अनुहारमा गम्भीरता,
निर्णयमा अपरिपक्वता
र
छ-र-प-ष्ट विचारहरुले
म चारतिर तानिएछु
किराहरुले प्राणघातक आक्रमण गरेपछि
मेरो मस्तिष्कलाई सायद यस्तै लागेको होला।
जर्जर भूमिमा
थर्थर काँप्दै उम्रने शब्दहरु,
तरंगले बगाएर
मनदेखी मस्तिष्कसम्म पुर्याएका भावनाहरु
डगमग-डगमग डगमगाइ रहन्छन्
झन्झन्-झन्झन झन्किरहन्छन
मस्तिष्क खाएर बाँच्ने किरो देखेर
मेरा बा को मस्तिष्क
गाउँको किरोले खायो,
मेरो कलिलो मस्तिष्क
सहरको मोटो किरोले खायो
तीन-चार खालको तन्त्रहरु आइसके
छ-सात खालका धानहरु परिवर्तन भइसके
यी किराहरुलाई उपचार गर्ने कानुन
अझै आएनन्।
मलाई सम्झना आउँछ।
धन भन्दा विद्या ठूलो भन्ने
झुटो वादविवाद खेलेको
हातका मैला भन्ने
मिथ्या कविता घोकेको,
त-वर्गको अन्तिम दुईलाई वेबास्ता गर्दै
परदेशमा हितहुने शिक्षा रोजेको।
कल्पनाले कल्पनलाई गहिराई सम्म लैजान्छ
मस्तिष्क खाने किरोले आक्रमण गरेपछी।
तीन महिनाको स्वाभिमानी यात्रा-पस्चात्
छोरोको स्कुलको बिल आउँछ
पसल जाने बाटो बन्ध हुन्छ
इष्टमित्रको फोन बान्द हुन्छ
अनि
उसैलाई डाक्टर सम्झेर
मालिकको ढोका दशौंपटक ढक्ढक्याउन पुग्छु
आफ्नो दिमागको अलिकती हिस्सा माग्न।
No comments:
Post a Comment