उ असाध्यै ध्यानी छ
जहाँ पनि ध्यान गरिहाल्छ
उ विश्वास गर्छ,
एकदिन सिद्धि मिल्नेछ
एकदिन सबै दुःखवाट पार पाउनेछ
यो मृत्युलोकमा बसेर सोच्छ
उ अरुभन्दा अलग छ
अमर छ
किनभने
उ असाध्यै ध्यानी छ।
फाट्टफुट्ट संस्कृतका मन्त्र पनि जान्दछ
चण्डी, रुद्री र गीतासम्म पढ्न जानेको छ
उस्तै मान्छेलाई ठूलै गुरु हुँ भन्न भ्याइहाल्छ
अरुले भनेको 'ॐ' र उसले भनेको 'ॐ'
उसलाई फरक लाग्छ
अरुको चिन्तन र आफ्नो चिन्तन
उसलाई फरक लाग्छ
उसलाई फरक लाग्छ
अरुको शान्ती र आफ्नो शान्ती
किन भने उ सोच्छ - उ असाध्यै ध्यानी छ।
वर्षको २ वटा शनिवार
काल पशुपतिको भैरवमा गएर ध्यान गर्छ
घरमा वस्दा
युट्युवमा हेरेर वस्तुको ध्यान गर्छ
ध्यान सिक्छ
महामृत्युन्जय मन्त्र हरेक शिवरात्रीमा सुन्छ
संवत्सर सर्यो कि सरेन भनेर
घरमा फोन गरेर सोध्छ
ध्यान गर्ने कहिले हो भनेर पात्रो हेर्न लगाउँछ
किनभने
उ असाध्यै ध्यानी छ।
उसलाई त्यही ध्यानले
अमर बनाउँछ जस्तो लाग्छ
संसारको चाबी हातमा आउँछ जस्तो लाग्छ
हातको औंलामा राखेर संसारलाई
फिन्फिन्फिन्फिन घुमाउँछु जस्तो लाग्छ
र, उसलाई लाग्छ
उ असाध्यै ध्यानी छ।
ग्रहण लागेपछि उसलाई एक्कासी याद भयो
आज उसको ध्यान सिद्धि हुनेछ
जन्म-मृत्युको चक्करबाट छुटकारा पाउनेछ
संसारको गड-फादर बन्दैछ
त्यसैले उ बिहानै उठ्छ
हतारहतार खाना खान्छ
र, युट्युबको इसारामा ध्यान गर्न बस्छ
उ असाध्यै ध्यानी छ।
No comments:
Post a Comment