Feature

अनुभुति : इटहरी पारायण र मेरो प्रेम

इलाम बाट विर्तामोढ र त्यहाँ बाट २ घण्टा बसमा दौडेपछि इटहरी पुग्यौं । इटहरी पारायण ०६३ मा। आजपनि  त्यो बेलाको धमिलो याद मानसपटलमा कतै लुकेर...

Tuesday, May 26, 2020

पराई

सयौं आफन्त भएर पनि
कहिलेकाहीँ
एक्लो ! भइँदो रहेछ,
Image may contain: 4 people, including Binaya Jyoti, people sitting, food and indoor
केही वर्ष अघि हामी, परिवार।
बायाँबाट क्रमशः हजुर आमा, विबेक , ममी, बुवा र म
साथ दिने साथीसँगै
डर लाग्दो रहेछ,
भीडहरुको बीचमा पनि
एकलाश सुनसानमा बसेजस्तै लाग्दो रहेछ
कहिलेकाहीँ
अनायसै एक्लो भइँदो रहेछ


सरहरु हो, मिसहरु हो
ओ सरहरु हो यता हेर्नुस त !
'म' तपाइँहरुले नदेखेको, नसुनेको मान्छे
तपाईंले बाटैमा छोडेको मान्छे
मलाई पनि हेर्नुहोस, सुन्नुहोस
मलाई पनि संगै लैजानु होस्
मेरो मनले भन्छ तर म भन्दिन
अहँ भन्दिन
किनभने मैले तपाईहरु सँग हिँड्नु
दुर्भाग्य हुनेछ

मलाई घृणा गर्ने तपाईंको कसम
मलाई हेला गर्ने तपाईंको आत्माको कसम
तपाईको धार कति बलियो छ
म कसैलाई भन्दिन
किनभने
त्यहाँ पनि खुकुरीहरु नै छन
अचानाहरु छैनन्
खुकुरीलाई अचानोको पीडा थाहा हुँदैन
त्यसैले
म तपाईंको सिकायत कसैसँग गर्दिनँ
बरु आफैंसँग गर्छु

त्यसैले मेरो संसार तेश्रो बनेको छ
जहाँ
म मात्र छु
तपाइँको संसार छुट्टै छ
राम्रो छ, समृद्ध छ
विशाल छ
तपाईं मेरो विश्वलाई पनि नियन्त्रण गर्न सक्नुहुन्छ
ध्वास्त पार्न सक्नु हुन्छ
म निम्छरो ट्वाल्ल परेर हेरिरहन्छु
सहिरहन्छु

Tuesday, May 5, 2020

चकचक

कक्षा ५ को ठूलो परीक्षा फाल्गुनको अन्तिम हप्तामा सकियो । सदाझैं खोलामा पैडीने, फिरफिरे – चङ्गा उडाउने, चिप्लेटी खेल्ने दिन सुरु भए । साथिभाईसँग जमुना र अम्बाका बोक्रा खाने समय सुरु भयो ।

इन्दिरा, लिला, सन्तोष र म । यो चार जनाको छोटे गस्ती गाउँभरी डुल्न थाल्यो । त्यसपछि कसैका फलफुल हराए, कतिका भान्सामा राखेको खाना । पाकेको केराका कोसा दोस्रो पटक देखिन छोडे ।

उसो त चैत छेउछाउमा फलफुल पाइन मुस्किल थियो । त्यसैले हामीले भेटेका धेरैथोक सामानका मालिकले भेट्न छोडे । हामीले अभियान जारी राख्यौँ ।

कतिको घरमा उजुरी पर्‍यो कतिको चोर नै पत्ता लागेन ।

यद्यपी गाउँमा हाम्रो टोली सज्जन केटाकेटीको ग्रुप थियो । त्यसमाथि भजन किर्तन गर्ने, मन्दिर जाने र धार्मिक कुरा गर्ने चन्दनेका छोराछोरी ।

चोरेको शंका गर्ने ठाँउ नै भएन । यसकारण हामिले चोर्न सक्दैनौं भन्ने झुट सबैले पत्याए ।

बिहान बेलुका खानाको चक्करले घरमै बस्नुपर्ने मौन बाध्यता आइपर्यो । दिउँसो खाजाको जोहो टोलीले गथ्र्यो ।

आज लाप्चे खोलाको छेउमा दह बनाएर माछा पाल्ने प्लान थियो ।

तर घरमा अदुवा रोप्ने दिन ।

‘बाहिर खेल्न नजानु’भन्ने बुवाको आदेश ममिले जस्ताको त्यस्तै सुनाउनु भयो । म खुर्र्र गएर ट्वाईलेटमा छिरें र भित्तामा एक मुक्का बजारें ।

रीस अझै मरेको थिएन । तर दोश्रो पटक मुक्का हान्ने हिम्मत पनि भएन ।
त्यतिकै निस्किएँ ।

बाङ्गे बटुकामा राखिदिएको चिया खाएँ । खल्लो लाग्यो । हजुरआमाको मिश्रीप्रसादमा पनि स्वाद थिएन ।

रातभर बिहेमा नाचेको भोलिपल्ट सरले होमवर्क चेक गरेझैं भइरह्यो ।

‘सिट ! मेरो लाईफ,’ आफैंले आफैंलाई धिक्कारेँ ।

खाना खाइसकेर ममीले आधा डोको अंदुवाका भारी हाल्नुभयो । डोकोमा उसिनेको आलुको डेक्ची माथीबाट चढाउनुभयो । युरीया र डीएपी मलको झोला त्यहीँ आलुको साइडमा राखिसकेपछि ममीको भारी तयार भयो ।

वरको पातमा पोको पारेको खुर्सानी र नुनको अचार बुवाको गोजीमा पुग्यो । बुवाले ममीलाई डोको बोक्न सहयोग गरेपछि आफूले डोकोभरी अंदुवा बोक्नुभयो । मैले कोदालो बोकें । यसरी हामी बारीतिर लायौं । साढे १० ।

घर मुन्तिर पीपलको वोट थियो । पीपलको वोटमा पुग्न नपाउँदै मेरो इंजार छिनि हाल्यो । र, सुरुवाल तल झर्यो । म लाजले भुतुक्कै भएँ ।

बुबा–ममी एक अर्कालाई हेर्दै मुसुक्क हाँस्नुभयो । म कोदालो छोड्नु कि पक्रनुको अवस्थामा उहाँहरुलाई हेरिरहेँ । ममीले कुरा बुझेझैं गरेर, ‘एउटा हातले कोेदालो र एउटा हातले कट्टु समा,’ भन्नुभयो । मैले त्यसै गरें ।

एकापट्टी कट्टु खुस्केला भन्ने पिर अर्कोतिर कोदालो चिप्ल्येला भन्ने डर । त्यो मेरो जिवनकै आश्चर्यजनक हिँडाई थियो ।

बारीमा नपुगेसम्म बाटोमा कोही मान्छे नआइदिउन भनेर भगवानको नाम जप्न थालें । भगवानले पनि साथ दिँदै गए । तर भक्ते फुपा भिलेनले झैं इन्ट्री मारे । बरको वोट छेउमा ।

भक्ते फुपाले भने, ‘काँ राप्ने हो ? दाई’

त्यतिकैमा बुबाले जवाफ फकाईहाल्नु भयो, ‘त्यै दुइचार फोक्टा बारी त छ । अरु कहाँ रोप्नु?’

‘मलाई नी अलेली बीउ चाहिएको थियो । छैन ?’

‘बेच्नेगरी त छैन हौ ।’

‘होर ! कसैले बेच्ने भयो भने मलाई खवर दिनु है ?’

‘हुन्छ । अनि यस्तो टन्टलापुर घाममा काँ हिन्या ?’

‘वजारतिर हौ । मल बीउ किनौँ कि भनेर ।’

ममीको पछाडी लुकिरहेको मलाई इसारा गर्दै भनिहाले, ‘हैन यसलाई पेट दुख्याछ क्याहो ? अगिदेखि पानीपेटमा हात लगा’र उभी’रा छ त ?’

लाजले रातोपिरो मेरो अनुहार यो सुनेपछि गोलभेडा झौं भयो । कट्टु छोडेर ममीका डोकोको पिँधौरी समाउँ कि भन्ने सोचें ।

ममीको लुगा समाउँदा अलिक साहस आउँछ भन्ने थाहा थियो तर कट्टु झर्ने डरले त्यसै उभिरहें ।

‘यसले इंजार चुडाए छ हौ कान्छा,’ यत्रो भइसकेर पनि हिँड्नै जान्दैन भन्ने बुवाले भन्नुभयो ।

‘हेहेहेहे !’ हाप्तादिन नमाझेका दाँत ङिच्च देखाएर फुपा उकालो लागे ।

‘तिमी यहीँ बिसाउ म पर कुनामा राख्छु, ’ बुबाले भन्नुभयो ।

ममीले भित्ताको ढुङ्गामा अढेस लगाएर डोको बिसाउनुभयो । मैले कोदालो यताउता हल्लाउन थालें । डल्ला फुटाउन त ढंग थिएन । रै पनि बारीमा पुग्नेबित्तिकै केही न केही एक्सन त गर्नै पर्यो । यो त्यही थियो ।

बुबाले कोदालो लिएर पल्लापट्टी आइज भनेपछि हामिले बारीको एकछेउबाट रोप्न सुरु गर्‍यौं ।

विवाह एक अनिश्चितताः

विवाह एक अमुर्त तत्व हो । यसलाई समग्रताको हिसाबले परिभाषित गरिनु हुँदैन ।

विवाहलाई बुझ्ने मानिसका आआफ्नै चिन्तन र आधारहरु हुन्छन् । जसले वैवाहिक जीवनलाई  समेत प्रभावित पार्दछ ।


The 5 Types of Men in a Relationship - David Jurasek - Mediumसबैको बैवाहिक जीवन सफल हुन्छ भन्ने पनि छैन । कसैले समाज र सन्ताका लागि मात्र बैवाहिक सम्बन्ध टिकाएका हुन्छ त कसैले बाँकी जीवन र बुढेसकालका डरले ।

यस्तो गर्ने मानिसहरु समाजमै, हाम्रो वरिपरी नै हुन्छन् । उनीहरु परिवारको विच्छेदन हुने डरले आफूभित्र गुज्रिएका कुराहरु बाहिर ल्याउँदैनन् । र, त्यको मारमा परिरहन्छन् । यसले परिवारको प्रतिष्ठा बाँचेको हुन्छ तर मनको आघात शान्त हुन सक्दैन् ।

यसो भन्दैमा सबै विवाह असफल हुन्छन् भन्ने छैन । जसले समाज अपूर्ण, अमूर्त छ भन्ने बुझेका छन् उनीहरुले पार्टनरको अक्षमतालाई सहजै स्विकार गरेका हुन्छन् । त्यसैले यो कुरा दुवैले स्विकार गरेमा उनीहरुको जीवन सफल भएको मानिन्छ ।

एक अर्काको कमिलाई त्यसको अक्षमता नमानिकन प्रकृतिको समान्य नियम हो भन्ने ठानेर जाने हो भने दाम्पन्त्य जीवन सुखमय बन्दछ ।

हामीले उदाहरण हेर्न सक्छौं ः
एउटा मनिस उसले अफिसको काम पनि गर्छ । र, घरमा पनि काम सघाउँछ । तर उसको श्रीमतीले उसको वानीलाई लिएर दैनिक उत्पात मच्चाउँछे भने त्यो मानिस प्रस्टेसनमा जान सक्छ । यदी त्यही श्रीमतीले उसलाई माया देखाउन थाली भने उसमो जीवन समान्य बन्दै जान्छ ।

त्यस्तै एक पूरुष जो आफ्नी श्रीमतीलाई नोकरजस्तो ठान्छ र दैनिक कामको बोझ दिन्छ । त्यस्तै उसको आकांक्षा उच्च भएकाले श्रीमतीले पूर्ती गर्न नसक्दा कुटपिटसम्म पनि उत्रन्छ । त्यसले समाजमा परिवारप्रति नकरात्मक भावना सिर्जना गर्दछ । पारिवारिक वातावरण पनि असन्तुलित बन्दछ ।

कतिपय अवस्थामा आफूभित्र भएको कुण्ठालाई लुकाएर पार्टनरका अघि मुस्कुराउने अवस्था पनि आउन सक्छ । यो कस्तो बेलामा हुन्छ भने जब पार्टनरप्रति शंका उब्जन्छ तर भन्न सक्ने अवस्था हुँदैन ।

अथवा भन्नलाई प्रमाणको अभाव हुन्छ । शंका सही भएको खण्डमा केस अदालतसम्म पनि पुग्न सक्छ ।
झन् अहिलेको पोस्ट मोर्डन समाजमा मानिस एकै वातावारणमा रमाउनै सक्दैन । उसलाई परिवर्तन जरुरी पर्दछ र मानिस रिलेसनसिपमा मात्र बस्ने र विवाह नगर्ने अवस्थामा पनि पुग्छ । यसो गर्दा, कुनै दिन दुवै छुट्टीन उचित लागेको खण्डमा कानुनी व्यवधान आइपर्दैन ।

आजकल मानिस जतिसक्दो फुर्तिलो जीवन चाहान्छ। आफू जति अल्छे भए पनि त्यसको वास्ता गदैन । तर अरुले समयमा काम गरिदिएनन भने रीसको सगरमाथा चढ्न पुग्छ । जसले वैवाहिक जीवनले मानिसलाई फुर्तिलो बनाउनबाट रोकिरको हुन्छ भन्ने ठान्दछ ।

विवाह भयो भने पारिवारिक दायित्व पुरा गर्नुपर्ने हुन्छ । समाजमा पनि थप दायित्वहरु आइरहेका हुन्छन् । त्यसाई पनि फेस गर्नुपर्ने हुन्छ । विवाह भएपछि उसैसँग जीवन विताउनुपर्छ भन्ने सामान्य सोचाई जागृत हुन्छ । त्यसैले मान्छेले विवाह भन्दा अन्य तरिकाबाटै वैवाहिक जीवनको सुख भोग गर्न चाहान्छ ।

वैवाहिक जीवनमा तगारा धेरै छन् । त्यसको बदलामा प्राप्त हुने एक अर्का साथका लागि मानिसहरु तगारालाई झेलिरहेका हुन्छन् ।

यदी पार्टनरबाट त्यही साथ मिलेन भने अथवा यसमा त्यसले आफूलाई खुसी प्रदान गर्न सकेन भने सम्बन्ध गाँठो पर्दै जान्छ र एक दिन अनन्तको भुमरीमा जाकिन पुग्छ ।

जाकिनबाट बचाँउनका लागि हामीले निरन्तर प्रयास गरिरहेका हुन्छौं कतिपय अवस्थामा सफल बन्छौं कतिपय अवस्थामा असफल ।

सफल बन्यों भने परिवार राम्रोसँग चल्छ नभएर त्यसको दुर्घटना हुन्छ ।

परिवारको दम्पित्ति बाहेक दाजुभाइ, साथी, छरछिमेकी, छोराछोरी र आफन्त–ससुरालीले यो दुर्घटनालाई टार्न सक्दैनन । कसैगरे पनि । तर दम्पत्ती आफैं मिले विपत्ति रोक्न गाह्रो पर्दैन् ।

Friday, May 1, 2020

हाम्रो लव नपर्नुको कारण – पितृश्राप !

म २३ वर्षको भएँ । अहँ अझै लव परेको छैन् ।

यसबारेमा दाजुभाइ र साथीसँग धेरै कुराहरु हुने गरेका छन् । कहिलेकाहीँ लाग्छ – आखिर लव नपर्नुकोे कारण के हुन सक्ला ?
हामी सापकोटा दाजुबहिनी। छुटेकालाई सरी भन्न चाहान्छु।

लामो समयसम्म पनि यसबारे कुनै तथ्य फेला परेन ।

एकदिन कृष्णमणिसँग यसैबारे कुरा हुँदै थियो ।

उसले भन्यो, ‘लव गर्नलाई आजकल केटीले जे भन्यो त्यही मानिदिनु पर्ने । उम्मा, बेबी, लब्यू, किस्यू भनिरहनु पर्ने । ढाँटेको र’छ भने पनि थाहा नपाएजस्तो गरिदिनु पर्ने । यो त गाह्रो छ हौ ।’

मैले भने, ‘हाम्रो भक्ते फुपाले कहाँ म्यासेज र च्याट गरेर पट्याका हुन र फुफूई ? त्यस्तो लोलोपोटो खोज्ने खासै खासै गतिला हुँदैनन हव । त्यसरी त राम्रा केटी पटिन्नन् ।’

उसले जवाफ फर्काहाल्यो, ‘तँ जे भन भाइ। म तेरो दाजु हुँ, सत्ते कुरा गरेर केटी पटिन्न ।’

साथसाथै उसले ढाँट्न मन नलाग्ने कुरा पनि बताइहाल्यो। एकदिन फाे गरेर गुनासो गर्दै थियो, कटीहरुले त पुलिस मन पर्दैन भन्छन त यार ।

मैले केही पनि बाेलिँन ।

धेरैजसो यस्ता विषयमा कुराहरु चलिरहन्थे । बीचबिचमा राजनीतिका कुरा घुसे पनि अन्तिममा लवमै गएर टुंगिन्थे । लव नपर्नुका अनेक कारणहरु हामीले खोतल्यौं तर निष्कर्षमा कहिल्यै पुग्न सकेनौं ।

अनुहार नराम्रो भयो । खान्दानले साथ दिएन । गरिबी। गाउँमा घर हुनुलगायतका अनेकौं तर्क तर्कनाहरु बाँधियो तर उचित निष्कर्ष ठम्याउनै सकिएन ।

यस्तै लवेरियो अर्को सिकार हो – सन्तोष सापकोटा । जो अहिले मलेसियामा छ । उसँग बेला मौकामा भिडियो च्याट भइरन्छ । उसको पनि अहिलेसम लव परेको छैन् ।

हामी स्कुलमा एकै ब्याचका साथी हौं । मेरो विचारमा उसले कक्षाकै एउटीलाई मनपराउँथ्यो । बिडम्बना भन्न सकेन ।

उसको प्रेम पनि कोपिलामै झर्यो ।

त्यसबेला यो कुरा मलाई दिनेशले सुनाएको थियो । सँगै बस्ने सन्तोषको कुरा मैले बुझेकै थिइँनछु ।

तर त्यो एकोहोरो लव सफल नभए पछि प्रेमको फुल खेल्नै पाएन । त्यतिकै मर्यो ।

उसको बाहेक अरुको प्रेम कहानी मलाई त्यती याद छैन् । अलि अलि थाहा भएको मिलनको हो । उसले प्रपोज गर्न नसकेर दामोदरको सहारा लिनु पुरको थियो रे ।

त्यसबाहेक आजभोली घरतिर कसको कस्तो अवस्था छ त्यति थाहा छैन् । ठूलोबुबाको छोरा दामोदरको भनाई पत्याउने हो भने इन्दिरा र मिलन बाहेक हाम्रो पुस्तामा बिहे नगरेका कसैको लव परेको छैन ।

वंशमै धेरैको लव नपर्ने अवस्था कसरी सिर्जना भयो होला ? दाई पशुपति भट्टराईको शब्द सापटी लिएर भन्नुपर्दा यो ‘कुलकै बेइज्जत भएको अवस्था’ हो ।

होइन त ?

मैले संस्कृतमा शास्त्री गर्दै गरेको दामोदरलाई सोधें – ‘के यसमा वंशको केही असर हुने र लव नपर्ने हुन्छ ?’

उसले यसबारे थाहा नभएको बतायो। तर पनि मेरो मनमा बेचैनी कम भएको थिएन् । बेला मैकामा उसँग मेरो च्याट चलिरहन्थ्यो । यसैबारे ।

समयले गएको कातिकमा एक संयोग जुराइदियो । दामोदर र म धरान वरिपरिका धेरै ठाउँ घुम्यौं । चतारा, पिण्डेश्वर–बुढासुब्बा–दन्तकाली, भेडेटार लगायतका ठाउँहरु डुल्यौं ।

यतिका धेरै ठाउँमा डुल्दा कहिले हिन्दै, कहिले कोशीको बोटमा चडेर र कहिले भेडेटारको हावा खाँदै हामीले । धेरै विचार विमर्श गर्यौँ ।

हामीले क्लासका, कोठा बस्दा छिमेकीमा रहेका, पाहुना आफन्तकामा जाँदा भेटेका, फेसबुकमा बोलेका, फोनमा कुराकानी गरेका र बाटामा जिस्क्याएका सबै केटीसँगको आआफ्नो आनुभव साटासाट गर्यौँ ।

बुढासुब्बामा नभएको ग्रलफ्रेन्डको लागि धागो पनि बाँध्यौं । दन्तकालीमा गएर प्रार्थना गयौँ । वियजपुरको डाँडोको वर पीपलमा भगवान भाक्यौंँ । पन्चकन्याका पाँचै देवीहरुलाई आफ्नो वेदना सुनाइयो । तर अहँ, केही सीप चलेन ।

हाम्रो लव पर्ने छाँटकाँटै देखिएन ।

अन्त्यमा हार आँदै भेडेटारको डाँडाको टुप्पामा बसेर दामोदरले भन्यो – ‘हामीलाई त पितृश्राप परेको छ कि क्याहो यार !’

मैले पनि गम्भीर मुद्रामा उसको कुरा स्वीकार गर्दै भने, ‘खै के भन्ने ! जेठा हजुरबा पनि लव नपरिकनै मरे । बिहेसमेत हुन पाएन उनको । सबैले भन्थे आशु चुहाउँदै खोलातिर लागेका थिए रे । यता तिलक बडा र बासु बडा पनि त्यतिकै रहे । हाम्रो पुस्ताको हालत यि यस्तो छ ।’

‘त्यही त ! मलाई लाग्छ पक्कै पितृश्राप कै लक्षण हो ।’

‘अब त म पनि स्योर भएँ । अझ हाम्रो गोत्रमा पनि समस्या छ भन्छन् ।’

‘यसको त प्रायश्चित गर्नुपर्छ ।’

‘तर कसरी । के गरेर प्रायश्चित गर्ने ?’

‘मनले सोचेर ।’

‘लु त्यसै गरौँ ।’

त्यो दिन पाथिभरा मन्दिरको परिक्रमा सकेर हामी छिटै धरान फकिर्यौँ । र, पिण्डेश्वर मन्दिर गयौँ – श्रापमुक्त हुन ।

मैले सबै घण्टी बजाएँ । उसले पनि बजायो । दुवै मिलेर शिवजीको तीन फन्का लगाइयो । र फुल चढाएर श्रापमुक्त हुने वरदान मागियो ।

वरदान पाइयो अथवा पइएन्। पाइयो भने पनि थाहा भएन । पाइएन भने पनि थाहा भएन । तर श्रापमुक्त भएको फिल गर्दै बाहिर भने आइयो ।

त्यस रात मैले डाटा लिएर फेसबुक खोलेँ । २–४ जना केटीलाई बोलाएँ । तर रिप्लाई आएन । राति ११ बजेसम्म पर्खेँ । वालमा आएका पोस्टहरु हेरेँ, चार पाँचपटक ट्वाइलेट गएर आएँ । फेरि एकपटक ब्रस गरेँ । तर रिप्लाई आएन । त्यसदिन त्यत्तिकै सुतेँ । भोलि रिप्लाई आउने आशले ।

भोली त के पर्सी पनि आएन।

उता दामोदरको पनि त्यही हाल रहेछ । एक दुई वटा रिप्लाई आएछ । त्यसपछि बन्द ।

‘खै श्रापमुक्त भइएनछ यार,’ उसले गुनासो गर्दै सुनायो ।

मैले खोकेँ, ‘तैलेइ भन्या हाइन यसो गर्दा श्राप सकिन्छ भनेर ? अझ...’

ऊ केही बालेलेन ।

बोलोस पनि के ?

त्यसको भनेको केही समयपछि त ऊ कोरिया गइहाल्यो । भेटघाट बन्द भयो । भिडियो कल भने हुन्छ ।

‘कोरिया ग’का केटाहरुलाई त केटीहरुले खेदो गर्छन रे त,’ मैले एकदिन भिडियोकलमा साधेँ ।

‘कहाँ गर्नु ?’ उसले प्रतिकात्मक प्रश्नसँगै उत्तर फर्कायो, ‘गर्दैनन् नि ।’

‘थोप्डा पनि चाहिने रहेछ यार !’

‘ह्या.. तेस्तो कुरा नगर । भक्तेफुपा कुनचैँ हेन्सम हुन र ?’

‘हेहेहेऽऽऽ’

मैले भक्तेफुपाको उदाहरण धेरै दिइ सकेँ। उनी मेरै मितफुपा हुन्। मितफुपू भगाएर लगेपछि प्रम विहे गर्नेमा उनको नाम हाम्रो गाउँमा सबैले लिने गरेका छन्।

प्रेमको अनुपम उदाहरण हुन भक्ते फुपा ।

अब आफ्नै कुलको कुरा गरौँ...

मेरै उमेरका धेरै सापकोटा युवा जवान छौं । चक्रपाणीलाई गन्ती नगर्ने हो भने हामी सबै एकै ड्याङ्का छौं ।

चक्रपाणीको चरित्र भने जटिल नै छ । त्यसलाई बयान गर्न अर्कै लेख लेख्नुपर्ने हुन्छ । त्यसैले उसलाई छोडेर अरुको मात्र कुरा गरौँ ।

कृष्णमणीको एकपटक लव वरेको थियो । छुट्यो । धेरै समय टिकेन। उसकै भनाइलाई उदृत गर्दा ‘आफूले माया गरेर पनि नहुँदो रहेछ । दुवैले उत्तिकै महत्व दिनु पर्दो रहेछ ।’ भन्ने थियो ।

यस्तै भनाई पाइन्छ अरु दाजुभाइको पनि ।

कमला, विवेक, दामोदर, मनिषा सन्तोष यस्तै पीडामा रहेको महशुस गर्छन् । यसबाहेक मनिका, सन्देश भने सानै छन् । उनीहरुको लव अहिले नपरेकै राम्रो । परे पनि मलाई थाहा नभएकै राम्रो ।

त्यसैले केही विकसित हाँगाबिँगाको मात्र कुरा गरौं ।

मैले कसैसँग कुरा गर्दा ‘प्रेममा त्यति लगाव छैन’ भन्ने गर्या छु । लगाव भए पनि सुनाउन–देखाउन त त्यसो भन्नै पर्यो । नभए अरुले हेप्ने डर हुन्छ ।

पीडा नभएको कहाँ हो र ! तै पनि लुकाएर बस्ने गर्या छु । मेरो प्रेमिका छैनन् भनेर धेरैले विश्वासै गर्दैनन् । कत्ति सम्झाउँदा पनि मान्दैनन् । कहिलेकाहीँ त झर्को लागेर आउँछ ।

अरे भगवान् म तिमीहरुलाई कसरी सम्झाउँ ? कि मलाई कसैले मन पराउँदैनन !

उफ.....! एकछिन सास फेर्न दिनुहोस् ।

म धेरै चिच्याएँ है ?

थैट !

अब शान्त भएर मोवाइल चलाउँछु ।

मोवाइल चलाउँदै थिएँ फेरि भिडियो कल गरेर दामोदरले भन्यो, ‘अब त साह्रै भएन । तँ पत्रकार भइहालिस ब्गल लेख न । बरु म पनि सेयर गर्छु ।’

उसैले भनेको परिणामस्वरुप तपाइँले आज यो लेख पढिरहनु भएको छ ।

उसले त्यति भनिसकेपछि अन्तिममा मैले सोधेँ – ‘अनि हाम्रो लप नपर्नुको कारण चाहिँ केलाई मान्ने होला त ?’

उसले भन्यो, ‘पितृश्राप नै हो । यही लेखिदे ।’