‘जीन्दगी जिन्दगी रहेन
पिरति पिरति रहेन
झिल्को बल्यो, डढेलो निभेन....’
फिल्म सकिन लाग्दा बज्ने यो गीत नै फिल्मको सार हो। त्यो झिल्को के हो र यसले कसरी असर गरिरहेको छ भनेर बुझ्न पनि गाह्रो छैन्। अहिले हलमा प्रदर्शनरत मुभी झिल्कोः द स्पार्कले एकपटक तपाईँलाई आफ्नो जिवनको वास्तविकताप्रति झकझक्याउने छ। सोच्न बाध्य बनाउने छ। जीवनलाई, परिवारलाई र समाजलाई अर्को कोणबाट नियाल्न बाध्य बनाउने छ।
हामी एकातिर ‘भुषण सर’ जस्तै ढोंगी बनेका छौं। अर्कातिर हामी सोसियल मडियाबाट कति परिचालित भएका छौं भन्ने हामीलाई नै थाहा छैन्। म आफ्नै अनुभव सुनाउँ – फेसबुक पेजमा विभिन्न पेजको अनावश्यक पोस्ट आएको आएकै भएका कारण मैले केही पेजमा गरेको लाइक हटाउने निर्णय लिएँ। त्यसपछि यसलाई अनलाइक र अनफलो गर्न बसेको २ दिनमा पनि सकिएन। दुई दिन पनि अनलाइक गरेर नसकिने गरि मैले आफैं कति पेज लाइक गरेको रहेँछु त ? यसले मलाई सोच्न बाध्य बनायो। त्यहाँ कतिपय यस्ता पेज पनि थिए, जसको पेजमा लेखिने भाषबारे मलाई ज्ञान नै छैन्। केही दिन लगाएर पेज डिसलाइक गरेपछि माइ डे मा देखिने अनावश्यक विज्ञापन कम भयो।
‘एस्सो एक दुई वटा रिल हेर्छु भन्यो तीन घण्टा वितेको पत्तै हुँदैन,’ चीया पसलमा इन्स्टाग्रामको रिल हेर्दै मेरा साथीहरु अक्सर यसै भन्छन्। उनीहरु सबैलाई थाहा छ रिल हेरेर खास केही फाइदा छैन्। तर के गर्नु नबस्नु लत त बसिसक्यो। हाम्रो यस्ता सामान्य आनिबानी आफ्नो लागि, परिवारको लागि कति समस्या जनक हुँदैछन भन्ने हामीले हेक्का राख्न सकेको छैनौ भनेर यो फिल्मले सिकाउँछ।
भारतका प्रसिद्ध पत्रकार रविस कुमार सामाजिक संञ्जालले कसरी आफ्नो उत्पादन हामीसामू ल्याउँछ भन्ने सन्दर्भमा भनेका थिए, ‘मैले एक पटक कसरी फिट रहने भन्ने भिडियो खोजेका थिए। सामाजिक सञ्जालले यति धेरै भिडियो देखायो कि मैले त्यो भिडियो नै हेरेर तीन घण्टा विताएँ तर शारीरिक कसरत गरिनँ।’ भनाइको अर्थ यो पनि हो कि, यदी आफैं दौडन निस्केको भए त बरु शरिरलाई केही फाइदा त हुन्थ्यो होला कि !
हामी अहिले यस्तै भएका छौं, आफैं प्रयास चाहिँ नगर्ने, धेरै अनलाइनकै भर पर्ने। रिलमा अंग्रेजी बोलोको सुन्दा अंग्रेजी सिक्न मन लाग्ने, जर्मन सुने जर्मनै सिक्नु पर्ने, स्पेनिस सुने स्पेनिस र जापानिज सुने जापानिज। देख्दै लोभलाग्दो डाँडाकाँडा देखे झट्टै निस्केर गइहालौँ जस्तो बनाउँछ हामीलाई सामाजिक सञ्जालले। यसको पछाडी हामी सामाजिक सञ्जालको अल्गोरिदमलाई दोष लगाएर बसेका छौं।