Feature

अनुभुति : इटहरी पारायण र मेरो प्रेम

इलाम बाट विर्तामोढ र त्यहाँ बाट २ घण्टा बसमा दौडेपछि इटहरी पुग्यौं । इटहरी पारायण ०६३ मा। आजपनि  त्यो बेलाको धमिलो याद मानसपटलमा कतै लुकेर...

Saturday, July 11, 2020

Review : ‘डायरी अफ अ योङ गर्ल’

दोस्रो विश्वयुद्धको चपेटामा परेका बालबालिकालाई प्रमुख दुई कुराको चिन्ता हुन्थ्यो। एक– युद्ध किन भएको होला? अर्को– अब कहिले आनन्दपूर्वक खेल्न पाइएला ?

विपन्न बालबालिका भने ‘खान पाइन्छ कि पाइँदैन’ भन्ने चिन्तामा हुन्थे।

यहुदी परिवारकी १३ वर्षीया एन फ्रांक निकै चिन्तित थिइन्। युद्ध अवधिभर जर्मन सेनाबाट जोगिने कामना गरिरहन्थिन् उनी।

दिनहुँजसो हिटलरका सेनाले हजारौं यहुदीलाई ‘ग्यास च्याम्बर’ लगेर मारिदिन्थे। कतिलाई श्रम शिविरमा राखिन्थ्यो। कतिलाई त डेथ मार्च (मृत्यु यात्रा) मा छोडिन्थ्यो।

एन हल्यान्डको राजधानी आमस्टार्डमस्थित यहुदी स्कुलमा पढ्थिन्। उनी जर्मन सेनासँग निकै भयभीत थिइन्।

उनी बसेको अति गोप्य घरमा अरु सात जना बस्थे। उनकी दिदी, आमाबुवा र छिमेकीका तीन जना (अर्मन भान, पेत्रोनेला भान र छोरा पिटर)। एक दन्त चिकित्सक अल्बर्ट डुसेलले पनि उनीहरुको गोप्य घरमा आश्रय लिएका थिए।

घरमा रेडियो राख्न प्रतिबन्ध थियो। समाचार सुन्न उनीहरूले एउटा रेडियो लुकाएर राखेका थिए। बेलामौकामा त्यही सुन्थे।

सासले बोल्नुपर्ने हुन्थ्यो। एन सानो स्वरमा बोलेर सबैलाई हँसाउने प्रयास गर्थिन्। तर उनको बोली धेरैलाई मन पर्दैनथ्यो। बकबक गरेको भनेर उनलाई सबैले गाली गर्थे।

गोप्यवास चल्दै गर्दा उनलाई परिवारबाट टाढा भएको महसुस हुन थाल्यो। भित्री कुरा सुनाउन लायक व्यक्ति भेट्न छोडिन्। परिणामस्वरूप उनको डाइरी जन्मियो– ‘डाइरी अफ योङ गर्ल।’ यो जुन, २५ १९४७ मा प्रकाशित भएको थियो।

मस्तिष्कमा बुवाआमाले जे भरिदिए, एनले त्यही सिकिन्, बुझिन् र तिनै अनुभव लिपिबद्ध गरिन् डायरीमा।

धेरैलाई लाग्न सक्छ– दुई वर्षभित्र एउटै घरभित्र त्रासमा रहेर के लेख्न सकिन्छ? एनको डायरी पढेपछि घरभित्रै बसेर धेरै कुरा गर्न सकिँदो रहेछ भन्ने बोध हुन्छ।

‘डायरी अफ अ योङ गर्ल’ एउटी किशोरीको दैनिकी हो। दोस्रो विश्वयुद्ध बेला बालबालिकाले भागेको मानसिक अवस्था यसमा अभिव्यक्त छ।


डायरीका केही अंश 

१. युद्धबाट जोगिन एनको मनमा प्रश्न उठछ– ‘कहाँ जाने? कुन सहरमा? गाउँमा? कुन घरमा? कटेजमा? कहिले? कसरी? कहाँ? यस्ता प्रश्न सोध्ने अनुमति मलाई थिएन। तर, म तिनलाई दिमागबाट हटाउन पनि सकिरहेकी थिइनँ।’ (८ जुलाई १९४२)

२. खानेकुराको अभाव भएपछि उनले ५ अगस्ट १९४३ मा लेखिन्, ‘निद्रामा परेका डुसेलको अनुहार हेरेर भन्न सकिन्छ, उनी मिठो खाना खाएको सपना देखिरहेका छन्।’

३. त्यसको भोलिपल्ट उनले डायरीमा आक्रोश पोखेकी छन्। घरका ठूला मान्छे मात्र जान्नेबुझ्ने भइटोपल्ने परम्पराको विरोध गरेकी छन्– ‘डुसेल खाना खाँदा पनि बोलिरहेका हुन्छन्। हरेक विषयमा आफ्नो विचार राख्छन्। उनले बोलेको कसैले खण्डन गर्दैन। कसैले उनको कुरामा प्रश्न उठाउने साहस गर्याे भने झनक्क रिसाउँछन्– बिरालो ङ्यार्र गरे जसरी। त्यसैले म उनीसँग तर्क गर्दिनँ। उनलाई सधैं जित्नुपर्छ। उनी संसारमा सबैभन्दा जान्ने छन्।’

४. ‘बुवाका निम्ति आलु ताछ्नु साधारण काम होइन। सीप आश्यक पर्ने उच्च स्तरको काम हो। उहाँ एकाग्र भएर आलु ताछ्नुहुन्छ। त्यसबेला म बुवाको अनुहार नै आलु जस्तो देख्छु। उहाँ असाध्यै राम्ररी आलु ताछ्नुहुन्छ।’ (१८ अगस्ट १९४३)

५. परिवारमा देखा परेको समस्याबारे उनले लेखेकी छन्– ‘यहाँ हामीबीचको सम्बन्ध झन्झन् खराब हुँदै गएको छ। खाना खाने समयमा कोही पनि मुख खोल्ने (गाँस हाल्ने बाहेक) हिम्मत देखाउँदैन। कसैले केही भन्यो भने कि त कोही रिसाइहाल्छ कि त त्यो भनाइको गलत अर्थ लगाइन्छ।’ (१३ सेम्टेम्बर १९४३)

६. घरभित्र हुर्किंदै गरेका किशोरी सबै कुरामा सबैसँग खुल्न सक्दैनन्। यस्तैमध्ये एक हो यौन जिज्ञासा। एनको शंका यस्तो छ, ‘जब यौनका कुरा आउँछ, मान्छे असहज बन्छन्। अभिभावक बाह्रतेह्र वर्षका छोराछोरीलाई यस विषयमा सबै कुरा बताउनुको साटो कुरा चल्नेबित्तिकै कोठाबाहिर लखेट्छन्। त्यसैले केटाकेटीले यौनका कुरा आफ्नै भरमा जान्नुपर्ने हुन्छ।’ बाआमा आफ्ना सन्तानले धेरथोर जानिसकेको अनुमान गर्छन्।’ (१८ मार्च १९४४)

७. सुरुमा पिटरसँग नखुलेकी ऐन पछि उनीसँग खुबै मिल्छिन्। एन मनका कुरा आमाबाबुसामु व्यक्त गर्न सक्दिनन्। किनकि उनलाई आमाबाबुप्रति विश्वास लाग्दैन। ‘पिटरसँग हामीले अभिभावकलाई विश्वास नगरेको विषयमा कुरा गर्यौं। उसले बाआमामाथि भरोसा गर्न नसकेको बतायो। मैले म कसरी ओछ्यानमा पल्टेर रुन्छु, दिदीसँग किन खुलेर कुरा गर्दिनँ आदि...सुनाएँ। उसले आमाबुबासँग रिस उठेपछि ऊ कसरी मचानमा गएर गाली गर्न भन्ने सुनायो। कल्पना गर्न सकिने जति विषय हाम्रो कुारकानीमा आए। ओहो ! ऊ त ठ्याक्कै मैले सोचेजस्तै रहेछ!’ (१० मार्च १९४४)

८. ‘१९४२ को जुलाईमा यहाँ आएदेखि मैले एक दिन पनि सुबिस्तासँग बिताउन पाइनँ। म अप्ठ्यारोमा पर्दा तपाईंहरु (परिवारलाई सम्बोधन गर्दै) ले आँखा चिम्लिनुभयो र कान थुन्नुभयो। मलाई सहयोग गर्नुभएन। बरु हल्ला नगर्न र झगडालु नबन्न चेतावनी मात्र दिनुभयो। सधैंभरि दुःखी नबनौं भनेर मात्र म झगडालु बनेकी थिएँ। झन्डै डेढ वर्षसम्म हरेक दिन मैले स्वाङ गरिरहेँ। तर यसको संकेत कहिल्यै दिइनँ। यी सारा संघर्षले मलाई सशक्त बनाएकाले अब मलाई आमाको आवश्यकता छैन।’ (५ मे १९४४)

९. ‘भोलिसम्ममा मेले ग्यालिलियो ग्यालिलीको पहिलो खण्ड पढिसक्नुपर्नेछ। यसलाई पुस्तकालयमा फिर्ता गर्नुपर्ने बेला भइसक्यो। यो हिजो मात्र सुरु गरेकी हुँ तर जसरी पनि सक्नुपर्नेछ। अर्को साता ‘प्यालेस्टाइन एट द क्रसरोड’ र ग्लालिलीको दास्रो खण्ड पढ्नुपर्नेछ। हिजो सम्राट चाल्र्स पाँचौँको जीवनीको पहिलो खण्ड पढिसिध्याएँ... साथै धेरै पोस्टर पनि मिलाउनु छ।’ (११ मे १९४४)

ऐनले दुई वर्षको गोप्यवासमा धेरै झमेला बेहोरिन्। तापनि उनले सबै काम तालिका बनाएर गरेकी छन्। पढ्ने, गफ गर्ने, सुत्ने, खाने, खेल्ने, चित्र बनाउने, पढ्ने, पोस्टर टाँस्ने, उक्काउने र फेरि टाँस्ने समय मिलाएकी छन्।

यतिबेला कोरोना महामारीले विशेष उमेर समूहमा पार्ने प्रभाव युद्धको भन्दा कम छैन। संक्रमण जोखिमका कारण धेरै मुलुकका विद्यालय बन्द छन्।

विद्यार्थी स्वतन्त्र छन्। कतिलाई स्कुल कहिले खुल्ला भन्ने चिन्ता छ। कतिपयलाई सधैं यसरी नै बस्न पाए हुन्थ्यो भन्ने पनि लागेको होला।
विश्वयुद्धको समयमा यस्तो सहज थिएन।

दोस्रो विश्वयुद्धजस्तो समय रहेन...

प्रविधिले धेरै विकास भएको विश्वमा समय परिवर्तन भएको छ। साना उमेरका मानिसले मोबाइल र कम्युटरमै समय बिताइरहेका छन्। रेडियो सुन्ने असाध्यै कम छन्।

कोरोना लकडाउनसँगै हामीले सामाजिक सञ्जालमा धेरे ध्यान दिन थाल्यौँ। त्यसमै खेल खेल्न थाल्यौँ। १०–२० हजार कमेन्ट पुर्याउन व्यस्त बन्यौँ। केटालाई केटी र केटीलाई केटाको भेष बदल्न थाल्यौँ।

फोटो कम्पिटिसन गर्न थाल्यौँ। कसैलाई जितायौं, कसैलाई हरायौं। डार्क, भाइकिङ, रामायण, गेम अफ थ्रोनजस्ता फिल्म हेरेर समय बिताउन थाल्यौं। सामाजिक काममा हाम्रो उपस्थिति हुनै छाड्यो। लकडाउन आफैंमा प्रतिकूल समय हो। तर हामीले यसलाई थप निराशाजनक बनायौँ।

सिकागो विश्वविद्यालयकी स्नायु एवम् मनोचिकित्सक स्टेफनी क्यासिओप्पो भन्छिन्, ‘अहिले तपाईं एक्लो हुनुहुन्छ र तपाईंसँग विकल्प छैन भने या दिनभरि निराश भएर बस्नुहुन्छ वा त्यसलाई उपयोगी र उत्पादनमूलक बनाउनुहुन्छ। त्यो तपाईंमै भर पर्छ।’

क्यासिओप्पोको सुझाव छ, घरमै बसेर समयलाई व्यवस्थित र गुणस्तरीय बनाऔं।

एकान्तबासमा मानसिक समस्या आउन सक्छ

मानिस समाजमा रमाउन चाहन्छ। आइसोलेसन हाम्रो चाहनाविपरीत छ। विभिन्न अध्ययनअनुसार अन्टार्टिकामा जाने मानिसले एक्लोपनाका कारण निकै असहज महसुस गरेका थिए।

अमेजनमा अनुसन्धानका लागि हप्तौंसम्म एक्लै बसेका इजरायली लेखक योसी घिन्स्बर्गले एक्लोपनको सिकार भएको बताएका छन्। उनले त्यहाँ रहँदा समय बिताउन काल्पनिक साथी बनाउनुपरेको थियो। एक्लोपनले मानसिक र शारीरिक स्वास्थ्य बिगार्ने उनको अनुभव छ।

गत वर्ष अमेरिकामा गरिएको एक अध्ययनमा आइसोलेसनमा बस्दा सुत्ने–उठ्ने समयमा परिवर्तन आएको भेटिएको थियो। एक महिनासम्म अँध्यारो कोठामा बस्छु भनेर सुरु गरेका अमेरिकी पोकर खलाडी रिकार्ड अलाती २० दिनभन्दा बस्न सकेनन्।

त्यसरी बस्दा हेलुसिनेसनको सिकार भएको उनले बताए। एकान्तवासमा बस्ने धेरै मानिसमा मानसिक समस्या आउँछन्। यसपछि दिमागको कार्य क्षमता, निर्णय क्षमता र भण्डारण क्षमतामा कमी हुन्छ।

कैदीमा पनि यस्ता समस्या हुन्छन्। अरु मानिससँग डराएर उनीहरुको सोच्न सक्ने क्षमतामा कमी आउँछ। यसकारण आइसोलेसन मानवविरोधी क्रियाकलाप साबित भएको छ।

१० वर्षको उमेरमै अपहरणमा परेर ८ वर्षसम्म आइसोलेसनमा राखिएकी अस्ट्रेलियन महिला नतास्चा काम्पुसले आफ्नो आत्मकथामा एकान्तमा बस्दा मानसिक अवस्था धेरै कमजोर भएको बताएकी छन्।

व्यंग्य : बेसारोपदेश

प्रिय खेलाडी,

तिमी बेसार खाऊ ! बेसार खाऊ भनेर आग्रह गर्दा तिमीलाई अचम्म लाग्ला। तर अचम्म नमान्नु। बेसार सर्वगुण सम्पन्न खाद्य पदार्थ हो। यो एन्टिबायोटिक पनि हो। खेलाडीको मस्तिष्कको विकासका लागि यो अत्यावश्यक छ।

खेलाडीले शारीरको अझ धेरै ख्याल गर्नुपर्ने हुन्छ। त्यसैले तिमीले अझै धेरै बेसार खानु। खान मन लाग्दैन भने जिउमा दल्नु। त्यो पनि मन लाग्दैन भने सिरानी मुनि राख्नु। त्यति पनि नसके किचेनमा राख्नु।

तिमीलाई कुनै उपाय मन परेन भने बेसार सम्झेर, मम भन्नु। यसले मनोवैज्ञानिक रुपमा बेसार खाएँ भन्ने लाग्छ र आत्मबल दह्रो हुन्छ।

मैले अघि पनि भने बेसार सर्वगुण सम्पन्न मसला हो। यसले सरुवा रोग त छेउसम्म पर्न दिँदैन। साधारण रुघाखोकी जस्ता अन्य रोगहरुसँग पनि डराउनु पर्दैन। तिनीहरु त आउँछन् जान्छन्। बेसार खाएर हाच्छ्युँ  गरिदिनु, तिनीहरु आफैं उडेर जान्छन्। गफ ला‘को होइन सँच्चै उडेर जान्छन्। बस् तिमीले तातोपनी खनु हाच्छ्यूँ–साच्छ्युँ गरिदिनु।

अब तिमीले चोट लागेर खेलबाट बाहिरिने दिनहरु सकिए। क्रिेकट बलर ! तिमी सुन, अरु देशप्रेमी, बेसारप्रेमी खेलाडी पनि सुन। फुटबल खेलाडीहरुले पनि लौ सुन, चोटले सताइरहन्छ होइन ? अब तिमीहरु कसैलाई यस्तो समस्या पर्दैन्। क्रिकेट फुटबल मात्र होइन भलिबलमा पनि यो तत्व असाध्यै काम लाग्छ। भलिबलका चोट लागेका खेलाडी सबैले सुन। मेरो यो आग्रहलाई अन्यथा नलिनु। मान्नु। र, बेसार खानु।

तिमीहरु सबैले बेसार खानु। तिम्रो फिजियोले, डाक्टरले यसलाई अन्यथा भन्न सक्छन्। मैले भनेको ध्रुवसत्य कुरालाई विदेशी मिलेर भ्रम फैलाउन खोज्लान। उनीहरुले रिसर्च गरेको भनेर तिम्रो फिजियो र डाक्टरलेजस्तै कुरा गर्लान। तर नपत्याउनु। उनीहरुले केही पनि जानेका छैनन्।

पश्चिमाहरु साच्चैकै बेवकुफ हुन्। उनीहरुको सिटामोल भन्दा हाम्रो बेसार कति गुणा राम्रो छ। जाबो सिटामोलले त टाउको दुखेको मात्र ठिक गर्छ। बेसारले साधाराण जोर्नी दुखाई देखि डिप्रेसनसम्म ठिक गरिदिन्छ। अब डिप्रेसनले कोही मर्नु पर्दैन।

त्यसैले तिमीले आजैबाट बेसार खानु। बल गरेरै खानु।

सरकारले यति लामो समयसम्म लकडाउन गरेको छ। खेल गतिविधि ठप्प छन्। तर तिमीहरु चिन्ता नलेऊ। यो तिम्रो चिन्ताको विषय होइन। तिम्रो चिन्ताको विषय हो फिटनेस। खेलका लागि तिमी फिट रहन जति जरुरी छ, तिम्रो फिटनेसको लागि बेसार त्यतिनै जरुरी छ।

त्यसैले तिमीले अब बेसारमा फोकस गर्नु। बेसार खाएपछि जाबो २÷४ वटा डल्ला फ्याँक्ने, मुंग्रो हान्ने, स्पाइकिङ गर्ने, खुट्टाले बल गुडाउने, मुक्का र लात्ति हान्ने काम त आफैं आउँछ। बेसार खाएपछि शरीर नै जगमग–जगमग भएर आउँछ। भित्रैबाट इनर्जी आउँछ्। र, नेपालले विश्वकप जित्छ।

तिमीलाई थाहा छ ? गत फेब्रुअरीमा अष्ट्रेलियाले महिला विश्वकप जित्यो, केही दिन अघि मात्र बायर्नले बुन्डेलिगा जित्यो। पाहोर साल लिभरपुलले च्याम्पियन्स लिग र म्यान्चेस्टर सिटीले ईपीएल पनि बेसार खाएरै त जितेका हुन्।

मैले तिमीहरुलाई मात्र होइन एकपटक मेरा गाउँले लाई पनि यस्तै कथा सुनाएँ। त्यसपछिको मेरो जयजयकार त... ओको ! विर्सनै नसकिने पो थियो। तर एक जनाले विचमा टोकिहाले, कुन अन्तर्राष्ट्रिय खोजकर्ताले यस्तो भने ?

त्यतिबेला म मनमनै खुब हाँसे। मलाई उनी खुब मुर्ख लाग्यो। मैले उनलाई भनिदिएँ ‘मैले भनेपछि कुनै अन्तर्राष्ट्रिय खोजकर्ताको पुष्टी खोज्नु जो कोहीको पनि मुर्खता हो।’

के मेले गलत भनेँ ?

मेरो यो महान स्वास्थ्य टिप्स कसैले नकार्न सक्छ ?

सक्दैन ! कसैले सक्दैन !

यस्तो विचारको लागि मलाई मन्दिरमा राखेर पुजा गरिनु पर्छ। पवित्र बेसार र तातोपानीले अभिषेक गरिनु पर्छ। मलाई लाग्छ अब यो बेसारोपदेश नयाँ धर्म बनेर सबै खेलाडीले स्विकार गर्नु पर्छ।

त्यसैले म आह्वान गर्छु आऊ, बेसार खाऊ बुद्धि बाढाऊ, अध्यात्म जगाऊ। तर तर्क नगर।

बेसारोपदेशको मध्य खण्डमा म आग्रह गर्दछु कि – मैल भनेको मात्र मान। मैले भनेको मात्र सुन्। मैले भनेको मैले जसरी नै बुझ। तथ्य खोज्ने भन्दै मेरो भनाईमाथी कसैले शंका नगर।

मैले बेसार उब्जाउका लागि १० अर्ब लगानी गरेको छु। यसको चर्चा चौध लोकमै हुनु पर्छ। ब्रह्माजी देखि चित्रगुप्त सबैले थाहा पाउनु पर्छ भनेर मैले किताब प्रकाशन गर्ने विचार गरेको छु। जसमा बेसार कसरी रोप्ने देखि कसरी केलाउने सम्म सबै ज्ञान हुने छ।

तिमीलाई यी सबै कुरा झन्झट लाग्छन् ? यस्ता सबै समस्याबाट पार पाउन चाहान्छौं ? उसोभए एक फाँको बेसार खाऊ। हाच्छिउँ–साच्छिउँ गर। सबै ठिक भइहाल्छ।

यसमा हाम्रा साथीहरुले थप अभ्यास गरेर डिजिटल बुट्टी ल्याउनु भएको छ। यसलाई ‘भाइरस रिमुभिङ कार्ड’ नाम दिइएको छ। त्यो लगाउनुहोस्। रुघाखोकीले छेउ पनि भेट्दैन्।

सायद तिमीलाई त यतिले पुग्छ होला भन्ने मलाई लाग्छ। तर तिम्रो संघको अवस्था हेर न लगभग सबैले राम्ररी काम नै गर्न सकेको छैन्। यसको विवाद देख्यौ भने तिमीलाई रन्को छुट्ला।

सकुनी र पाँच पाण्डवको गेम जस्तो लाग्छ काइ कोइबेला हाम्रे खेल संघको अन्तरंग चित्र। त्यसमाथी खेल परिषद्मा दर्ता भएका झोले संघ देख्दा त दिक्दारै लागेर आउँछ।

यसकारण मैले एक जन्म जन्मान्तर काम लाग्ने उपाय सोचेको छु। अब सबै खेल संघलाई विघटन गरिने छ र मेरो नेतृत्वमा ‘अखिल बेसार खेलकुद संघ’ गठन गरिने छ। त्यसपछि तिमीहरुले त्यहाँबाट बेसार÷जन्तर बुट्टीको सुविधा पाउने छौ। फलतः नेपालको खेलकुदले शिखर चुम्ने छ।

त्यति मात्र कहाँ होर ! अब पुरस्कारको स्तरले पनि अधिक उचाइका लिने छ। पहिलो हुनेले स्वर्ण पदक पाउने छैन। बेसार पदक पाउने छ। सुन्यौ होइन ? बेसार पदक।

मैले तिमीहरुलाई पटक पटक भनेको पनि छु, म एक सशक्त खेलाडी पनि हो। मैले ऊ बेलामा बेसार खाएर पौडी खेल्न जाँदा सबै मलाई देखेर छक्क पर्थे। म साथीहरुलाई मेरै उदाहरण दिन्थेँ। भन्थेँ ‘लौ बेसार खाउ, तिमीले पनि मैले जस्तै खेल्न सक्नेछौं।’

तर हिन्दीमा एउटा उखान छ नि ‘भैसके अगे बीन बजाए, भैंस रहे पगुराय।’ उनीहरुले पनि  मेरो अघि त्यसै गरे। मलाई मजाकमा उडाए। मेरो होली प्रवचनलाई दुषित परिदिए। किनभने तिनीहरु संसारकै एक नम्बरका मूर्ख थिए।

अहो ! म त विषयभन्दा धेरै पर पुगिसकेँछु। तर तिमीलाई म फेरि भन्छु बेसारले सँधै फाइदा मात्र गर्दैन। यो जति औषधि हो त्यतिनै विष पनि हो। अनुचित समयमा यसको सेवन गर्यो भने यसले फाइदा गर्दैन्। बरु हानी गर्छ।

त्यसैले विशेष अवस्थामा मात्र यसको सेवन गर्नु। अन्यथा नगर्नु।

बेसार औषधिका नाममा मोर देन इनफ इज इनफ हो। यो जति खायो त्यति फाइदा। खेती नै गरे पनि मनग्गे खान लाउन पुर्याउँछ। कृषि क्रान्ति हुन्छ।

र, अन्त्यमा म तिमलाई भन्छु। म तिमीलाई असाध्यै माया गर्छु। आशा छ यो पत्र तिमीले चाँडै प्राप्त गर्नेछौं। तर पत्र प्राप्त हुने वित्तिकै मलाई पत्र नलेख्नु। किनभने म तिम्रो बेदना सुन्न सक्दिनँ। त्यसैले तिमीले पत्र नपठाएकै राम्रो।

पठाए पनि मैले पढ्ने छैन्। उसै तिम्रो हात मात्र दुख्ला। बरु मैले भनेको कुरालाई शिरोधार्य गर्नु, यो चिठीलाई मन्दिरमा राखेर पुजा गर्नु, विहानै बेसारको सानो टिको लगाउनु। म तिमीलाई पत्र लेख्दै गर्नेछु। अर्को पत्रको आश गरेर बस्नु।


उही तिम्रो
पिताम्बर