Feature

अनुभुति : इटहरी पारायण र मेरो प्रेम

इलाम बाट विर्तामोढ र त्यहाँ बाट २ घण्टा बसमा दौडेपछि इटहरी पुग्यौं । इटहरी पारायण ०६३ मा। आजपनि  त्यो बेलाको धमिलो याद मानसपटलमा कतै लुकेर...

Wednesday, September 9, 2020

सरकारलाई सरकारजस्तै सुझाव : बरु मौलिक हक नै खारेज गरिदिउँ

गत तीन दिन समाजिक सञ्जालमा एक भिडियोले निकै चर्चा कमायो। अन्नपूर्ण अनलाइनले टिकटकमा अप्लोड गरेको भिडियोले धेरैको मन तान्यो।

उक्त भिडियोमा कसैले लछारपछार पारेजस्तो देखिने एक महिलाले रुन्चे स्वरमा भन्दै थिइन्, ‘दुःख नपाएको भए कसले गाडा डोहोर्याएर हिँड्छ त ? त्यसले कुटेको, कस्सम हो कस्सम ... एउटा ढक त म नि किन्न सक्छु नि ! बिरामी हुन्छ भन्ने हामीलाई पनि त डर हुन्छ।’

‘बसि खान कसलाई मन छैन कसलाई छैन र ?’ भन्ने उनको छेवैमा बसेको अर्को मानिसको भनाइमा सही थप्छिन्, ‘कसलाई छैन र ?’

केही समयको निशब्दतापछि उनी थप्छिन्, ‘दिनदिनै औषधि – ब्रुफिन र निम्स – आएर म हिँडिरहेको छु। ल भन्नु न....’ यतिकैमा सकिन्छ ३० सेकेन्डको भिडियो।

माइखोला बगरमा धान काट्दै। लेखक।

आधा मिनेटको भिडियोमा शब्द भन्दा उनको लवज, हाउभाउ र आँशुले धेरैकुरा बोलेका छन्। लाग्छ उनको मन आशा, भरोषा सबै सकिएर शब्द र आशु बनेर झरिरहेका छन्।

टिकटको भिडियो घुम्दैफिर्दै ट्वीटरमा पुग्यो। उही पुरानै बतासे पाराले। भिडियोले त्यहाँ पनि धेरैको मन तान्यो।

त्यसै भिडियोलाई आइतबार साँझ रिट्वीट गर्दै पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई सरकारलाई सोध्छन्, ‘पचासौं लाख अनौपचारिक र स्वरोजगार मजदूरको जीवनयापनको वैकल्पिक व्यवस्था नगरी लकडाउन र कर्फ्यू मात्र लगाएर राज्यको जिम्मेवारी पूरा हुन्छ ?’

उनले थप लेखेका छन्, ‘कि तिनलाई स्थानीय तहमार्फत नगद र जिन्सी अनुदानको व्यवस्था हुनुपर्यो कि सुरक्षा मापदण्ड कायम गरेर व्यवसाय गर्न दिनुपर्यो ! यी श्रमिक महिलाको आँसुले पिर्ला !’

बाबुरामले भिडियो सेयर गर्नुअघि हजारौले भिडियो सेयर गरेका थिए। साथै धेरैले नेपाल प्रहरीलाई मेन्सन गरे।

भिडियाबारे व्यापक चासो बढेपछि नेपाल प्रहरीले आइतबार साँझ सात बज्नै लाग्दा स्पष्टिकरण निकाल्यो।

र, स्पष्टिकरणमा भनियो, ‘विगतमा भएका घटनाहरुको प्रहरी प्रधान कार्यालयबाट सुक्ष्म अध्ययन र छानबिन गरि अधिक बल प्रयोग गर्ने प्रहरी कर्मचारीलाई आवश्यक कानुनी कारबाही गरी पुनः त्यस्ता गतिबिधि नदोहर्याउने व्यवस्था मिलाइएको छ।’

खासमा यस्ता कुराहरु व्यवस्था मिलाउने कुरा नै कहाँ हुन र ? यो त मानव मनले सोचेर सम्झेर बुझ्ने कुरा हुन र ? कोरोनाअघि पनि फुटपाथ व्यापारिमाथी यस्तै घटना हुने नगरेका भने होइनन्।

कहिले चटपटे व्यापारी त कहिले पुच्का, कहिले फुटपाथे कपडा व्यापारी त कहिले नाङ्लो व्यापारी लछारपछार हुने, कुटाई खाने र चेतावनी सुन्ने काम तल्लो तहमा बसेर सेवा गर्नेहरुले धेरै सहे।

यस्तै घटनालाई अंकित गर्दै प्रहरीले आइतबार साँझ जारी गरेको त्यही सूचनामा थपेको छ, ‘विगतमा घटेका घटनालाई जोडेर सर्वसाधारणलाई दिग्भ्रमित पार्ने र अविश्वास पैदा गराउने उद्देश्यले भिडियोहरु पटक पटक सम्प्रेषण भइरहेको पाइएको छ। छानबिन र निरुपण भइसकेको घटनालाई लिएर विगतका घटनासँग जोडी आम जनमा नसमा भ्रम सिर्जना हुन गएकोमा प्रहरी प्रधान कार्यालय संवेदनशील रहेको छ।’

प्रहरीले भनेजस्तै उक्त भिडियो पनि गत वैशाख २० गतेको रहेछ। प्रहरीले उनको ढकतराजु जफत गरेको रहेछ। यसैक्रममा घम्साघम्सी हुँदा उनलाई समान्य चोटसमेत लाग्न पुगेछ।

तर एकपटक सोच्नुहोस् त, कोरोना कालमा होस् वा त्यसअघि। भविष्यमा नै किन नहोस् राज्यप्रति जिम्मेवारी सुरक्षा निकायले यस्तो गर्न सुहाउँछ ?

यहाँ प्रहरीलाई निन्दा गर्न खोजेको होइन्। उसले देशमा संवेदनशील घडीमा सहयोग गरिरहेको छ। तर त्यसको परिचालन सहि नहुँदा यस्ता घटना समय समयमा दोहोरिरहेका छन्।

प्रहरीले सूचनामा भनेजस्तो त्यस्तो गतिविधि नदोहोर्याउने व्यवस्था कहाँ, कसरी र कहिले मिल्छ ?

आज, राज्यले मजदुर र जनताप्रति गरेको वेवास्ताले मानिस घरभित्रै आक्रोशित भएका छन्। ‘खाली दिमाग शैतान बराबर’ भन्ने उखान त्यसै व्यवहारिक भएको होइन्। मानिसले स्वतन्त्रता र काम गर्ने वातावरण पाएन भने उसको दिमागमा नकारात्मक कुराहरु खेल्न थाल्छन्। यसले मानिसको विकास र सकारात्मक चिन्तन घटाउँछ। त्यही असर मानिसमा आज देखिएको छ।

तर यो कुराको पुष्टी गर्नु पर्दैन। किनभने यो मैले भनेको कुरा हो – ‘मैले भनेको कुरालाई किन पुष्टि चाहियो ?’ म प्रधानमन्त्री केपी शर्मा ओलीकै शब्द सापटी लिएर भन्दै छु, ‘मैले भनेको कुरालाई किन पुष्टि चाहियो ?’ प्रधामन्त्रीले भनेको कुरा पुष्टी नहुने देशमा मैले भनेको कुरा किन पुष्टी हुनुपर्यो ?

त्यसैले मेरो एकतर्फी कुन्ठा यो छ कि – हाम्रो देशमा पुष्टि नहुने कुरा जसले जे बोलेपनि हुन्छ !

अहिले अधिकांश मानिस घरभित्र छन्।

सुरुमा त सरकारको आग्रहलाई मानेर घरभित्र बसे। केही दिन बसेपछि, फेरि केही दिन बसौंन भनेर बसे। कोरोना बढ्दै गयो सरकारले यसलाई रोक्न केही गर्न सकेन।

सरकाले केही नगरेपछि युवाहरुले आन्दोलन गरे। त्यसको प्रतिउत्तरमा तिनै जनताबाट निर्वाचित भएको प्रधामन्त्रीले ओठे जवाफ फर्काए,‘के हो इनफ इज इनफ भनेको ? कोरोना पुग्यो अब फिर्ता जा भनेको हो ?’

कति निर्लज्ज र अव्यवहारिक जवाफ !

प्रधानमन्त्रीको यो अभिव्यक्तिले कसको मन क्रोधित नहोला ? त्यसमाथी उनले एक टेलिभिजन कार्यक्रमा भने, ‘सरकारले आफ्नो पैसा खर्च गरेर टेस्ट गराएको छ, उपचार गराएको छ ...’

उनले यो कुरा यसरी भनिरहेका थिए कि उनले आफ्नै खल्तीबाट पैसा हालेर उपचार गर्नु परिरहेको छ।

उनको यो अभिव्यक्तिले केही प्रश्न जन्माउँछ।

के सरकारी ढिकुटीमा भएको पैसा सरकारको मात्र हो ? जनताले तिरेको करबाट आएको पैसामा जनताको हक छैन ? सरकार जतनाको अभिभावक हो। अभिभावकले छोराछोरीको उपचार गर्दा दम्भ देखाउनुपर्ने कारण छ र ?

तर, उनको अभिव्यक्तिमा लाग्छ – सरकार छुट्टै हो, सरकार जनताभन्दा धेरै माथीको हो, जनताले तिरेको कर सरकारका लागि मात्र हो। जनताले जिल्लाराम हुनुपर्ने अवस्थामा पनि सामान्य सेवा पाए।

तर, मलाई सरकारप्रति कुनै गुनासो गर्नु छैन्। गुनासो गरेपनि मेरो गुनासो सरकारले सुन्ने होइन, पाउने केही होइन्। मैले लेख्न खोजको त मौलिक हक र स्वतन्त्रताबारे हो।

यसैबारे कुरा गरौँ...

लामो समयको प्रतिक्षापछि २७ वटा मौलिक हक भएको संविधान जारी भयो। त्यसमा गाँस, बास, कपासदेखि अभिव्यक्ति स्वतन्त्रता सम्म व्यवस्था गरिएको छ। यति भनिरहँदा संविधानको गुणगान गाइरहनु पर्ने केहीपनि देखिँदैन।

यिर यस्ता स्वतन्त्रता त मानिसले प्राकृतिक रुपमा पाएर आएका हुन्। हिँड्न पाउने, खान पाउने र काम गर्न पाउने देखि स्वतन्त्रता कुनै कागजमा लेखेर पाइने र नपाइने हुनु हाम्रो  दुर्भाग्य हो।

प्रकृतिको नियमको पालना गर्दै हामीले कानुनको विकास र परिमार्जन गर्दै जानुपर्ने हो। तर हामीले जसो गर्दा सत्तालाई सजिलो पर्छ त्यसरी पो कानुनको विकास गर्यौँ। अहिले इच्छा मृत्युको कानुनबारे विश्वले विचार गरिरहँदा, प्रजननको प्राकृतिक सिद्धान्त विपरित स्वतन्त्राको लागि समलिंगी विवाहले स्विकृति पाइरहँदा हामीले गाँस, बास र कपासजस्ता आधारभुत कुरा गुमाउनु पर्ने कस्तो कानुनको पालना गरिरहेका छौं ?

हरेक मानिसलाई जमिनको उपयोग गरेर खान पाउने स्वतन्त्रता प्रकृतिले नै दिएको हो। विभिन्न देशले कानुन बनाएर त्यसलाई व्यवस्थित मात्र गर्नुपर्ने हो नि होइन र ?

तर, एउटा रोगको हवाला दिएर खानेलाउने कुराबाटै बन्चित गर्न मिल्छ त ?

हामीले मध्यम र तल्लो वर्गबारे कुरा गरिरहँदा। उनीहरुको बचत कति हुन्छ भन्ने कुरा भुल्नु हुँदैन। युरोप र अमेरिकामा जस्तो नेपालमा सबै परिवार फ्ल्याटमा बस्दैनन्। एउटा सानो कोठामा कुचुक्क परेर। भविष्यमा केही राम्रो होला कि ! भन्ने अदृयस सपना पालेर।

आम्दानीको अधिकांश क्षेत्र दैनिक उपभोग्य सामानमै खर्च हुने देशमा ५÷६ महिनासम्म ति वर्गका मानिस कामविहिन भएर कसरी बाँच्न सक्छन् ? देशको सीमाभित्र काम गरेर खान लाउन र आर्थिक उपार्जन गर्न पाउने सामान्य हक कहाँ पुग्यो होला ?

त्यसैले, आफ्नो सत्ता टिकाउनका लागि अध्यादेश ल्याएर कानुन नै हातमा लिन सक्ने, उजुरी हाल्न जाँदा उजुरी लिन नमान्ने मात्र होइन स्वतन्त्र बहस हुने संसदको अधिवेसन समेत भंग गर्न सक्ने  मेरो महान सरकारलाई म एउटा सुझव दिन चहान्छु – बरु यसो गर्दा सरकारको सत्ता टिक्छ भने, सरकारलाई शासन गर्न गाह्रो भइरहेको छ भने – संविधानले व्यवस्था गरेको मौलिक हक नै खारेज गरौँ।

Wednesday, September 2, 2020

एक विद्यार्थी, शिक्षक र पत्रकारको ब्लग

९ वा १० मा पढ्दाखेरी मेरो सोचाइ यस्तो पनि आयो – किन विद्यार्थीलाई चाहिँ टिचरको स्टाफ मिटिङमा सहभागी गराइँदैन ?

त्यो सोचाइ आउनुका विभिन्न कारण थिए । पहिलो, स्टाफ मिटिङको समयमा क्लस हुँदैन थियो । बोरिङ भएर बस्नुपर्ने। समय त्यत्तिकै बित्ने ।

दोस्र्रो, क्लासमा साथीहरुहेका बकवास सुन्नुपर्ने । उसै पनि हल्ला मलाई मन पर्दैन। खाली कक्षामा कति हल्ला हुन्छ भन्नेबारे भनिरहनु नपर्ला ।

अनि शिक्षकले विद्यार्थीको बारेमा कस्तो सूचना बैठकमा पुर्याउँछन भन्ने पनि चासो । किनेभने सबै शिक्षकले विद्यार्थीलाई बुझेका हुँदैनन् । लादेका हुन्छन् । उनीहरुले विद्यार्थीको आवाज र चासोलाई दबाएका हुन्छन् ।

अनि विद्यार्थीको एक वचन सुन्न मन नपराउने शिक्षकले वैठकमा कस्तो सुचना लौजानाल भन्ने जिज्ञासाले मलाई स्टाफ मिटिङमा पनि विद्यार्थीको सहभागीता गराउनुपर्ने विचार गराउँथ्यो ।

तर पछि आफैं स्टाफ मिटिङमा बस्दा चाहिँ त्यहाँको वातावरण केही फरक लाग्यो । स्टाफ मिटिङमा खासै केही पनि नहुने रहेछ । विद्यार्थीका समस्याले त्यहाँ खासै फरक नपर्ने रहेछ । कुनै शिक्षकले गल्ती गरेको भए त्यसलाई विद्यार्थी र अभिभावकसम्म नपुर्याउने चेस्टा भने राम्रौ हुने रहेछ ।

किनभने स्कुल संस्थापन र प्रिन्सिपलले कमाउने पैसा आफ्ना शिक्षकको गल्ती ढाकछोपमै हुन्छ । शिक्षककलाई गल्ती देखायो भने विद्यार्थी अन्य स्कुलमा जान्छन भन्ने चिन्ता रहन्छ । बरु त्यसलाई ढाक्न विद्यार्थीनै शिक्षकमाथी जाइलागेको र उसले शिक्षकलाई सम्मान नगरेको बहाना अभिभावकलाई दिने चलन प्रायसः निजी स्कुलमा छ ।

कम तलबमा राखेको शिक्षकलाई हटाउनु पर्यो भने अर्को शिक्षकलाई धेरै तलब दिनुपर्ने स्कुलको एक डर हुन्थ्यो भने । आफूले राखेको शिक्षक नराम्रो भनेर अभिभावकसँग भन्ने उसको आँट ने नहुने । जसको ढाकछोप र खिसिटिउरी स्टाफ मिटिङमा हुन्छ ।

यता, विद्यार्थी भने तीन तिरकै मारमा परिरहने । एक शिक्षक, अर्को प्रिन्सिपल÷संस्थापन र तेस्रो अभिभावक ।

मैले प्लस टू सेकपछि एक स्कुलमा पढाउन थालेँ । उमेर १८ वर्ष थियो । परिपक्व टिचर हुने कुरै भएन । तर पनि अतिरिक्त क्रियाकलापमा धेरै सहभागी हुने भएकाले धेरै विद्यार्थीले मन पराउन थाले ।

म त्यहाँ क्विज, चित्रकला, भलिबल देखि नाटक सम्म सिकाउँथे । धेरै ज्ञान त आफूलाई पनि थिएन । तर शिक्षक भनेको शिक्षक नै हुन्छ । विद्यार्थीले पनि भनेजसै गरिहाल्ने भए ।

लेखक। २०७० सालमा। तस्बिरका लागि पोज दिँदै।


त्यसैक्रममा एकदिन विहानको प्रार्थना(एसेम्ब्ली) गराएँ ।

यसबीच सम्झनुपर्ने कुरा के हुन्छ भने । स्कुलको समय एकदमै व्यवस्थित हुनुपर्छ । स्कुलमा विद्यार्थी र शिक्षक पुग्ने सँधैको समय एकै हुनुपर्छ । जसकारण घरमा खाना बनाउने देखिकै तालिका टाइट हुन्छ ।

एसेम्ब्ली कहिले लामो गराउनु पर्ने हुन्छ, कहिले छोटो । प्रायसः विद्यार्थीलाई उनीहरुको नियम दैनिक सम्झानु पर्छ । उनीहरुले आज भनेको कुरा छोटो समयमै विर्सन सक्छन त्यसैले सम्झाइरहनु पर्छ ।

यो कुरालाई धेरै विद्यार्थीले दिक्क मान्छन । एउटै कुरा कति भनेको भन्ने मैले विद्यार्थीका कालमा भोगेकै कुरा हो । यदी विद्यार्थीले एकपटक भनेपछि सँधैका लागि बुझ्छ भन्ने सोच्नुभएको छ भने तपाइँको सोचाइ लगत छ । यति चाहीँ म प्रष्ट रुपमा भन्न सक्छु ।

त्यो दिन मैले विद्यार्थीलाई ‘समयमै आफ्नो मासिक तलब बुझाउन अभिभावकलाई सम्झाउ’ भनिनँ छु । अहिले लाग्छ सायद भुलेँ हुँला । वा परीक्षाको समय भएकाले तयारीका कारण ढिलो भएको पनि हुनसक्छ । वा अघिल्लो दिन पनि भनेकाले दोहो¥याइरहन गाह्रो भयो होला ।

खैर जे हो त्यो दिन प्रिन्सिपलकी श्रीमतीले खुव गाली गरिन । मैले जीवनमा त्यति नमिठो गाली त्यसअघि कहिल्यै महशुस गरेको थिइँन । उनले तिखो स्वरमा सहजै भनेकी थिइन, ‘के हो सर, तलब लिन मन छैन ? विद्यार्थीलाई फि तिर नभन्ने ?’

एउटा त एसेम्ब्ली गराउने अधिक जिम्मेवारी, अर्को अतिरिक्त क्रियाकलापमा पनि खटिनुपर्ने, त्यसमाथी गाली ?

भाउन्न भयो ।

त्यसरी खटिँदा पनि विद्यार्थीकै अघि गाली खाएपछि सीधै प्रिन्सिपलको कोठातर्फ हानिएँ । उनी त अन्य अभिभावकसँग व्यस्त रहेछन् । रातो पेन उनको टेबलमा थर्किनेगरि राखेर ‘तपाइँको जागिर आफैँ खानुहोला !’ भनेर घर हिँड्न मन लागेको थियो ।

तर अभिभावकको अघि तमासा गर्न व्यक्तित्वले दिएन । स्टाफ रुममा छिरेँ । त्यो क्षणमा त्यहाँ मेरो बाहेक अरुको काम थिएन । एक्लै थिएँ । अरु शिक्षकलाई प्रश्नपत्र जिम्म दिनुपर्ने थियो । एकछिन आफैँ मुरमुरिएपछि उत्तरपुस्तिका र प्रश्नपत्र सबै शिक्षकलाई जिम्म लगाएँ र आफू एउटा हलमा गएर बसेँ । त्यो दिनभरी सोचरहेँ ।

केही पछि रीस त शान्त भयो तर एउटा दुखाई मनबाट कहिल्यै हटेन । केही दिनपछि अर्को एकजना स्टाफलाई सुनाएपछि किस्सा अलि शान्त भयो । एक वर्षे कार्यकाल पुरा गरेर विदा भएँ ।

त्यसपछि काठमाडौंको एक स्कुलमा पनि एक वर्ष नै काम गरेँ । यसबीच कलेजको पढाइलाई पनि साथै लैजानु पर्ने भएका कारण स्कुलमा लामो समयसँम्म पढाएको अनुभव छैन । सायद आउँदो समयमा होला ।

मेले स्कुलमा एउटा यस्तो घटना पनि अनुभुत गरेको छु कि जहाँ परीक्षा दिएका विद्यार्थीले पनि फी नतिरकेका कारण रिजल्ट पाएको हुँदैन् । केही दिन पछि तिर्ने अभिभावकको आग्रह पनि स्कुलको निमर्म मनले नसुनेको देख्दा आफू शिक्षक नै भए तापनि साह्रै दुःख मात्र मानेर बस्नुपर्ने अवस्था आउने रहेछ ।

आफू क्लास टिचर भएर के गर्नु । विद्यार्थीलाई पढाउने, उनीहरुसँग गफ गर्ने र उनीहरुलाई जाच्ने मात्र हो । तर त्यो प्रतिवेदन स्कुलको फीले अड्काइदिन्छ । प्रिन्सिपलले ‘त्यो रिपोर्ट कार्ड नदिनु’ भनेपछि कि जागिर छोडुनुपर्यो कि स्कुलको नाटक हेरेर बस्नुप¥यो ।

दुवै नगर्ने त चान्स नै छैन ।

अझ बोर्डिङ स्कुलमा त रटाउने पद्दतीनै धेरै । क्लासमा पढाएको र बुझाएको कुरा भन्दा पनि देखिने उपलब्धी स्कुललाई चाहिन्छ । उसो त कति बदमास शिक्षकले क्लासको उत्पादनमुलक ४५ मिनेटमा आफ्नो निद्रा पुर्याएर नै यस्तो अवस्थाको सिर्जना भएको हुनसक्छ ।

त्यसैले यदी कुनै शिक्षकले कस्तो पढाउँछ भन्ने कुरा विद्यार्थीको कपीबाट मापन गरिन्छ । यदी विद्यार्थीको कपी राम्रो चेकजाँच भएको छ भने त्यो शिक्षक राम्रो, नभए नराम्रो । अनि अभिभावकले हेर्ने भनेको मुख्यगरी होमवर्क नै हो ।

शिक्षकले विद्यार्थीलाई धेरै हामवर्क दिने स्कुल अभिभावकका लागि राम्रा लाग्छन । तर पछिल्लो समयमा यो मानसिकता केही हटेको मेले महशुस गरेको छु । कतिपय अभिभावकले होमवर्क कम दिएकोबारे गुनासो गर्न छोडेको शिक्षक साथीहरुले बताउँदै आएका छन् ।

अहिले म एक विद्यार्थी र पत्रकार बनेको छु । एक अनलाइन पत्रिकामा खेल क्षेत्र हेरिरहेको छु । ब्याचलर सकेको छैन । तर पनि मलाई कता कता अझै विद्यालयकै याद आइरहन्छ ।

यो समयमा कोरोनाका कारण सबै विद्यालय ठप्प छन् । कतै खुलेका छैनन् । अनलाईन क्लासले धेरै धानेजस्तो मलाई लाग्दैन । तर विद्यार्थीले स्कुलको बोझ बोक्नु नपरेका कारण मलाई आनन्द आइरहेको छ ।

त्यसमाथी संसारका सबै विद्यार्थीले ‘रोगको महामारी कसरी सिर्जना हुन्छ ? महामारीले संसारमा कस्तो प्रभाव पार्छ ?’ भन्नेकुरा धेरै समय घरमै बसेर सिकेका छन् । उनीहरुले विश्वका समाचार घरमै बसेर सुनेका छन् । यो कुरा एउटा मानिसका लागी ठूलो ज्ञान हो । सायद स्कुल गएर सरुवा रोगको बारेमा पढेर एक विद्यार्थीले यो तीन÷चार महिनामा बुझेको कुरा बुझ्न सक्दैन थियो ।

तर कसैले नरटाइ, कसैले नघोकाइ, कसैले नपिटी, दर्जनौँ किताब बोकेर स्कुल नगइकन घरै बसेर विद्यार्थीले प्राक्टिकल ज्ञान हाँसिल गर्न सक्छ भन्ने कुरामा अब म ढुक्क भएको छु ।

आज तपाइँ आफ्नो बच्चालाई सोध्नुहोस् ‘कोरोनाबाट बँच्न के के गर्नुपर्छ ?’ उसले खुरुरु भनिदिन सक्छ । कुन स्कुलको किताबमा लेखेको छ कोरोनाबाट बँच्ने उपाय ? छैन । यो कुरा केटाकेटीले टिभीमा हेरेर, रेडियो सुनेर र बाबुआमाले भनेरै जानेका हुन् ।

यसो भनिरहँदा एक दिन पनि स्कुलको मुख नदेख्नुभएकी मेरो हजुरआमाको एक भनाइ मलाई याद आउँछ – ‘यि अहिलेका मुले केटाकेटीले के जानेका छन र ? मोवाइल चलाउन मात्र जानेका छन् । अरु काम गर्ने ढंग पुर्याउँदैनन् ।’

म हजुरआमालाई मान्छु र सुन्छु पनि उनका कतिपय घटना जिवन्त लाग्छन् । सम्झिहरने छन् । त्यो सँग विद्यार्थीलाई सोधिएको प्रश्नको रटेको उत्तर दाँज्न सायद मिल्दैन् । रटेको उत्तरमा आत्मा पसेको हुँदैन । तर कोरोनाबाट बँच्ने उपाय सोध्नुहोस् त्यो उत्तरमा आत्मा भेट्नुहुने छ ।