Feature

अनुभुति : इटहरी पारायण र मेरो प्रेम

इलाम बाट विर्तामोढ र त्यहाँ बाट २ घण्टा बसमा दौडेपछि इटहरी पुग्यौं । इटहरी पारायण ०६३ मा। आजपनि  त्यो बेलाको धमिलो याद मानसपटलमा कतै लुकेर...

Friday, February 5, 2021

तराईदेखि पहाडको यात्रा

भोलिपल्ट विहानको काम निकै थियो पाँच नबजिकनै उठेँ। अनि काम गर्न थालेँ। सितला र सिजला पनि उठेर पढ्न थाले। केही समयमा माइजुले तातोपानी ल्याइदिनु भयो।

सिजलाले चिया ल्याइदिइन्। मैले हिजो बाहिर डुल्न भ्याएको थिइनँ। त्यसैले मलाई थाहा भयो मेरो आजको दिन पनि त्यसै ब्यतित हुनेछ। त्यसैले माइजूले हिजो दिनुभएको सल्लाह मैले मानेँ।

म आज यतै बस्ने योजना थियो तर अब इलाम जाँदै छु। विब्ल्याँटेको घनेन्द्र दाई घर जाँदै हुनुहुँदो रहेछ। उहाँकै गाडीमा जान मामाले भन्नु भयो।

घर जानुअघि माइजुले थर्मसमा पानी भरिदिनुभयो, खाजा दिनुभयो। मैले खाएँ। अनि विहान सात बजे नै घनेन्द्र दाई आइपुग्नु भयो।

मावलका केही समान पनि इलाम लानु पर्ने रहेछ। गाडीमा हालिसकेपछि हामी सबै बस्यौँ। चार जना थियौँ। दाइले गाडी हाँक्नुभयो। बुट्टाबारीको चियाको बुट्टा हुँदै हामी चाराली बजार निस्कियौं।

त्यहाँ एक केजी स्याउ कोसेली किनिसकेपछि भने हाम्रो यात्राले विराम लिएन्।

बुधबारेको चिया कमानको दृष्य इलाम प्रवेश गर्नुअघि नै देख्न पाइन्छ। मैले भिडियो पनि खिचेँ।

घुम्न निस्किएका बेलामा फोटो भिडियो खिच्न मेरो हात छिटै ताम्सिहाल्छ आज पनि यस्तै भयो। मलै यहाँ चियाका बुट्टासँगै रुखको को भिडियो खिचेँ।

गाडीमा सामान्य गफ चलिरहेको थियो। त्यसको मन्दमन्द ध्वनि आज पनि भिडियोमा जिवितै छ। इँरुटारको डाँडाँहरु देखिन थाल्दाको भ्यू झापाबाट उकालो लाग्नेलाई निकै मनमोहक लाग्छ। पर पर देखिने डाँडाहरुलाई ब्याग्राउन्डमा राखेर मैले नजिकमा अग्ला लाग्ने सुपारीका बोटको भिडियो खिचेँ।

पहाड लाग्दै गर्दाको समान्य उकालो बाटो र वरपरका घरले इलामा प्रवेश गरेको आभाष दिन्छन्। यतिकैमा पुगिन्छ, सुखानी जंगलसँग जोडिएको इलाम नाका – जोरकलस।

यो सवारी चालकहरुका लागि जंगलबीचको स्टेसन हो। उत्तरी झापाका बस्तिहरु छोडिएको केही मिनेटको यात्रामै यो स्टेसन आइपुग्छ।

हामी त्यहाँ नबसी उकाली लाग्यौँ। घनेन्द्र दाईको फुपुसँग केही गफगाफ भए। उहाँले मलाई चिन्नु भएको रहेछन्। तर उहाँसँग घनेन्द्र दाइको बुबाको अनुहार मिल्ने भएकाले मैले पहिल्यै चिनिसकेको थिएँ।

मलाई चिनेको होला नि ? भन्ने प्रश्नमा पनि मैले त्यही जवाफ फर्काएँ।

‘हाम्रो बुबा र दिदीको अनुहार त दुरुस्तै त,’ सही थप्दै घनेन्द्रदाईले पनि भन्नुभयो।

फेरि उहाँहरुबीच गफ हुन थाले। म चाहिँ बाहिर हेर्न थालेँ।

यो प्रकृति पनि कस्तो अचम्मको है। अघिसम्म तराईमा हुँदा पहाड हेर्न मनपर्ने। त्यो दृष्यले लालयित बनाउने। अहिले पहाड आइसकेपछि चाहिँ भर्खरै छोडेर आएको तराई हेरौं–हेरौं लाग्ने।

नजिकको भन्दा टाढाको दृष्य सँधै प्यारो लाग्ने। फेरि मोवाइल निकालीहालेँ र भिडियो खिच्न थालेँ।

इलाम प्रवेश गरेसँगै कडा चट्टानको पहाड फोडेर बनाइएको बाटो भेटिन्छ। त्यहाँबाट प्रष्टसँग झापा, मोरङलगायत भारतका केही भाग देखिन्छ। भिडियोमा कैद गरेँ। खिचिसकेपछि हेरेँ।

गाडी तिब्र गतिमा कुदेकाले भिडियो राम्रो अएनछ। तर कोल्बुङको चिसो हावा खाँदै अघि बढ्दा पनि मोवाइलको क्यामेरा चाहिँ चालु नै थियो।

हामी पाथीभरा, हर्कर्टे हुँदै कन्याम पुग्यौ। गर्मी याममा झापाका घुमन्तेलाई हर्कटे प्यारो नाम हो। बाइकमा एक घन्टामै पुगिने चिसो ठाउँ हर्कटे तराईको गर्मी छल्ने पूर्वकै उत्कृष्ट हिल स्टेसनमध्ये एक हो।

त्यसलाई पार गर्दै पुगिएको कन्यामको बयान यो छोटो डायरीमा गरेर सकिँदैन। अधिकांश समय लजाएर कुहिरोको घुम्टो ओड्ने कन्याम सायद विहानै भएकाले हुनुपर्छ आज ख्वाल्ल पोखिएको देखिन्छ – सर्वाङ्ग भएर।

चियाको उन्माद बैंशमा सजिएको कन्याम आज अझै धेरै जवान देखिएको छ। यसको लाज सायद माथीबाट कन्चजंघाले पनि चिहाइरहेको छ।

पर्दापछि लुकेर पर्यटकलाई दर्शन दिन हत्पत नचाहने हिमाल, विहान भने सर्वाङ्ग भएको कन्यामलाई हेरेर मुस्काइरहँदो रहेछ। चियाका चिल्ला पातमा ठोक्किएकर आँखामा परेका घामका किरणले यसको रोमाञ्चकता बढाएको भान हुने रहेछ।

सिसा भित्रबाट देखिएको दृष्यले त यति धेरै तान्छ भने बाहिर निस्किँदा कस्तो होला ?

सोच्दै फिक्कल पुगियो। ललिपप, छुर्पी, अकबरे खुर्सानीजस्ता कोसेलीले भरपुर बजार हो फिक्कल।

यहाँबाट आइतबारे, भालु खोप, तीनघरे, गोदक हुँदै माइखोला पुगिन्छ। त्यसअघि आउने कर्फोकको खिरिला डाँडा र तीखा टुप्पा भएका धुपीसल्लाले मलाई बाटो काटेको पत्तै भएन।

९ बजेर नाघिसकेको थियो, हामी माइखोला काटेर अघि बढ्यौं। इलाम बजार निश्किने काम नभएकाले जिरो किलोमिटरबाटै विब्ल्याँटेतर्फ मोडियौँ।

१० बजे लगत्तै, म एक वर्षपछि घर पुगेँ। तिहार मनाउन।

सबैलाई हाइहेल्लो बाँढ्दै मामाघरमा अलिकति सामान ओरालेर घनेन्द्र दाई घर फर्किनु भयो। म, एक वर्षमा घर परिपरि के कति परिवर्नत भएछ निलाल्न थालेँ।

मलाई वसन्त र वर्षाको हरियाली, सदरको फुलबारी र शिशिरको उराँठ जमिनको तुलना गर्न खुब मनपर्छ। असोजमा चाँडै दशैं परेको सिजन घर पुग्दा वरिपरि हरियाली सकिएकै हुँदैन।

झार आँगनसम्म उम्रिएका हुन्छन्, त्यसलाई हटाउन चटारो हुन्छ। मंसिरमा परेको तिहार मनाउन घर पुग्दा त सयपत्री र मखमली फुलहरु पनि जिवनको उत्तरार्धमा पुगिसकेका रहेछन्।

अम्बा कहिँकतै मात्र बाँकी हुने रहेछ। र, धान काट्न ठिक्क हुनेरहेछ। आज यहि अनुभुति गरेँ।

घरमा मम्मी, बुबा हुनुहुन्थ्यो। खाना खाएर एकछिन गफ गरेँ। एकछिन पछि भाई पनि आइपुग्यो। उसँग पनि गफ गरेँ। आजै त हो भाइसँग मजाले गफ गर्ने, भोलिबाट त झगडा सुरु भइहाल्छ।

र, सबैभन्दा मुख्य कुरा गर्नै बाँकी थियो – लुगा धुन। जुन आज दिनभरिको काम थियो। करिब १२ बजेपछि सुरु गरेँ।

काठमाडौंबाट ल्याएका सबै लुगा धोएर सिध्याएँ। कोरोना महामारीबीच घर आएको छु। त्यसैले धुन मिल्ने धोएँ, नमिल्नेमा सेनिटाइजर दलेर मात्र अरुलाई छुन दिएँ।

यसो गर्दा भाइरसको उपस्थिति थियो भने पनि अरुलाई सर्दैन। सुरक्षाका लागि त खासमा क्वारेन्टिन बस्नुपर्ने हो। तर मलाई कोराना लागेर निको भइसकेकाले आफूबाट अरुलाई तीन महिनासम्म सर्दैन रहेछ।

तर लुगामा टाँसिएको भए त जोखिम हुन्थ्यो। त्यसैले सुरक्षाका उपाय अपनाएको हो।

लुगा धोएर घरमै आराम गरेँ। एकछिन मोवाइल, एकछिन ल्याप्टप चलाएँ। केही मिनेट अफिसको काम गरेँ।

दिपक दाईले बिटामा बोलाउनु भको थियो रे। म गइनँ। मानिसहरु काठमाडौंबाट आएको भनेपछि डराउँछन्। त्यसैले म त्यता नगएकै जाति लाग्यो। गइनँ।

घरमा आएको पहिलो दिन सबेरै खाना खाएर सुतेँ। दिन बित्यो।

Tuesday, February 2, 2021

काठमाडौं टू विर्तामोड आफ्टर कोरोना

कोरोना महामारीले दशैं खर्लप्पै खाएपछि तिहार मनाउन चाहिँ घर जाने मनसाय बनाउन थालेँ।

मनमनै सोचेँ, ‘घट्टेकुलोको कोठामा बसेरै दशैं विताईयो तिहार चाहिँ त्यसरी विताउन सकिँदैन।’ त्यसैले दशैंपछि अफिस गएको चौथा दिनमै विदा मागेँ।

सजिंव सरलाई विदा दिन पनि अप्ठ्यारो नदिन पनि अप्ठ्यारो। किनभने म दशैंअघि पनि लामो समय अफिस जान सकिनँ।

दशैंमा घरबाटै र त्यसपछि चार दिनमै विदा माग्नु अफिसका लागि फाइदाजनक होइन तर पनि मैले विदा पाएँ – घरबाट पनि काम गर्ने सर्तमा।

विदा पाएपछि सपिङ गर्नुपर्यो भनेर २ बजे नै वानेश्वरस्थित अफिसबाट निस्किएँ। किन्नैपर्ने सामानको लिस्ट बनाएँ। र, महत्वपूर्ण समान लिएँ।

हेडसेट, पावर बैंक, पेनड्राइभ, थर्मस, घडी, चस्मा आदि...। सबै समान किन्न एटीएमबाट पैसा निकालेँ र मैतीदेवी चोकतिर लागेँ। करिब २ घण्टामा सपिङ सकियो।

अब घर लैजाने समान प्याक गर्नुपर्ने थियो। केही समान र बहिनी सितलाको पनि समान झापासम्म पुर्यादिनु परेकाले मैले उसलाई सोधेर समान प्याक गरेँ।

घडिले पाँच बज्नै लागेको संकेत गर्दा मैले प्याक गरेँ। मैले भोलि मात्र घर जाने सोच बनाइरहेको थिएँ। तर झापा जान साँझ ६ बजेसम्म गाडी पाइहालिन्छ।

एसो सोचेँ, ‘अहिल्यै कलंकी गयो भने पनि ४५–५० मिनेटमा पुगिहालिन्छ। गाडी पाइहालिन्छ। आ... आजै पो जान्छु।’

म समान बोकेर निस्किएँ। बबरमहल पुगर कलंकीतर्फको बस चढेँ। कलंकीमा ओर्लिएर बाटो काट्दै थिएँ। एकजनाले पूर्व जाने हो ? भनेर सोधिहाले।

‘झापा, विर्तामोड,’ जवाफमा मैले भनेँ।

उनले आफ्नो पछिपछि आउन इसारा गर्दै अघि लागे। उनको हिँडाई भिन्न किसिमको थियो। सायद खुट्टामा समस्या थियो होला।

हिँड्दै गर्दा उनले केही बसको नाम भने। भाडा १४ सय लाग्ने भए पनि १२ सममा मिलाइदिन सक्ने बताए।

मैले सुरुमै हजार रुपैयाँ दिन्छु भनेको थिएँ। उनले त्यहाँ भन्दा घट्नै नसक्ने बताउँदै थिए।

बाटोमा टिकट बेच्नेहरुले एक सय नाफा राखेर टिकट काट्ने गरेको मलाई पहिल्यैबाट थाहा छ। उनले यहाँ जतिबाट काट्छन् त्यो भन्दा १०० रुपैयाँ सस्तो गाडीको मालिकले पाउँछ।

र, म पहिले पनि धेरैपटक हजार रुपैयाँमा हिँडिसकेकाले त्यतिमै जान सकिन्छ भन्नेमा ठुक्क थिएँ। उनले त्यतिमा लान सकिन्न भन्दै केहीबेर अनकनाए पनि अन्तिममा मिलाईदिए।

नाइट बस बासुकी रहेछ। टिकट काटेको पाँच मिनेटमै बस आयो र म चढेँ। हतारको टिकट नौ नम्बरको सिट लेखिलिएका थिए काउन्टरका दाईले।

तर बसमा ६ नम्बरको सिट खाली भएकाले खलाँसीले त्यहीँ राखिदिए। बसपार्कबाट निस्किसकेको गाडीमा ६ नम्बरको सिट पाउनु भनेको भाग्यको कुरा हो।

मैले जेब्रा र अर्को ब्याग र्याकमा राखेँ। थर्मस र हेडफोन भने हातैमा बोकेको थिए। थर्मसबाट अलिकति पानी निकालेर पिएँ।

भर्खरै किनेर ल्याएको हेडफोन चलाएको थिइनँ। ओपन गरेँ। चार्ज लो रहेछ। त्यसमाथी मोवाइलमा कनेक्ट नै भएन। अन्तिममा त्यत्तिकै झोलामा कोचरेँ। र, सिटमा त्यसै ढल्केर बसेँ।

सीटको साइडमा एकजना दाई थिए। गफगाफ फिट्टो भएन्। राति ११ बजे तिर खाना खाने ठाउँ पुगियो। होटेलको नाम याद नगरे पनि खाना चाहिँ इतिहासकै नमिठो। त्यसमाथी सादा खानाको मूल्य चाहिँ दुई सय रे।

हे भगवान् !

महामारीपछि धेरै कुराको मूल्य बढ्दा खानाको पनि बढेको थिएछ। क्वालिटी चाहिँ कम भएछ।

भलै जे होस्, खाना खाइयो।

अब विहान सम्म बाँचिन्छ भन्ने फिल आयो।

गाडी घुर्र गर्न थालेपछि म बसभित्र पसेँ। निद्रा खास थिएन्। ठाउँठाउँमा चाहिँ निदाएछु।

बासुकीले आज विहान चल्न अल्छि गर्यो। सारै लोसे कुद्यो

भोरमा चिया खानै तीन ठाउँमा विसायो।

विहान ७ बजे पुग्ने अनुमान गरेको म, विर्तामोढ पुग्दा साढे १० बज्यो।

आज विर्तामोढनै बस्ने अठोट गरेको मामालाई भनिसकेको थिएँ। उहाँलाई म आउँदै गरेको पनि जानकारी दिएँ।

पश्चिम बसपार्कबाट अटो चढेर मामाघर पुग्दा ८० रुपैयाँ लाग्ने रहेछ। मामा पर्खिरहनु भएको थियो।

हामी भित्र पस्यौँ।

एउटा जेब्रा र सानो झोला मात्र त थिए, त्यहि लिएर।

मिठाई बोक्ने बानी छैन मेरो। जहाँ जाँदा पनि म त्यत्तिकै पुग्छु। आज पनि त्यतिकै पुगेँ।

खासमा मामाघरमा मिठाइ लिएर गएँ भने चाहिँ अचम्म हुन्छ होला। आजसम्म कहिल्यै लिएर गएको नै छैन्।

माइजू र बहिनीहरु घरभित्रै हुनुहुन्थ्यो। दर्शनभेट साटासाट गर्यौ। भोक लागिरहेको थियो। माइजुले खाना पस्किहाल्नु भयो। मामा र म खाना खान बस्यौँ।

सितला र सिजला चित्रकलामा उत्कृष्ट छन्। सिजलाले मलाई उनले बनाएका विभिन्न चित्र देखाइन्।

मैले मख्ख पर्दै हेरेँ। कमेन्ट गरेँ – वाउ, ग्रेट, नाइस.... यस्तै केही।

खाना खाएपछि केहीबेर मैले आफ्नै काम गरेँ। हिजो राति भएको आईपीएल फाइनलको हाइलाइट हेरेँ।

अफिसमा पठाउन एउटा स्टोरी बाँकी नै थियो। फाइनल गरेर अफिस पठाएँ। यति सकेपछि भने केही आनन्द भयो। अब आफ्नो हिसाबले डुल्न पाइन्छ। यहाँ आएपछि अब कसलाई भेट्ने होला भन्ने दोधारमा थिएँ।

त्यत्तिकैमा विनोलाई सम्झिएँ। उनलाई मैले हिजो नै आज आउने जानकारी दिइसकेको थिएँ। साथै उनी मेरो सानैदेखिको साथी र भाई हुन्।

फोन लगाएर बोलेँ, ‘हेलो कमरेड कता हो ?’

जवाफ आयो, ‘म प्रमिलाको तिर छु। तिमी आइपुग्यौ।’

‘उम, आइपुगेँ।’

‘अनि कता छौं त ?’

‘म मामलमा छु। यता आउने होइन ?’

‘ल म यहाँबाट पाँच मिनेटमा निस्किन्छु ल ?’

‘हुन्छ। बाई,’ मैले फोन काटेँ।

आज मामा र माइजुको काम रहेछ। उहाँहरु निश्किहाल्नु भयो। घरमा दुई बहिनी र म गफ लाउन थाल्यौँ। उनीहरु दाईको मान राखिदिन्छन्। खासै बोल्दैनन्, धेरै सुन्छन्।

हामीले किफायती गफ गर्यौ। चित्रबारे, कोरोनाबारे, पढाइ, परीक्षा र मेरो कामबारे। त्यत्तिकैमा विनोदको सानदार इन्ट्रिी भयो।

उनको गफ समय विताउनका लागि काइदाको हुन्छ। उनले सबैबारे मिलाएर गफ गर्न जानेका छन्। मनमा लागेको कुरा फ्याट्टै बोलिदिन्छन्। हामीले पौने २ घण्टा यसरी नै गफ गर्यौँ।

जसमा हामी तीन जना मुस्किलले १५ मिनेट जति बोल्यौँ होला। बाँकी समय सुन्यौँ...

घाम पश्चिमतिर ढल्किन थालेपछि हामी बाहिर निश्किियौँ। लिला दिदीको घरमा पुग्यौँ। भिनाजु मात्र हुनुहुन्थ्यो। दिदी बाहिर जानु भएको थियो।

म आजमात्र काठमाडौंबाट आएको थिएँ। कोरोनाको महामारी थियो। उहाँ मसँग धेरै डराएजस्तो लाग्यो।

नडराउनु पनि किन ?

महामारीले यस्तो विकराल रुप जो लिएको थियो।

मलाई धेरै समय बस्न अप्ठ्यारो लाग्यो। मास्क पनि खोलिनँ। सामाजिक दुरी राखेरै कुरा गरेँ र बाहिर निश्किएँ। दीदीसँग भने देखभेट भएन्।

त्यसपछि म पहिले विर्तामोडमा प्लस टू पढ्दा कोठा बसेको घरमा पुगेँ। कोरोनाको डर त्यहाँ केही कम रहेछ। त्यहाँ अर्कै एकजना महिला हुनुहुन्थ्यो।

‘सिला आन्टी हुनुहुन्न ?’ मैले ति नारीलाई सोधे।

जवाफ आयो, ‘माथी हुनुन्छ।’

म माथी हेर्न जाँदै थिएँ, आन्टी झर्दै हुनुँदो रहेछ। भर्याङमै भेट भयो।

‘प्रणाम,’ काठमाडौं गए पनि संस्कार नविर्सिएका प्रमाण दुई हात जोडेर दिएँ।

‘प्रणाम,’ उहाँले पनि सुमधुर स्वरमा साधुवाद फर्काउनु भयो।

अनि सोध्नुभयो, ‘कैले आको ?’

‘आज विहान।’

‘खबर ठिकै होला नी ?’

‘उम, एकदम ठिक छ,’ मैले आँखीभौ उचालेर जवाफ दिँदै सोधेँ, ‘तपाइँहरुको ?’

‘ठिकै छ हौ। कोरोना लागेको छैन अहिलेसम्म त।’

‘हेहेहे..’ हामी सबै हाँस्यौ।

विनोदले मलाई काट्याउँदै म पहिले बसेको कोठा देखाएरु मुसुक्क हाँस्यो। कोठा देखाउनुको अर्थ त बुझेँ तर त्यसमा हाँस्नुपर्ने कारण त केही पनि थिएन्।

एकछिन सोचेँ पत्ता लागेन, के थियो हाँस्नुपर्ने कारण ?

सिला आन्टीसँग केहीबेर गफ भएपछि प्रसंग केही मोडियो। काठमाडौं, कोरोना, बसाई, पढाइ र जागिरपछि कुरा विनादतर्फ पुगेपछि मैले बल्ल चाल पाएँ।

पहिले म बसेको कोठामा अहिले एकजना केटी बस्दी रहिछन्। र, उनी विनोदकी ग्रलफ्रेन्ड रहिछन्।

यही बस्छिन भन्ने विर्सिएको रहेँछु, सम्झिएँ र भित्रभित्रै हाँसें। खासमा हाँस्नुपर्ने कारण चाहिँ केही थिएन। रै पनि खै के मन लागेको हो अन्र्तमानमा चाहिँ हाँसें।

केहीबेरको गफपछि हामी विनोदको घरमा पुग्यौं। खास यो मारवाडी सेवा समितिको घर हो। ठूलोबुबाले यहाँको रेखदेख गर्ने भएकाले बस्ने व्यवस्था पनि यहिँ छ। मैले ठूलो बुवा र ठूलो ममीलाई नमस्कार गरेँ।

ठूलोबुबालाई भर्खरै चिनी रोगले सताएछ। उहाँ लुताउनु पनि भएछ। पहिले त हाट्टाकट्टा मोटो हुनुन्थ्यो। पहिलेको, फुर्तिलो र चम्किलो अनुहार त पुरै बादल लागेको दिनजस्तो भएछ।

न्यास्रो, मायालाग्दो।

मैले उहाँको अवस्थाबारे सोधेँ। अहिले ठिक हुँदै छ अरे। यता ठूलोममी त सुगरको पुरानै विरामी भइहाल्नु भयो।

एकछिनको गफपछि म र विनोद विर्तामोढ दर्शनमा निश्कियौँ। सुसिल प्लटिङमा पर्खिरहेको रहेछन्। फोन गरेर आउँदै गरेको बताए।

हामी त्यतै मोडियौँ। शुलिल खतिवडा पहिले एभिन्युज टिभीमा समाचार पढ्ने काम गर्थे। लकडाउन हुनुअघि घर आएका थिए, कोरोना महामारीका कारणले गरेको लडडाउनका कारण काठमाडौं फर्कन पाएनन्।

घरै बसिरहेका छन्।

अब महामारीको जोखिम सकिएपछि काठमाडौं फर्कने सोच रहेछ। नभए विर्तामोढ तिरै विजनेस गर्ने सोच पनि बनाएका रहेछन्। हामीले पहिलेको धिमाल बस्ती, अहिले प्लटिङ भएको ठाउँमा आलुचप र पकौडा खायौँ।

चटपट खाने प्रस्ताव भने बहुमतले पारित भएन्। छोड्दियौँ। शुसिलसँगको लामो संवादपछि विनोद र म निश्कियौँ। ठूलोममी खाना तयार गर्दै हुनुहुँदो रहेछ।

विनोदले त्यतै बस्ने कर गर्दै थिए। तर बसिएन। आज सेल्फी डाँडा र जामुनखाडी गएर केही लेख तयार पार्ने विचार थियो। तर सफल भएन। दिउँसो त्यतिकै विताइयो।

त्यसैले राति केही काम गर्नुपर्ने थियो। खाना खाएर मावल नै जाने बताएँ। ठूलोममीले पनि त्यही सल्लाह दिनु भायो।

काठमाडौंबाट आको केटो कोरोनाको जोखिम निकै छ भन्ने भान ठूलोममी र ठूलो बुबाको मुहारमा छरिएको थियो। मलाई पनि चाँडै निश्किन मन थियो।

 विनोदको आग्रहलाई पनि हृदयांगम गर्नै पर्यो। त्यसैले म खाना खाएर निश्किएँ।

मावलमा पुगेपछि केही काम गर्न बाँकी थियो। जमुनामा लाग्ने कागे मेलाको बारेमा लेख्दै थिएँ। त्यो पुरा गर्न लागेँ। थालेको मात्र थिएँ। सकेको थिइनँ।

यसका लागि मैले जमुनाका एक जनालाई फोन गरेर जनाकारी लिएँ। र, लेखेँ। ८ सय शब्द पुगेपछि बाथरुम जाँदा मात्र थाहा भायो कागतिहार भोलि होइन पर्सी पो रहेछ।

सक्नै लागेको स्टोरीलाई अर्कोपटि राखेँ। भोलिनै हो कागतिहार भनेर आज बेलुकै स्टोरी सक्ने ध्याउन्नमा थिएँ। अब अल्छी लाग्यो।

यो वर्षको तिहार पनि अचम्मकै रहेछ।

कग तिहारको भोलिपल्ट बेलुका लक्ष्मीपुजा रे ! विहान चाहिँ कुकुर तिहार रे !

गाई पुज्ने दिन चाहिँ लक्ष्मीपुजाको भोलिपल्ट ! यो वर्षको तिहार साँच्चिकै ‘तिहार’ हो कि विस्मयाधिबोधक चार्ड ?

सितला र मैले यही विषयमा केही मिनेट खर्च गर्यौैँ।

राति १–२ ओटा छोटा न्युज अफिसमा पठाएर म सुतेँ।