Feature

अनुभुति : इटहरी पारायण र मेरो प्रेम

इलाम बाट विर्तामोढ र त्यहाँ बाट २ घण्टा बसमा दौडेपछि इटहरी पुग्यौं । इटहरी पारायण ०६३ मा। आजपनि  त्यो बेलाको धमिलो याद मानसपटलमा कतै लुकेर...

Tuesday, April 28, 2020

छिमेकीलाई चिठी : अफिस जानुको त मतलबै भएन नी !

प्रिय छिमेकी,
नमस्कार।

आज दिउँसो अफिस जाने र नजानेको काउन्ट बनाइएछ। कोठाको ढोका खोलेर भित्र पस्नेबित्तिकै जानकारी पाउँदा म झसँग भएँ।

अरुबेला सायद यस्तो कुराले महत्व राख्दैन थियो। तर अहिले यही कुराको महत्व बढेको छ। तपाईँले साना भन्दा साना कुराको पनि ख्याल गर्न थाल्नु भएछ। यही ख्यालको चपेटामा म परेँ।

तपाईँलाई थाहा छ ?
Image
२० औं शताब्दीमा हिटलरले जसरी बाहीरबाट आएका यहुदीले जर्मनी सखाप पारे भन्ने सोचेका थिए। आजभोली बाहिरफेर हिँड्ने मानिसलाई ठिक त्यसैगरि सोच्न थालिएको छ।


कसैको जिम्मेवारी कुन तहमा छ। महामारीमा उसले किन काम गर्नुपर्छ भन्ने चेत नभएका २१ औं शताब्दीका मेरो संघर्षका पात्रहरु उसलाई मनमनै ग्याँस च्याम्बरमा हालेर उडाउन उद्यत छन्।

कोरोनाको विश्वयुद्ध चलिरहँदा पौने दुईलाख मानिस चीर निद्रामा गएका छन्। ३० लाख मानिस युद्ध मैदानमा लडिरहेका छन् भने पौने ३२ लाख मानिस युद्ध जितेँ भन्ने लागेर घर फर्किएका छन्।

विश्वमा जस्तोसुकै युद्ध किन नहोस् मारमा पर्ने भनेका डाक्टर, नर्स र सञ्चारकर्मी नै हुन। कि होइन? एकपटक सोच्नु त!

गृहयुद्धमा बन्दुकमुनी बसेर लेख्ने पत्रकार, महामारीमा दिनरात विरामीको उपचार गर्ने नर्सको जीवन कसरी चलिरहेको हुन्छ ?

हजुरलाई फेरि एकपटक सम्झाउँ ?
ल सुन्नुहोस....

अरुको पीडा जस्ताको त्यस्तै बोकेर ल्याउने, सरकार पुलिस र सिडीओ नपुगेको ठाउँमा पुगेर सूचना संकलन गर्ने मान्छे हुन पत्रकार। त्यस्तै विरामीको सेवा गरेर निको पार्ने नर्स डाक्टर, विरामी बढेको समयमा अफ ड्युटी पनि काम गनुपर्ने मेडिकल कर्मचारी लाई आजकल गरिने स्वाभावमा उथलपुथल आउन थालेको छ नी।

त्यस्तै, हाम्रो पेट भर्नका लागि खाद्यान्न लिएर गाडी हाँक्ने ड्राईभरले हाम्रै लागि काम गरिरहेका छन्।

यस्ता प्रोफेसन भएका मानिस बस्ने घरमा ऊ काममा गएकै आधारमा उसले कोरोना भित्र्याउँछ भन्ने हिसाबले ऊ बाट तर्केर हिँड्न थालियो भने उसलाई कति समस्या होला?

सोच्नुभएको छ ?

अझ काठमाडौंको पीडा छुट्टै छ। एकै घरमा कोचिएर, सानो ठाउँमा धेरै भाडा तिरेर बस्नुपर्ने बाध्यता छ।
एकै रेस्टरुम, आँगन, दैलो, बरन्डा जस्ता घरका ठाउँहरु मिलेर प्रयोग गर्नुपर्ने बाध्यता छ। पानी एकै ठाउँबाट भर्नुपर्ने भाँडा एकै ठाउँमा माझ्नुपर्ने। नजिकैको एउटै किराना, डेरी र तरकारी पसल मिलेर प्रयोग गर्दा आपसी सम्बन्धले कति महत्व राख्छ?

यि सबै कुराहरुलाई मिलाउने एकमात्र साधन हो – एक अर्कामा विश्वास । घरभित्र लुकेर बस्नेदेखि, तरकारी बेचेर जीविका चलाईरहेका, घर जान पैदल हिँडिरहेका, सुरक्षामा खटिएका सबैलाई कोरोनोको उत्तिकै भय छ नी होइन ?

पाँचतले घरको भुइँतल्लामा बसेर चिठ्ठी लेखिरहँदा मलाई पनि कोभिडको उत्तिकै जोखिम छ । त्यसको भय उत्तिकै छ ।

मलाई पनि थाहा छ ।

पाँच तल्लाको घरका अधिकांश डेरावाल गाउँ गएका छन ।

घरमुलीबाहेक प्रत्येक फ्लोरका एकदुई कोठाका मानिस मात्र घरमा छौं । घरमा बसिरहेका हामीलाई औंलामै गन्न सकिएला । सामाजिक दुरी कायमै छ । तर पनि तपाईँलाई म प्रति यति डर किन ?

तपाइँहरु जस्तै डाक्टर, नर्स र पत्रकार पनि सामाजिक प्राणी नै हुन । उनीहरुलाई पनि रोगको डर हुन्छ । र सावधान भएर काम गरिरहेका हुन्छन् । 

त्यही भएर छिमेकी महोदयहरु यस्तो बेलामा हाम्रो मनोवल नगिराईदिनुहोस्। सक्नुहुन्छ भने अरुलाई जस्तै सामान्य व्यवहार गरिदिनुहोस्। नभए पनि कर्के आँखा पारेर नहेरिदिनुहोस्।

टाढाको देवताभन्दा नजिकको भूत नै काम लाग्छ भन्ने उखान त्यसै बनेको होइन।

तर, अत्यावश्यक काममा खटिएमा मानिसबाट भयवित बन्यौं भने। उनीहरुप्रति सहानुभुती राख्न छोड्यौं भने। रोगको सुपर स्प्रेडर हामीलाई नै साच्नुभयो भने। काममा खटिएको त मतलबै भएनन नि !

थाहा छ ?

कुनै कुनै देशमा अहिले पनि अरु बेला खेलेर खेल देखाउने खेलाडीहरु कोरोनाविरुद्धको लडाईँमा लडिरहेका छन्। उनीहरुलाई आफ्नो भन्दा पनि देशको धेरै चिन्ता छ। महामारी धेरै नफैलियोस भनेर उनीहरु पनि स्वयंसेवामा लागिरहेका छन्।

अस्ति मात्र क्रिकेटर हेथर नाइट एनएचएसमा जनचेतना फैलाउने काममा लागिन। विश्वप्रसिद्ध रोनाल्डोले आफ्नो होटेल अस्पताल बनाउनका लागि सहयोग गरेका छन्। मेस्सी लगायत धेरै खेलाडीले तलब लिन्नँ भनेर भनेका छन्।

कति सेलिब्रेटिले च्यारिटी सो गरेर लडाईँमा सहयोग गरेका छन्। त्यस्तै कतिपय देशका सरकारले मानिसलाई लकडाउनमा आर्थिक सुरक्षा होस भनेर खर्च गर्न उक्साएका र आर्थिक सहयोग समेत गरेका छन्।

करोडौं अरबौं मूल्य बराबरका काम र आयोजनाहरु रोकिएका छन्। बाहिर शान्त देखिए पनि हजारौं शहरहरु अस्तव्यस्त बनेका छन्। अर्थतन्त्र डामाडोलल बनेको छ। लाखौं मानिसमा भोकमरीको डर छाएको छ। यस्तो बेलामा पनि नर्स, खाद्यान्न ढुवानीका कर्मचारी, पत्रकार लगायतका अत्यावश्यक सेवामा खटिएका मानिसले काम नगरे भविष्य कहाँ पुग्ला ? संसार कसरी चल्ला ?

त्यसैले, म अग्रह गर्न चहान्छु। यदी तपाईँलाई डर छ नै भने। यस्ता अत्यावश्यक काममा खटिएका मानिसहरुबाट टाढै रहिदिनु होला। तर कृपया उनीहरुलाई घृणा नगरिदिनु होला। उनीहरुलाई कोरोनाको सुपर स्प्रेडर नसोचिदिनु होला।

नभए त, अफिस जानुको मतलबै भएन नी।


तपाईँको छिमेकी
धन्यवाद!

Friday, April 17, 2020

दुनियाँभन्दा अर्कै पशुपतिनाथको त्यो साँझ !


गत वर्षको कुरो हो, फल्गुण ९ गते परेको शिवरात्री मेलामा म पनि गएँ ।


मेला भर्न जाँदा मेरो मनसाय ब्लग लेख्नु थिएन । पशुपतिको आरती हुर्नु थियो ।

आरतीसँगै यसपाली भारतबाट ल्याइएका करोडौंको फूलसजावट हेर्न भनि म अफिसबाट निस्किएँ । ५ बजे । प्रमोद वानेश्वर चोकमा पर्खिरहेको थियो ।
सोधें ‘कतिबेर पख्र्यौ ?’

‘छैन । भर्खरै आएको ।’

‘जाऔं होइन ?’

‘हुन्छ’

गाडीमा चढेर पशुपति जान कहिल्यै मन नलाग्ने कुरा भइहाल्यो । चोकको जेब्रा क्रसिङ कटेर हिँडेरै उत्तरतर्फ लाग्यौं । २५ मिनेटमा गौशाला अनि लगत्तै पशुपति गेटभित्र पसियो ।

मानिसको जमघट पोहोरभन्दा कम भएको सबैले आँकलन गरिरहेका थिए । मैले पनि गरिदिएँ ।

तर, एकतमासको रमाइलो थियो पशुपती । प्राङ्गड अरु दिनभन्दा खुलेको थियो । मन भुल्याउनलाई भरिपूर्ण थिए उपलब्ध सामग्री ।

‘मन्दिरको पस्ने लाइन देखेर कति खुसी भए होलान् बाबा पशुपतिनाथ,’ मैले आर्यघाटको पुल तरेपछि सोचेँ, ‘अझ कैलाश डाँडामा भक्तजनले प्रसाद खाइरहेको देखेर खुब मजा लिइरहेका होलान् बूढा।’

माथी गाँजा खानेको ठूलै जमघट थियो । गाँजा खानकै लागि साँझमा मानिसको ठूलो भीड लाग्ने गर्छ।

यता, कानुनमा भने गाँजा खानु राम्रो मानिँदैन ! यो कुलत हो र यसको सेवन गर्नु दण्डनिय पनि छ।

तर, आज एकैछिन भावनामा बगैं....

एकछिनका लागि मानिलिउँ कि गाँजा लागूऔषध होइन ।

यति मान्दामान्दै गाँजाको व्यापार दुई नम्बरी होइन भन्ने पनि सोचिहालौं । भगवान शंकरको प्रिय वस्तु कसरी कानुनविपरित हुन सक्छ ?

साँच्चै भन्ने हो भने – गाँजाले एक प्रकारको आत्मियता प्रदान गर्दछ । बाटामा भेट हुँदा तर्केर हिँड्ने काठमाडौंका मान्छे गाँजा तान्ने ठाउँमा भेटिए भने सात जन्मका दौंतरीझौं गर्छन् ।

गाँजा तानेपछि कुकुरलाई लात्ताले लाग्यो भने भगवानलाई लागेझैं ढोग्न पुग्छन गँजेडीहरु ।

शिवरात्रीमा मानिसले शिवप्रसादलाई यसरी लिन्छन् मानौं त्यो उनीहरुले नैसर्गिक अधिकार हो । र, जाँगा खानु भगवान प्रतिको श्रद्धाभाव हो ।

गाँजा तानेपछि मान्छेले सबैलाई आफ्ना देख्छन, सबैलाई पराया देख्छन् । अनि सुरु हुन्छ ‘ब्रह्म सत्य जगत मिथ्या’ को उदारहण ।

फेरि रियालिटीमै जाऔँ

त्यो दिन, साँझ ६ बजेको थियो।

बाग्मती पारीका बाबाहरुले आफ्ना ग्राहक पाइसकेको थिए । एक बाबा भन्दै थिए, ‘हरियाणका माल हे बहुत तगढा है ।’ साथै गाँजाले कति स्वतन्त्र बनाउँछ भनेर उनी हिन्दीमा गुनगुनाइरहेका थिए ।

‘बाहरके मालेसे बहुत मिठा है ये,’ उनी थप्दै थिए।

प्रमोदले गएर सोध्यो, ‘कसरी ?’

‘हिन्दीमे बोलो भैया’

‘कितनेका हे ये ?’

‘एकका ५० । नेपाली ५० हे’

‘दो देदो’

‘ये ले लो। सौ रुपैयौँ होगया ।’

‘पैसा । लाइटर किदर है ?’

‘लाइटर नहिँ माचिस है’

सलाईले चुरोटमा भरिएको गाँजा सल्काउँदै बिवेकले भरिएको अर्को ठूटो मलाई दियो। मैले पनि सल्काएँ। उसले भन्यो, ‘माल रै‘छ यार ।’

मैले पनि चाखे । खै कस्तोलाई ‘माल’ भन्ने हो थाहै भएन। दुई सर्को पिएर सकिदिएँ अरु उसैले पियो।

मलाई कमसेकम मातेर लठ्ठ हुनु भने थिएन। अरु त त्यसै लठ्ठ देखिन्थे। बाग्मती पारिका सबै चिहानहरुमा मानिस भरिएका थिए। मानिससँगै उनीहरु पर्वलाई धुँवा वनाउँदै माथीमाथी उडाइरहेका पनि थिए।

मैले सोथें, ‘फोटो खिच्न मिल्छ ?’

बाबाजी बोले, ‘हाँ ?’

मोवाइलले फोटो खिच्ने इसारा गर्दै सोधें, ‘फोटो फोटो ?’

‘हाँ, ले लो ।’ बाबाजीले क्यामेराको वेबास्ता गरे । भित्र बसेका केहीले भने गाँजा भरिएको चुरोट तानेको पोज दिइरहेका थिए। २ वटा फोटो लिएँ। मोवाइलमा ।

त्यहाँको नजारा हेर्न लायकको लागिरहेको थियो । म वरिपरिका मानिस हेरेर टोलाइरहेको थिएँ । काही सपरिवार आरती हेर्न, सुन्न आएका थिए । कोही प्रमीप्रेमिकाको साथमा डुल्न आएका । कोही भने म जस्तै नजारा हर्न आइपुगेका कोही भगवानको दर्शन गरेर फर्किँदै गरेका त कोही गाँजामा लठ्ठिएर एकोहोरो भइरहेका । जुन क्याटागोरिका मानिस पनि त्यहाँ थिए। बालबालिकादेखि वृद्धसम्म। कपडाले शरीर ढाकिएका देखि नांगासम्म त्यहाँ थिए ।

एकै नजरमा सबै देखिनेगरि । मृगस्थली जाने सिंडिको एक साइडमा उभिएँ म।

आरती सुरु भयो।

‘बोलो पशुपति नाथ की !’

त्यसपछि हात उठाएर ठूलो स्वरमा आउने आवाज थियो – ‘जय’

बहुचर्चित वाग्मतीको पानीमा गएर एक जना भक्त नाच्न थालेछन् । माथी जयजयकार चलिरहेको थियो । उनको नृत्य अर्कै शैलीमा चलिरहेको थियो। आआफ्नै शूर र तालमा मानिसहरु थप्पडी मारिरहेका थिए। कोही बाबाको फोटो भिडियो खिच्नमा व्यस्त देखिन्थे।

एक पटक अर्को जयजयकार लाग्यो। मानिसहरुले दिल खोलेर भने, ‘जय’
माथी चिहानभित्रकाले चाहीँ। माथीतिर फर्किएर मुख चुच्चो पादैं फोक्सोबाटै आएको धुँवा उडाए । र, भने, ‘जय’

उता, बाबाहरु समय समयमा ‘जय’ भनिरहेका हुन्थे। उनीहरुले जय भन्नलाई कसैको कमान्ड चाहिन्न थियो।

त्यसैले म भन्छु – पशुपतिमा मानिसको आआफ्नो प्रकारका जय हुन्छन्। कति पुरानै शैलीका कति प्यारोडी । अनि ‘अर्को मुखर्जी’ शैलीका आयातित जय पनि हुने रहेछन्।

जे होस् फेरि एकपटक फोकस आरतीमा गरें। मनबाट पीर वेदना हटाउन खोज्दै हात जोडेर पशुपतिको गजुर हेरें। गजुर धोएर पहें.....लो, टिलिक्क टल्किने गरिको बनाइएको थियो। हेर्दै मनमोहक ।

त्यसमुनी टुँडाल । विभिन्न आकृतिका । विहानैबाट लाइन बसेर भित्र आएका दर्शनार्थी पशुपतिको आडैमा थिए। सबैले वाग्मती आरती हेरिरहेका । त्यसमुनिको सिँडिमा मानिसहरु तल्लातल्ला भएर बसेका थिए।

घाटमा एक जनालाई जलाउन ल्याइएको थियो । मृत्यु हुने मानिसका छोराछोरी थिए क्यार । उनको वरिपरी भएर बसेका थिए । अलिक पर दुई जना हिक्का छोडेर रोइरहेका थिए। पण्डितले काम अह्राइरहेका थिए, एकजना अधबैंसे पुरुष काम गरिरहे जस्तो गरिरहेका थिए।

अनि ठूलो आवाज गुन्जियो ‘जय।’

सबैले भनिसकेपछि मैले पनि हात उठाउँदै दोहोर्याएँ, ‘जय।’ उद्घोषकले फेरि कराए, ‘सभी भक्त जनौं की !’

‘जय !’

यो जयमा पनि पुरानै लय हावी थियो। सबैका आफ्नै प्रकारका । मिस्कट ।
जय भन्नेमा सशस्त्र प्रहरी, विदेशबाट आएका गोराहरु, अघोरीहरु, घाटका पण्डाहरु र अन्य थिए। उनीहरु सबैको आरती हेर्ने र सुन्ने काम पुरा भएपछि म पनि त्यहाँबाट निस्किएँ ।

बम भोले । बम भोले भन्दै ।