Feature

अनुभुति : इटहरी पारायण र मेरो प्रेम

इलाम बाट विर्तामोढ र त्यहाँ बाट २ घण्टा बसमा दौडेपछि इटहरी पुग्यौं । इटहरी पारायण ०६३ मा। आजपनि  त्यो बेलाको धमिलो याद मानसपटलमा कतै लुकेर...

Sunday, June 23, 2019

मस्तिष्क खाएर बाँच्ने किरो

मनमा बेचैनी,
अनुहारमा गम्भीरता,
निर्णयमा अपरिपक्वता

छ-र-प-ष्ट विचारहरुले
म चारतिर तानिएछु
किराहरुले प्राणघातक आक्रमण गरेपछि
मेरो मस्तिष्कलाई सायद यस्तै लागेको होला।

जर्जर भूमिमा
थर्थर काँप्दै उम्रने शब्दहरु,
तरंगले बगाएर
मनदेखी मस्तिष्कसम्म पुर्याएका भावनाहरु
डगमग-डगमग डगमगाइ रहन्छन्
झन्झन्-झन्झन झन्किरहन्छन
मस्तिष्क खाएर बाँच्ने किरो देखेर

मेरा बा को मस्तिष्क
गाउँको किरोले खायो,
मेरो कलिलो मस्तिष्क
सहरको मोटो किरोले खायो
तीन-चार खालको तन्त्रहरु आइसके
छ-सात खालका धानहरु परिवर्तन भइसके
यी किराहरुलाई उपचार गर्ने कानुन
अझै आएनन्।

मलाई सम्झना आउँछ।
धन भन्दा विद्या ठूलो भन्ने
झुटो वादविवाद खेलेको
हातका मैला भन्ने
मिथ्या कविता घोकेको,
त-वर्गको अन्तिम दुईलाई वेबास्ता गर्दै
परदेशमा हितहुने शिक्षा रोजेको।
कल्पनाले कल्पनलाई गहिराई सम्म लैजान्छ
मस्तिष्क खाने किरोले आक्रमण गरेपछी।

तीन महिनाको स्वाभिमानी यात्रा-पस्चात्
छोरोको स्कुलको बिल आउँछ
पसल जाने बाटो बन्ध हुन्छ
इष्टमित्रको फोन बान्द हुन्छ
अनि
उसैलाई डाक्टर सम्झेर
मालिकको ढोका दशौंपटक ढक्ढक्याउन पुग्छु
आफ्नो दिमागको अलिकती हिस्सा माग्न।

Thursday, June 13, 2019

जुलुस, सभा, लन्च र डिनर अनि ह्याप्पी इन्भारोमेन्ट डे !

आज विश्व वातावरण दिवस । ग्लोबल वार्मिङ, वातावरण प्रदूषण र यसबारे चेतना जगाउने पोस्टर, पम्प्लेटसहिर्त र्‍याली निकाल्ने दिन । र्‍याली सकेर ती पम्पलेट, पोस्टर सबै बाटामै फालेर फोहोर पार्ने दिन ।

प्रकृति र वन्यजन्तु संरक्षणका नाममा माइक घन्काएर वरपरको गाउँ टोल नै थर्काएर डिस्टर्ब गर्ने दिन । वातावरण प्रदूषण नियन्त्रणका लागि पाँचतारे होटलमा गोष्ठी, सेमिनार र समारोह गरेर बजेट झ्वाम पार्ने दिन । आहा ! क्या गजबको दिन ।

वातावरण संरक्षणमा यसरी जुलुस, सभा, सेमिनार, लन्च, डिनर गरेको मलाई साह्रै मन पर्छ । मलाई मेरो देश र नेपाली दाजुभाइ, दिदीबहिनी, आमाबुवा, काकाकाकी, हजुरबा, हजुरआमा, मामामाइजु सबै झन् प्यारा लाग्छन् ।

हाम्रो देशको हिमाल, पहाड, तराई र त्यहाँको वातावरण पनि औधि मन पर्छ । तर मैले वातावरण संरक्षणका नाममा धेरै ‘काम’ गरेको छु । माथि उल्लेख गरेर्का याली, सेमिनार, लन्च, डिनर गरेर वातावरण स्वच्छ, सफा राख्न धेरै योगदान गरेको छु । 

मैले यस्ता लन्च, डिनर गरेर वातावरण सफाइ गर्न थालेको अहिले होइन, बाल्यकालदेखि वा भनौं स्कुले विद्यार्थी छँदादेखि नै हो । त्यसबेलाका धेरै घटना छन्, जसले यी कुरा प्रस्ट पार्छन् । तीमध्ये केही यस्ता छन् : 

सानोमा मलाई साताका सात दिवस (दिन)बाहेक अरूको ज्ञानै थिएन। एकपल्ट बालदिवसमा बिन्दास तरिकाले मस्त खेल्न पाइयो, अर्कोपटक सरस्वती पूजामा छादुन्जेल प्रसाद (उखुका टुक्रा, बुनियाँ र काँचो मेवाका टुक्रालगाय) खान पाइयो । ल्होसारमा छेवैको गुम्बाबाट स्याउ सुन्तला ल्याएर बाँडे ।

त्यस्तै अरू कुनै प्रजातन्त्र दिवसमा स्कुल बिदा भएपछि घरमा उपद्रो मच्चाउँदाको मज्जै बेग्लै हुन्थ्यो । गएको साल युवा दिवसको दिन राष्ट्रिय युवा परिषद्ले राम्रो खातिरदारी गर्‍यो । यसरी बर्सेनी आउने अनेक दिवससँग मेरो परिचय भयोे ।

एउटा यस्तै अर्को दिवसको पनि सम्झना छ । राष्ट्रिय शिक्षा तथा विश्व साक्षरता दिवसका दिन भएको वक्तृत्वकला प्रतियोगितामा दोस्रो भएर केही राम्रा राम्रा डायरी पाइयो ।

प्रजातन्त्र दिवसमा भएको क्विजमा पहिलो हुँदा पुरस्कार मात्र पाइएन, सरले होटलमा लगेर नाईं नभनुन्जेल खुवाउनु भयो । कुनै न कुनै मिति टेकेर आउने दिवसले वाल्यकालमा खुब रमाइलो हुन्थ्यो ।

स्कुले जीवनमा पाएको यस्तो ज्ञानको सदुपयोग विद्यार्थीले कसरी गर्छन् होला भनेर कहिलेकाहीं सोच्छु तर उत्तर पाउँदिनँ । यो त भयो राष्ट्रिय कुरा । अब वातावरण दिवसको सन्दर्भमा अन्तर्राष्ट्रिय कुरा पनि गरौं । विश्वभरि अनेकौं कार्यक्रम गरेर दिवस मनाइन्छ ।

विशेषतः यो दिन फोटोसप गरेर सफाचट पारिएको प्रकृतिको फोटो सामाजिक सञ्जालमा अपलोड गरिन्छ । ग्लोबल वार्मिङ घटाउनुर्छ, कार्बन उत्सर्जन हुनु हुँदैन र प्रकृतिको अप्राकृतिक दोहन बन्द गर्नुपर्छ भन्दै समाचार लेखिन्छ ।

केहीले फूलमा पानी हालेको फोटो अपलोड गर्छन् र लाइक, रिट्विट बटुल्छन् । यस्तो गर्नेमा अधिकांश नेता, अधिकारवादी र पत्रकार हुन्छन् ।

सन् १९७३ जुनमा यो दिवस मनाउँन थाल्दा के–कस्तो परिवर्तन अपेक्षा गरिएको थियो ? र त्यसयताका चार दशकमा के कस्ता उल्लेखनीय परिवर्तन भए ? जल, स्थल र वायुमा भइरहेको अत्यधिक प्रदूषणले खस्किरहेको वातावरणमा कति सुधार भयो ?

यी प्रश्नका उत्तर आइएनजीओहरूका प्रतिवेदनका खातमा कुनै पानामा होला, तर व्यवहारमा भने हातलागि शून्य नै छ । त्यसमाथि पनि हाम्रो देश नेपालमा त यो अझै सान्दर्भिक छ ।

वातावरण सुधार, प्रदूषण नियन्त्रणमा सबैभन्दा धेरै काम गर्नेको सूचीमा आइएनजीओहरू छुटाउनै नहुने नाम हुन् । उनीहरूको योगदान यो क्षेत्रमा अतुलनीय छ, जसले एयर कन्डिसनमा बसेर स्वच्छ वातावरण परिकल्पना गर्छन्, वातावरण जोगाउने भव्य नाराहरू फुराउँछन् ।

सामाजिक सञ्जालमा अर्ती उपदेश ट्विट गर्छन् , र्‍याली निकाल्छन् अनि सेमिनार, लन्च र डिनर गरेर वातावरण दिवस भव्यतापूर्वक सफल भएको समाचार भँगेराटाउके शीर्षकमा अखबारमा छापिन्छन् । 

जलवायु परिवर्तनको प्रभावबारे भिडियो, समाचार बनाउँदा खर्च भएको १० रुपैयाँमा नाफा जोडर ५० रुपैयाँ असुली पकेट गरम बनाउँछन् । यस्ता महान् ‘खेती’ गर्नेहरूको जमात आइएनजीओ, मन्त्रालय, विभाग, विश्वविद्यालय, एनजीओ र विद्हरू छ्यासछ्यास्ती भेटिन्छन् ।

तर प्रकृतिले नै दिएको हामीले जोगाउन नसकी रहेका यस्ता साधनस्रोतमा हामीले नाक फुलाउनु, गर्व गर्नुको कुनै अर्थ छैन । प्रकृतिबाट हामीले बिनापरिश्रम पाएका वस्तुमा के घमण्ड गर्नु ? गर्व त त्यस्तोमा गरिन्छ जुन मेहनत गरेर पसिना बगाएर हासिल गरिन्छ ।

यसैगरी आजको महान् चाड मनाइने मेरो अनुमान छ। मानिस, जीवजन्तु र वनस्पति प्राकृतिक तवरबाट बाँच्नका लागि वातावरण, चाहिने हो । तर यसको दुरूपयोग गरिनु र बचाउने बहानामा अत्यधिक दोहन र विध्वंश गर्नु कति न्यायसंगत छ, प्रश्न यहाँ उठ्छ ।

यी सबै व्यंग्य छाडौं र हामीलाई थाहा भएका सामान्य तथ्यको कुरा गरौं । १ लाख ४७ हजार १ सय ८१ वर्ग किलोमिटर क्षेत्रफलको हाम्रो देशमा ५ हजार ६७ प्रकारका वनस्पति, करिब ९ सय प्रकारका चराचुरुंगी, २ सय ८ प्रकारका स्तनधारी पाइन्छन् ।

साथै ७ हजार प्रजातिका फूल फुल्ने बिरुवा, २ सय ४६ प्रकारका जडिबुटी, ४ सय प्रजातिका बाली, ६० प्रजातिका जंगली फलफूल पनि पाइन्छन् ।

यसबाहेक पनि १ सय ८६ प्रजातिका माछा, ५ हजार प्रजातिका कीराफट्यांग्रा, ६ सय ५३ प्रकारका पुतली, ३ हजार ९ सय राति उड्ने पुतली (मोथ) र २ सय प्रजातिका माकुरालगायत जीव पाइन्छन् । यी सबै तथ्यका आधारमा नेपाल जैविक विविधताका दृष्टिकोणबाट विश्वको ३१ औं राष्ट्रमा पर्छ ।

८ हजार ८ सय ४८ मिटर अग्लो विश्वको सर्वोच्च शिखर सगरमाथा, विश्वकै होचो अरुण उपत्यका, सबैभन्दा उचाइमा रहेको माछा पाइने र नपाइने तालदेखि लिएर समुद्र सतहदेखि ५८ मिटर मात्र उचाइमा रहेको ठाउँ मुसहरनीयाँ हाम्रै देशमा छन् ।

२ सयदेखि ३ सय किलोमिटर चौडाइमा समुद्र सतहबाट ५८ मिटरदेखि करिब ९ हजार मिटर उचाइसम्मका भूभाग विश्वका अन्य देशमा फेला पार्न कठिन छ । यति धेरै भौगोलिक र प्राकृतिक विविधता भएको हाम्रो देशमा यी सबैको समुचित व्यवस्थापन, उपयोग र वितरण शून्य जस्तै छ ।

भएका स्रोतसाधनको सदुपयोग गर्न नजानेका हामीले कहिले सिक्ने ? यो कस्तो विडम्बना ?

तर प्रकृतिले नै दिएको तर हामीले जोगाउन नसकी रहेका यस्ता साधनस्रोतमा हामीले नाक फुलाउनु, गर्व गर्नुको कुनै अर्थ छैन । प्रकृतिबाट हामीले बिनापरिश्रम पाएका वस्तुमा के घमण्ड गर्नु ? गर्व त त्यस्तोमा गरिन्छ जुन मेहनत गरेर पसिना बगाएर हासिल गरिन्छ ।

त्यसमाथि पनि हामीले पाएका यी प्राकृतिक वरदान जोगाउन सकेर हामीभन्दा पछिका पुस्तालाई दिन सके पनि ठूलो उपलब्धि हुनेछ ।

मलाई लाग्छ, हामीले सकिनै लागेको वनजंगल, पग्लिँदै गएका हिमनदी र हिमटाकुरा संरक्षणको कुरा त परै जाओस्, सरसफाइको सानो कामसमेत गर्दैनौं । हामीलाई सजिलो लाग्ने काम मात्र गर्छौं, गर्नुपर्ने साना साना काम पनि गर्दैनौं ।

जस्तै चकलेट, चाउचाउ र बिस्कुटका खोल, सुन्तला र केराका बोक्रासमेत छेउछाउका डस्टबिनमा खसालेनौं, सडकमा वा जता पायो त्यतै फ्याँक्यौं । कतिपटक सागसब्जी केलाएको बोक्रारफोहोर झ्यालबाटै बाहिर हुत्यायौं, कतिपटक बाली नास गरेको भन्दै वा स्वादका लागि जंगलका पशुपक्षी (बँदेल, मृग, तित्रा, कालिज) को सिकार र्गयौं। 

अनि कतिपटक खेतीका लागि उब्जाउ जमिन तयार पार्न वनमा आगो नै लगायौं । कतिपटक घर बनाउन, फर्निचर बनाउन, दाउरा बाल्न रुख ढालेर ल्यायौं । यी सबैले प्रकृति र इकोसिस्टम ध्वंश हुन्छ भन्ने जान्दाजान्दै पनि अझै आर्थिक लोभमा अतिचार दोहन गरिरहेका छौं ।

हामीले यसरी गरिरहेको प्रकृति दोहनलाई लोककथाको ‘सुनको फुल पार्ने कुखुरा’ काटेर एकैपल्ट सबै अन्डा निकाल्ने पात्रभन्दा फरक हुने छैनौंं । र त्यो दिन समग्र प्राणी, मानव र पृथ्वीका लागि कति भयावह हुन्छ कल्पना गर्न पनि कठिन छ । अन्त्यमा सबैमा विश्व वातावरण दिवसका अवसरमा शुभकामना ।

‘ह्याप्पी बायोडाइभर्सिटी डे’ लेखलाई विश्व वातावरण दिवसका दिन सम्पादन गरेर प्रकाशन गरिएको – द नेपालटपमा प्रकाशित मिति २०७६ जेष्ठ २२ गते।

Monday, June 10, 2019

सम्झनामा, आधुनिक बार्सिलाेनाका डिजाइनर

विकास र समृद्धि नाराले होइनलगनशिलताले ल्याउँछ भनेर बुझ्नलाई कुनै पनि यूरोपेली सहरको कहानी पढे पुग्छ ।

अठारौं शताब्दी पछि युरोपको यात्रा आजसम्म यसरी अगाडि बढेको छ जसले हामी जस्तो विकासशील मुलुकमा बस्ने मानिसलाई एकपटक सोच्न बाध्य बनाएको छ ।

धेरै लामो समयसम्म धार्मिक भुमरिमा गुँथिएको युरोप सत्रौं र अठारौं शताब्दिमा यसरी परिवर्तन भयो यसको प्रभावमा विश्वले नै नयाँ आयाम पायो। साथै भयंकर ठूला युद्ध समेत निम्त्यायो ।

यस्तो परिवर्तन एक मानिसको मात्र योगदान होइन यसमा इतिहसकार, रचनाकार, लेखक र शाशक जस्ता धेरै मानिसका आहुती परेको छ ।

युरापेली इतिहसकार, रचनाकार, लेखक र शाशकका मात्र कुरा हामिले धेरै सुन्नेगरेका छौं। आज यी सबैमाझ ओझेलमा परेका स्पेनिस आर्किटेकचरको कुरा गरौं।

उनी हुन् एन्टोनी गौडी जसले मोडर्न बार्सिलोनाको सुरुवात गरे। सन् १८५२ मा क्याटलोनियाँमा जन्मेर उनले बार्सिलोनालाई कार्यथलो बनाएका थिए ।
Image result for antoni gaudi

गौडीले विश्वविद्यालयको समयमा नै विश्वका विभिन्न ठाउँका वास्तुकलाको अध्ययन गर्न फोटाको सहयोग लिएका थिए ।

उनले भारत, इजिप्ट, जापानका साथै मायान र ग्रिक समाजको अध्ययन गरे। यस्ता अध्ययनबाट पाएको ज्ञानको हिस्सा उनले आफ्नो कौशलतामा प्रयोग गरेका थिए ।

यसको परिणामस्वरुप प्रकृतिक दृष्यलाई कलामा उतार्ने अनुपम ज्ञान उनले प्रयोग गरे । उनले जुन उपहार स्पेनलाई दिएर गए यसले विश्वलाई चकित बनायो ।

उनले सुरु गरेका सानाभन्दा साना कुराहरु पनि हाल बार्सिलोनाको पहिचानमा महत्वपूर्ण भूमिका खेल्छन् ।

प्रकृति र वास्तुको मिलन गराउन सक्ने कलालाई उनले बार्सिलोनाको क्रान्तिकारी परिवर्तनको मुल औजार बनाएर प्रस्तुत गरे । परम्परागत शैलीलाई तोडेर नयाँ इतिहारको रचना उनले गरेका थिए ।

मोडर्न वास्तुकलाको पिता भनेर उनलाई चिनिन्छ । दशैं शताब्दी देखि प्रचलित गोथिक आर्किटेक्चरलाई नयाँ तरिकामा प्रस्तुत गर्ने श्रेय उनलाई नै जान्छ । स्पेनमा हाल पर्यटकिय क्षेत्रका रुपमा रहेका साग्रादा फेमेलिया, पार्क ग्वेल, ला पद्रेरा र कासा बाट्लो उनका कलाका जीवन्त नमुना हुन्। त्यहाँ जाने जो कोहिले पनि गौडीको मनभरी प्रशंसा नगरी फर्किनै सक्दैनन् ।

विज्ञान र प्रविधिको विकास नहुँदै उनको सोच र कार्यमा यसरी परिवर्तन आयो जसको गहिराई र भाव बुझ्न अरु आर्किटेक्चरलाई लामो समय लागेको छ ।

उनले सुरु गरेको ‘सग्रादा फेमेलिया’ चर्चको  पूर्णरुप अझै तयार भैसकेको छैन। तर सम्पन्न भएपछि फेमेलिया यस्तो सम्पदा बन्नेछ जसलाई बनाउन करिब डेढ सताब्दि लाग्यो । सन् १८८२ मा सुरु भएको यो सम्पदाको निर्माणमा गौडी एक वर्ष पछाडि लागेका थिए ।

तर, उनले आफ्नो जीवनकाल भरी काम गर्दा यसको १५–२५ प्रतिशत मात्र काम सकिएको थियो । गौडीलाई थाहा थियो कि उनको जीवनकालमा यो सबै निर्माण सम्भव छैन त्यसैले यसवारेका विवरण सुरक्षितसाथ राखेका थिए ।

यो चर्च निर्माणमा यति समय लाग्नुको अर्को कारण हो सन् १९३६ को गृहयुद्ध जसमा पहिले बनेका संरचनालाई ध्वस्त बनाइएको थियो ।

आजको ‘सग्रादा फेमेलिया’ गौडीले बनाएको भवन होइन । उनले संकलन गरेका र बनाएका चिजबिजको भग्नावशेष संग्राहालयमा मात्र देख्न पाइन्छ ।

Image result for antoni gaudi
बेसिलिका भनेर चिनिएको उक्त चर्च पुरानो समयमा कानुन निमार्ण गर्न र ठूला बैठक गर्नसमेत प्रयोग गरीन्थ्यो ।

प्राय चर्चबाटै शासन चलाईने उक्त समयमा राज्यसत्ताको अभिन्न अंग यस्ता धार्मिक स्थलहरुलाई लिने गरीएको त हामीले सुन्दै आएकै छौं । यो चर्चको पुरा निर्माण गौडीको मृत्यु भएको सय वर्ष अर्थात् सन् २०२६ मा सकिने छ ।

यसका अलावा गौडीका अन्य ६ निर्माण विश्व सम्पदा सूचीमा सुचीकृत छन् । ती हुन : परक गुलेल, पलासियो ग्यूएल, कासा मिला, कासा विकेन्स, कासा बाटलो र कोलोनिया गेल ।

Image result for antoni gaudi
विश्वमा यस्तो महान योगदान दिन सक्ने गौडी हामीमाझ छैनन् उनले सन् १९२६ जुन १० को दिन संसारबाट प्राण त्याग गरे । उनको विदाइमा ला सग्रादा फेमिलियाको निर्माणाधिन भवनमा ठूलो भिड लागेको थियो ।

आज २०१९ जुन १० तारीक एन्टानी गौडी स्वर्गवास भएको ९४ वर्ष पुरा भएको छ । र उनको सम्झनामा मैले यो लेख तयार गरेको हुँ ।

(यो लेख 'द नेपालटप' अनलाई पत्रिकामा प्रकाशित छ।)