर्न थालेँ।

हेर्दाहेर्दै निदाएको पत्तै भएन्।

भाग - ८

चटपटे गफ : अध्यात्म, ध्यान, ननभेज जोक्स र नामको कथा

छैटौं दिन : २०७७ असोज २७ गते, मंगलबार


विहान साढे पाँचमा उठे। एकैछिन ल्याप्टपमा खेलेरे सुतिहालेँ, अफिसको काम भने भ्याएँ। ८ बजे ब्रेकफास्ट आएपछि मात्र विक्रम दाईले बोलाउनु भयो। र, उठेँ।

विहानको खाजा खाएर हामी कोठामैं गफिन पुगयौँ।

यता दाइने साइडमा बेड बसाल्नु भएका प्रकाश दाईका ननभेज जोक्स हिजोबाट कोठामा खुब रुचाइन थालेको थियो। जबर्जस्ती हाँसो लाग्ने जोक्सले पुगेपछि मात्र म छतमा निस्किएँ।

छतमा पछाडीबाट एकजानाले बोलाए, ‘ओ शिशन बानियाँ दाई। यता आउनुनस् न।’

विकास रावल ब्रदर रहेछन्। उनले यही आएर ग्रलफ्रेन्ड बनाएका अरे। उनी पनि छेउमै थिइन्।

मेलै सुनाउनै पर्ने कुरा चाहिँ, रुम नम्बर ३०१ का केटाहरुले मेरो नाम नै शिशन बानियाँ राखिदिएका थिए। शृंखला जस्तै ग्रलफ्रेन्ड नहुने हो भने मैले यो नाम अस्विकृत गर्ने बताएँ। शिशन बानियाँ भ्लगर हुन् म होइन कसरी मिल्छ ? ऊ धनी म मध्यमबर्गी कसरी मिलो खै ?

मैले यस्ता तर्क गरे पनि उनीहरुले त्यही नामले बोलाईरहे ‘ओ शिशन दाई, ओ शिशन ब्रो !’

त्यसकै नजिता हो – माथीको बोलावट।

विकासँग अरु थुप्रै मानिस थिए। एक जना एयर ट्राफिक रहिछन्। उनी आकासमा उडिरहेका विमानको नाम भन्थिन्। विमानिस्थलमा त्यससँग जोडिएका कथा पनि सुनाउँथिन्।

प्लेनमा उनको खुबै चासो रहेछ। अर्को जना प्रहरी पनि संक्रमित भएर आएका थिए। उनी चाहिँ घाममा सुतिरहे। आईसोलेसन जोडीबाहेक त्यहाँ अन्य पाँच जना थिए। त्यसमध्येकी एक जना प्रहरी थिइन् भने अरु दुई जना ठिटा वर्डलिंकमा काम गर्ने बताउँथे।

वर्डलिंकमा काम गर्ने एक जनाले प्रहरी सहायक निरिक्षकको तयारी गर्दै रहेछन्। किताब हातमै थियो।

त्यहाँ, एक घण्टा भन्दा धेरै गफगाफ चलेपछि हामी निस्कियौँ। खाना खाने बेला भएको थियो। मैले खाना लिएर कोठामा गएँ।

खानपिनपछि आज काममा बसेँ। केही काम भ्याएँ। धेरै दिनदेखि दिउँसो काम गरेको थिइनँ। आज गर्न सकेँ, मजा आयो।

दिनभरि जसो कोठाकै दाइको कुरा सुन्दै बसेँ। विक्रम दाई बोल्न र काम गर्न चलाख हुनुुन्छ। दाई इन्जिनियर हो – मेकानिकल। इन्जिनियरको दिमाग छिटै चल्छ भन्छन्, दाईको पनि चल्दो हो।

उहाँले कुरा सुरु गर्नुभयो, ‘मलाई पनि मेडिटेसन र ध्यान चाहिँ मनपर्छ। तर ध्यान गरेपछि मानिसको दिमागै अर्को हुुुुँदो रहेछ। अब मलाई मासु नखाई हुँदैन। ध्यान गरेपछि मान्छेले खानै छोड्दो रहेछ। अब त्यसरी त कहाँ हुन्छ ! अबुई मलाई मासु खानै मन लाग्न छोडेयो भने ?’

उनको सवालमा धेरै तर्कहरु सिर्जना भए। अर्जुन दाईले ध्यनको अनुभव र कुराहरु सुनाउनु भयो। अर्जुन दाई पछिल्लो दुई वर्षयता ध्यान गर्दै आउनु भएको रहेछ।

कुरा गर्दै गर्दा हिन्दु, बौद्ध, जैन सम्म पुग्यो। कसरी बैद्ध धर्म विश्वमा फैलियो। कसरी हिन्दु धर्म मासिँदै गयोँ। भारतमा कसरी मुस्लिम समुदाय फैलियो।

पहिले समृद्ध विहार कसरी अहिलेको अवस्थासम्म पुग्यो ? मलाई यसबारे केही ज्ञान थिएन्। उहाँले यस्ता कुराहरु सुनाउनु भयो। अनि दाईले पाप र पुन्यको लिमिटेसन पनि बताउनु भयो।

पाप र पुन्यबारे मलाई उहाँको तर्क मन पारेको थियो। तर धर्ममा त्यसको व्यवहारिक प्रयोग हुन्छ भन्ने चाहिँ विश्वास थिएन्। धर्म र अध्यात्म धेरै गहिरा चिज हुन्।

यसबाट निष्कर्ष निकाल्न उत्तिकै गाह्रो हुन्छ। तुलनात्मक रुपमा हाम्रो भन्दा अर्जुन दाईको ज्ञान धेरै भएझैँ लागेपछि हामी उहाँको कुरा सन्थ्यौँ। र मनन गर्ने कोसिस गथ्र्यौँ। यस्तै कुराहरु भयो।

सानोसानो तर्क राखे पनि मैले धेरै सुन्नमै बल गरेँ। विक्रम दाईले आफ्नो अडान कायमै राख्नुभयो। अध्यात्म उहाँलाई मन पर्यो तर साधु बन्न मनपरेन।

गफमा मजा आइरहेको थियो। म यता काम पनि गर्दै थिएँ। २ बजेपछि खाजा खायौँ। आईसोलेसनबाट दिने खाजा अझै आएको थिएन्। गफगाफ चल्दै गर्दा, सभा तीनमा खाजा तयार भएको सूचना आयो।

बिक्रम दाईले लिएर आउनु भयो। ननभेजलाई मासु चिउरा। भेजलाई स्यान्डविस र मेवा। खायौँ। हाम्रो आज दिनभरिको गफगाफको जड पनि त्यही खोकुरा थियो।

कोठामा दुई भेज र तीन ननभेज थियौँ।

खाजापछि म छत तर्फ लागेँ। केहीबेर घोत्लिएर फर्किएँ। अफिसको काम सकेको थिइनँ। फाइनल गरेर पठाएपछि फेरि फ्रि भएर छतमा गए।

आज खै किन हो रनिङ गर्न मन लाग्यो। सँधै कमजोर फिल गरेर पनि होला शारीरिक अभ्यासमा रुची जागेको थिएन्। आज छतमा करिब १०/१२ फन्का लगाएँ।

छत निकै ठूलो छ। त्यसैले निकै गलेँ।

‘एकै दिन धेरै गर्नु हुँदैन,’ बिक्रम दाईले छेवैबाट भन्नुभयो, ‘अब भोलि पनि गर्नुहास्।’

म पनि रोकिएँ। सोनो ग्रुपमा कुराकानीका लागि मिसिएँ। यहाँ थाहा भयो, विकास भाइको ग्रलफ्रेन्डको कोरोना नेगेटिभ आएछ। उनी भोलि फर्कने भइन्।

तर विकासको रिपोर्ट आएको रहेनछ। उनी चिन्तामा थिए। र, पनि उनले साँझमा रमाइलोसँग गफगाफ गरे।

केही समयको अभ्यास र गफगाफपछि ७ बजे म कोठामा झरेँ र डायरी लेख्न थालेँ।

०००

आज विहान भजन बज्यो तर दिउँसो गीत बजेन। सायद नर्सहरु व्यस्त थिए होलान्। साँझमा पनि गीत बजेन। वातावरण सुनसानप्राय नै रह्यो। त्यसैले बाहिर जमघट भएन्।

सुन्नमा आयो गीतले नयाँ आउने मानिसलाई डिस्टभ भएछ त्यसैले बजेन !

म चाहिँ राति खाना आएर आईपीएल हेर्दै सुतेँ।

हवस्त आजलाई गुडनाइट !

भाग - ७

Tuesday, November 3, 2020

पाँचौ दिन : डायरीको कहानी र घामको रोश्नी

सोमबार असोज २६ गते २०७७


पाँच बज्नुअघि नै उठेँ। हिजोआज विहान चाँडै उठ्ने बानी लागेको छ। फाट्टफुट अफिसको काम भ्याएँ। र, विहानको ब्रेकफास्टमा चना–केरा खाएपछि किताब बोकेर छतमा गएँ।

झ्उलाग्दो पाठ थियो, अल्छी–अल्छी गर्दै पढेँ। पाना फटाफट अघि बढिरहेको थिएन्। आज गफ गर्ने पनि खास कोही थिएन्।

ए साँची भन्नै विर्सिएँछु – मसँग हिजो अस्ति गफ गर्ने साथीको नाम विक्रम रहेछ। उनी र उनको आमाको रिपोर्ट नेगेटिभ आएपछि उनीहरु हिजै घर गए। त्यसैले आज पढेर बसेँ। त्यसैकारण होला आज गफ गर्ने मान्छे नभएजस्तो लागेको।

अर्का शुसिल भन्ने यतै थिए, उनी गफ गर्दैन थिए। सुन्थे मात्र। त्यसैले उनीसँग फेरि गफ भएको छैन्। सायद अब पनि हुँदैन होला। पढिरहेको दिमागमा यस्तै कुरा खेलिरहँदा यसो तललिर हेरेको खाना आउने बेला भएछ।

ओर्लिएँ र खाना लिएर कोठामा गएँ। अनि सबैले खायौँ।

साढे ११ जति बजेको थियो होला। रातिको कुनै खेल हेरेको थिइनँ। पोर्चुगल, नर्वे, इंग्ल्यान्डको खेलको हाइलाइट हेरेँ। विकइन्ड भएकाले राति धेरै खेल भएका थिए।

एकछिन भिडियो हेरेर फेरि सुतेँ। उठ्दा २ बज्न लागेको रहेछ। ल्याप्टप निकालेर फेरि घोच्न थालिहालेँ। तीन बज्दा पनि खाजा नआएपछि झोलाबाट केही फलफुल र खाजा निकालेर खान थालेँ।

पौने चार बजे खाजा आयो, परौठा र मसरुम सुप। खायौँ।

मैले लेखिरहेको डायरीमा आइसोलेसन आउनुअघिको कथा पनि लेख्न मन लागिरहेका थियो।

भाइरस पोजेटिभ आउने दिनसम्मको कथा त्यसमा समेटिनेछ। नभएत ज्यानमा औषधि नै नभएको भाइरस छिर्दाको अनुभवन विना यो डायरी खेल्ले हुनेछ। लेख्ने सोच बनाइरहेको थिएँ त भ्याएको थिइनँ।

आज लेखेर भ्याएँ।

हुनतः अस्तिको दिन सुरु गरेर मात्र छोडेको थिएँ। त्यतिबेलाको संवाद भुलिसकेकाले कतिपय कुराहरु छुटे। तर जे होस्, सम्झेजति लेखेँ। लाग्छ धेरै कुराहरु समेटिएका छन्। पाँच दिन कोठामा बस्दाको अनुभव त लामो नै हुन्छ। तर सबैकुरा लेख्दा पढ्ने मान्छेलाई ल्याङ लाग्नसक्छ।

यसकारण सम्पादनका क्रममा निकै कुरा हटाएको छ। तपाइँले त्यो कुरा यो डायरीको भाग १ मा नै पढिसक्नु भएको छ। मैले अहिलेसम्म त्यहि भागको कुरा गरेको हुँ।


पाँच बजेपछि डायरी लेखिसकेँछु। अनि हावा खान बाहिर गएँ। साविककका दिनझैँ चंगा उडिरहेका थिए। वादल लागेकै थियो। उज्याला रोश्नीहरु बादलमाथीबाट उडेर कहाँ कहाँ आकाशमा विलाइरहेका थिए। वादल वरिपरि उज्यालो घेरिएको थियो। वरपर सानासाना २/४ ओटा हल्ला सुनिन्थ्यो।

मैले त्यो साँझ ठाउँ हेरेरै विताइदिएँ। पौने एक घण्टा दिमागमा के चल्यो पत्तै भएन। त्यसपछि मैदानमा गीत घन्कियो, सदाझैँ डान्स सुरु भयो।

खाना नआउँजेल डान्समै समय वित्यो। खाना खाएर भने सुतिहालेँ।

आजको दिन यसरी नै विताइदिएँ। नमस्ते, गुडनाइट।

भाग - ५

Sunday, November 1, 2020

गन्धको अन्त : खुसीको र दुःखको संगम

चौथो दिन : आइतबार २०७७ असोज २५ गते


विहान साढे पाँचमा उठेर अफिसको काम गर्न बसेँ। सात बजेसम्म काम जारी रह्यो। 

विहानको खाजा आएपछि चिया पनि लिएँ। आज उसिनेको चना र स्याउ थियो, विहानको डाइटको लागि। खाएर केहीबेर काम गरेँ।

कोठामा बस्न अल्छि लागेपछि, साढे आठमा छतमा चढेँ। छतमा भेट्ने गरेका दुईभाई पर्खिइरहेका थिए। पुग्नेबित्तिकै छेउमै आइहाले।

मैले उनीहरुलाई शनिबार रातिका दुवै खेलको हाइलाइट देखाएँ। मोवाइलमा। एकजानालाई क्रिकेटबारे कही थाहै रहेनछ। उनी आधा हेरेर उठे। सायद दिक्क लागेछ। हेरिसकेर अर्को भाइसँग केही गफ भयो।

उनी पनि केहीबेरमा गए। साढे ९ बजेबाट करिब डेढ घण्टा पढेर कोठामै फर्केँ।

आज तपाइँलाई म एउटा अनुभव सुनाउँछु – कोरोना लागेपछि खाना खाने बेलामा अचम्मै हुन्छ।


तरकारी, अचार र दालसमेत मिठो छ जस्तो देखिन्छ तर खायो स्वादै आउन्न। मेरो जिब्रोले गुलियो र पिरोबाहेक अरु थाहै पाउन्न जस्तै गर्छ।

हिजो राति खानामा सिंगै कागती निचोरेर खाँदा पनि खासै अमिलो लागेन। तर अचार भने खुङ्खारै पिरो भयो।

यता गन्ध त अझ जिरो। पटक्कै नआउने। खानाको बासनै नआउने। नाक भएको र नभएको खै अनुभव नै नहुने। दुई चार पटक छामे, नाक ठाउँमै थियो तर बास्ना आएको थिएन्। खाना, तरकारी सुँघ्दा पनि पानी सुघेँजस्तो।

तर यसले एउटा फाइदा हुनेरहेछ। चर्पी केही पोहोर थियो तर कोरोनाले गन्ध नै बन्द गरेपछि राम्रै लाग्ने। खाना खाँदा र बाथरुमा जाँदा यो कुरा सम्झिरहेको थिएँ।

खाजा खाएपछि छतमा गइनँ। कोठामै बसेँ। काम थियो। काम सकेर करिब एक बजे डायरी लेख्न बसेँ। हिजो डायरी लेख्न त्यत्तिकै भयो। राति अल्छी लाग्यो। त्यसैले आज दिउँसो हिजोको र आज दिउँसो सम्मको कथा लेखिभ्याएँ।

चार बज्नै लाग्दा छतमा गए। यसपटक किताब नबोकी। साविकको भन्दा जाडो थियो।

आज सूर्यअस्त हेर्न पाइएन। तर चंगाचेट भने मजाले हेर्न पाइयो। आयुर्वेदको अनुसान्धन केन्द्र मास्तिरबाट केही मानिस चंगा खेलिरहेका थिए।

उनीहरुको चंगा लामो पुच्छर नभएको फुर्तिलो थियो। एउटा चंगाले अर्कोलाई ठूंगेर झारेपछि उनीहरुको खेल सकियो। झर्ने चंगावालाले फेरि उठाएनन्। सायद खेल त्यतिकैमा सकियो।

काठमाडौंमा वर्खा सकिएपछि चंगा उडाउने परम्परा छ, यसले दशैं आएको पनि सूचना दिन्छ। पर्वले मान्छेको मनमा खुसी ल्याउँछ नै चंगाले मानिसको मानिसको मनलाई पनि चंगाल बनाउने मैले आजै देखेर सिकेँ।

बादल लागेर ढाकिएको चन्दागिरीको डाँडालाई त्यतिकै छोडेर कोठामा फर्किएँ र सुतेँ।

निद्रा निकैलागेको रहेछ सुत्ने वित्तिकै निदाइहालेँ। बीचमा एकपटक खाना खाएर फेरि सुतेँ।

आजको दिन पनि सकियो। सबैलाई गुडनाइट।

भाग - ४