नमस्कार।
आज दिउँसो अफिस जाने र नजानेको काउन्ट बनाइएछ। कोठाको ढोका खोलेर भित्र पस्नेबित्तिकै जानकारी पाउँदा म झसँग भएँ।
अरुबेला सायद यस्तो कुराले महत्व राख्दैन थियो। तर अहिले यही कुराको महत्व बढेको छ। तपाईँले साना भन्दा साना कुराको पनि ख्याल गर्न थाल्नु भएछ। यही ख्यालको चपेटामा म परेँ।
तपाईँलाई थाहा छ ?
२० औं शताब्दीमा हिटलरले जसरी बाहीरबाट आएका यहुदीले जर्मनी सखाप पारे भन्ने सोचेका थिए। आजभोली बाहिरफेर हिँड्ने मानिसलाई ठिक त्यसैगरि सोच्न थालिएको छ।
कसैको जिम्मेवारी कुन तहमा छ। महामारीमा उसले किन काम गर्नुपर्छ भन्ने चेत नभएका २१ औं शताब्दीका मेरो संघर्षका पात्रहरु उसलाई मनमनै ग्याँस च्याम्बरमा हालेर उडाउन उद्यत छन्।
कोरोनाको विश्वयुद्ध चलिरहँदा पौने दुईलाख मानिस चीर निद्रामा गएका छन्। ३० लाख मानिस युद्ध मैदानमा लडिरहेका छन् भने पौने ३२ लाख मानिस युद्ध जितेँ भन्ने लागेर घर फर्किएका छन्।
विश्वमा जस्तोसुकै युद्ध किन नहोस् मारमा पर्ने भनेका डाक्टर, नर्स र सञ्चारकर्मी नै हुन। कि होइन? एकपटक सोच्नु त!
गृहयुद्धमा बन्दुकमुनी बसेर लेख्ने पत्रकार, महामारीमा दिनरात विरामीको उपचार गर्ने नर्सको जीवन कसरी चलिरहेको हुन्छ ?
हजुरलाई फेरि एकपटक सम्झाउँ ?
ल सुन्नुहोस....
अरुको पीडा जस्ताको त्यस्तै बोकेर ल्याउने, सरकार पुलिस र सिडीओ नपुगेको ठाउँमा पुगेर सूचना संकलन गर्ने मान्छे हुन पत्रकार। त्यस्तै विरामीको सेवा गरेर निको पार्ने नर्स डाक्टर, विरामी बढेको समयमा अफ ड्युटी पनि काम गनुपर्ने मेडिकल कर्मचारी लाई आजकल गरिने स्वाभावमा उथलपुथल आउन थालेको छ नी।
त्यस्तै, हाम्रो पेट भर्नका लागि खाद्यान्न लिएर गाडी हाँक्ने ड्राईभरले हाम्रै लागि काम गरिरहेका छन्।
यस्ता प्रोफेसन भएका मानिस बस्ने घरमा ऊ काममा गएकै आधारमा उसले कोरोना भित्र्याउँछ भन्ने हिसाबले ऊ बाट तर्केर हिँड्न थालियो भने उसलाई कति समस्या होला?
सोच्नुभएको छ ?
अझ काठमाडौंको पीडा छुट्टै छ। एकै घरमा कोचिएर, सानो ठाउँमा धेरै भाडा तिरेर बस्नुपर्ने बाध्यता छ।
एकै रेस्टरुम, आँगन, दैलो, बरन्डा जस्ता घरका ठाउँहरु मिलेर प्रयोग गर्नुपर्ने बाध्यता छ। पानी एकै ठाउँबाट भर्नुपर्ने भाँडा एकै ठाउँमा माझ्नुपर्ने। नजिकैको एउटै किराना, डेरी र तरकारी पसल मिलेर प्रयोग गर्दा आपसी सम्बन्धले कति महत्व राख्छ?
यि सबै कुराहरुलाई मिलाउने एकमात्र साधन हो – एक अर्कामा विश्वास । घरभित्र लुकेर बस्नेदेखि, तरकारी बेचेर जीविका चलाईरहेका, घर जान पैदल हिँडिरहेका, सुरक्षामा खटिएका सबैलाई कोरोनोको उत्तिकै भय छ नी होइन ?
पाँचतले घरको भुइँतल्लामा बसेर चिठ्ठी लेखिरहँदा मलाई पनि कोभिडको उत्तिकै जोखिम छ । त्यसको भय उत्तिकै छ ।
मलाई पनि थाहा छ ।
पाँच तल्लाको घरका अधिकांश डेरावाल गाउँ गएका छन ।
घरमुलीबाहेक प्रत्येक फ्लोरका एकदुई कोठाका मानिस मात्र घरमा छौं । घरमा बसिरहेका हामीलाई औंलामै गन्न सकिएला । सामाजिक दुरी कायमै छ । तर पनि तपाईँलाई म प्रति यति डर किन ?
तपाइँहरु जस्तै डाक्टर, नर्स र पत्रकार पनि सामाजिक प्राणी नै हुन । उनीहरुलाई पनि रोगको डर हुन्छ । र सावधान भएर काम गरिरहेका हुन्छन् ।
त्यही भएर छिमेकी महोदयहरु यस्तो बेलामा हाम्रो मनोवल नगिराईदिनुहोस्। सक्नुहुन्छ भने अरुलाई जस्तै सामान्य व्यवहार गरिदिनुहोस्। नभए पनि कर्के आँखा पारेर नहेरिदिनुहोस्।
टाढाको देवताभन्दा नजिकको भूत नै काम लाग्छ भन्ने उखान त्यसै बनेको होइन।
तर, अत्यावश्यक काममा खटिएमा मानिसबाट भयवित बन्यौं भने। उनीहरुप्रति सहानुभुती राख्न छोड्यौं भने। रोगको सुपर स्प्रेडर हामीलाई नै साच्नुभयो भने। काममा खटिएको त मतलबै भएनन नि !
थाहा छ ?
कुनै कुनै देशमा अहिले पनि अरु बेला खेलेर खेल देखाउने खेलाडीहरु कोरोनाविरुद्धको लडाईँमा लडिरहेका छन्। उनीहरुलाई आफ्नो भन्दा पनि देशको धेरै चिन्ता छ। महामारी धेरै नफैलियोस भनेर उनीहरु पनि स्वयंसेवामा लागिरहेका छन्।
अस्ति मात्र क्रिकेटर हेथर नाइट एनएचएसमा जनचेतना फैलाउने काममा लागिन। विश्वप्रसिद्ध रोनाल्डोले आफ्नो होटेल अस्पताल बनाउनका लागि सहयोग गरेका छन्। मेस्सी लगायत धेरै खेलाडीले तलब लिन्नँ भनेर भनेका छन्।
कति सेलिब्रेटिले च्यारिटी सो गरेर लडाईँमा सहयोग गरेका छन्। त्यस्तै कतिपय देशका सरकारले मानिसलाई लकडाउनमा आर्थिक सुरक्षा होस भनेर खर्च गर्न उक्साएका र आर्थिक सहयोग समेत गरेका छन्।
करोडौं अरबौं मूल्य बराबरका काम र आयोजनाहरु रोकिएका छन्। बाहिर शान्त देखिए पनि हजारौं शहरहरु अस्तव्यस्त बनेका छन्। अर्थतन्त्र डामाडोलल बनेको छ। लाखौं मानिसमा भोकमरीको डर छाएको छ। यस्तो बेलामा पनि नर्स, खाद्यान्न ढुवानीका कर्मचारी, पत्रकार लगायतका अत्यावश्यक सेवामा खटिएका मानिसले काम नगरे भविष्य कहाँ पुग्ला ? संसार कसरी चल्ला ?
त्यसैले, म अग्रह गर्न चहान्छु। यदी तपाईँलाई डर छ नै भने। यस्ता अत्यावश्यक काममा खटिएका मानिसहरुबाट टाढै रहिदिनु होला। तर कृपया उनीहरुलाई घृणा नगरिदिनु होला। उनीहरुलाई कोरोनाको सुपर स्प्रेडर नसोचिदिनु होला।
नभए त, अफिस जानुको मतलबै भएन नी।
तपाईँको छिमेकी
धन्यवाद!

