बुबा, तपाइँले मलाई दिनुभएको सबैभन्दा ठूलो उपहार नै मेरो जन्म हो । अनि पालनपोषण ।
यो भन्दा ठूलो उपहार कसले कसलाई दिनसक्छ छ ? के कसैले कसैलाई उसको जन्म र बालापन भन्दा ठूलो उपहार दिन सक्छ र ? मलाई लाग्छ सक्दैन । त्यसैले ठूला उपहारहरु शब्दमा, भावनामा र बस्तुमा तुलना गरिँदैन ।
उफ ! म त भावनामा बगिसकेँछु । अब फेरि आजको विषेश चार्डमा आऔँ । आज भाद्र कृष्ण औंषी अथात् बुवाको मुख हेर्ने दिन । पण्डितहरु भन्छन् । आज बिहानै उठेर नुहाइधुहाइ गरेर बुवाको मुख हेर्नुपर्छ ।
मुख हेर्नुको मतलब बुवालाई छोराछोरीले उनीहरुलाई सम्झिन्छन भन्ने अनुभुती गराउनु पनि हो । मलाई लाग्छ बुवाले छोराछोरीको ध्यान कन्द्रित गर्न सक्नु भनेको उनको मन प्रफुलित बनाउनु पनि हो ।
यही कुरोको मनन गरेका मेरो एक जना साथीले प्लस टू पढ्दा दिउँसो आफ्ना बाबुलाई फोन गर्दथे । खासै कामको कुरा पनि हुने गर्थेन् । म चाहीँ यस्तो अनावश्यक फोन अधिकाँश बिहान(६ बजे अघि) गर्थेँ । उताबाट पनि त्यही समयमा धेरै फोन आउँथ्यो ।
त्यसैले मैले सोधेँ, ‘दिउँसो त महँगो पर्छ, बिहान गर्नु नि ।’
उसले जवाफमा भन्यो, ‘विहान बुबा घरमै हुनुहुन्छ नि त ।’
‘अनि के भयो त ?’
‘हेर् । दिउँसो बुवा अरु साथीहरुसँग हुनुहुन्छ होला । मैले फोन गरेपछि उहाँले मेरो छोरो पनि सहरमा साइन्स पढ्दैछ भनेर भन्न सक्नुहुनेछ भनेर दिउँसो फोन गरेको । यस्तो कुराले छोराले सम्झिन्छ भनेर बुबाले सबैलाई भन्न सक्नुहुन्छ के ।’
‘वाह ! जवरजस्त पुत्र,’ मैले अन्तिममा यति भनेँ ।
तर, उसको आइडियो मलाई गज्जबको लाग्यो । आइडिया भन्दा पनि बुबाको मनोभावना बुझ्न सक्ने कुरा खुबै मन पर्यो ।
आखिर जन्म दिएर,पालन पोषण गरेर एउटा बावुले के चाहान्छ ? त्यही छोरोको खुसी न चहान्छ । छोराहरुको खुसी देखेर बाबुले हजारौँ दुःख बिर्सन सक्छ भने छोराहरुले बाबुको सुसीका लागि झिना काम किने नगर्ने ? अवस्य पनि गर्नेपर्छ ।
उसको त्यो आइडिया मैले पनि चारेरे प्रयोग गरेँ । त्यसले मलाई त केही प्रभाव पारेन केही छिनका लागि बुवालाई खुसी पार्यो किने भन्ने चाहीँ लागेको छ ।
जति फोन गरे पनि मैले बुवालाई कहिल्यै भनिनँ कि म तपाईलाई कति माया गर्छु । उहाँले पनि कहिल्यै भन्नु भएन । तर पनि मलाई लाग्छ उहाँले मलाई सबैले भन्दा नजिकबाट चिन्नुभएको छ । मेरो समस्या, आवश्यकता र सौख उहाँलाई भन्दा धेरै सायदै कसैलाई थाहा होला ।
त्यसैले मैले सोच्नुभन्दा पहिले नै उहाँले मलाई चाहिने कपडा किनिदिनु हुन्थ्यो । स्कुलका किताब र ड्रेस किनिदिनु हुन्थ्यो । मैले थाहा हुनुपूर्व नै उहाँलाई थाहा हुन्छ कि मैले कति काम गर्न सक्छु ।
मैले कति खाना खान्छु देखि मैले कति घाँस दाउरा गर्न सक्छु/सक्दिन उहाँलाई नै मजाले थाहा हुन्छ । मैले धेरैपटक उहाँलाई सोधेँ हुँला कि मैले कति गर्न सक्छु, पढ्न कति सक्छु । खाना कति खाउँ, यो खाउँ कि नखाउँ । लाग्छ मेरोबारे हेरक प्रश्नको मँसँग पनि नभएका उत्तर बुबासँग छ ।
कतिपय अवस्थामा अझै पनि म आफ्नो बारेमा खुलेर भन्न सक्दिनँ । कसैले प्रश्न सोधेको अवस्थामा मैले सीधा उत्तर दिन नसकेर धेरैपटक बुवातिर हेरेको छु । त्यसपछि उहाँले जे उत्तर दिनुहुन्छ मेरो मनले कहिल्यै होइन भनेन ।
मलाई लाग्छ बुवा नभएका छोराछोरीले यस्तो संकटको समाना कसरी गर्छन् होला ?
यसबारे १२ मा पढ्दाको एउटा घटना सुनाउँछु । म साथी मिलनको मा बस्न गएको थिएँ । साँझ खाना खाइसकेर हावा खान हामी छतमा उक्लियौँ ।
यस्तै परिवारबारे कुरा चलिरहेको थियो । एकाएक ऊ भावविह्वल भयो । कुराकानीका क्रममा उसले जोडेको एक पङ्ती मलाई जस्ताको त्यस्तै याद छ ।
‘आखिरमा सानै हुँदा आमा त बित्नु भयो । म उहाँ वित्नुभयो भनेर एक मनले चित्त बुझाउन सक्छु तर सानैमा हराएको बुवा अझैपनि फर्किनु होला भन्ने आशा लागिरहन्छ,’ उसले यसरी भन्यो कि मैले उसको कुरा सुनेर न केही सोच्न सकेँ न केही भन्न् बस सुनिरहेँ । उसका रसाएर चुहिन नसकेका आँखा हेरिरहेँ ।
मैले रमाउँदै सुनाएका परिवारका कुराप्रति आफैंलाई पीडाबोध भएर आयो । तर त्यो घटनापछि यति थाहा भयो कि बुबाको महत्व बुवा नहुनेलाई जति सायदै कसैलाई थाहा होला ।
एसले मलाई त्यो रात अघि नै बुवा र आमाको तस्बिर देखाएको थियो । तर, ती तस्बिरहरु यति भावनात्मक र गहिरा होलान् भनेर मेले कहिल्यै सोचेको सम्म पनि थिइनँ । मनमा एक किसिमको पीडा बोकेर पनि हरेक साना साना कुरामा रमाउन सक्ने साथी पाएकोमा म उप्रति आजसम्म गर्व गर्छु ।
आख्यानकार कृष्ण धराबासीको आधा बाटो नामक उपन्यास उनको आमाको मृन्यु भएपछि सकिन्छ । यसर्थमा अभिभावक रहँदासम्मको जीवनलाई आधा बाटो भन्ने सांकेतिक नाम उपन्यासमा पाइन्छ । यसलाई जोडेर भन्न सकिन्छ, मिलनले त आफ्नो आधा बाटो सानै उमेरमा हिँडिसकेछ ।
करिब दुई दशकघि हराउनु भएको उसको बुबा एकदिन घर फर्किएर आउनु भयो भने ऊ जतिनै म पनि खुसी हुन्छु होला ।
खैर, छोडिदिउँ यि सबै वियोगान्त कुरा । आज त बुवालाई खुसी पार्ने दिन पो हो । उहाँलाई विहान गरेको फोन कलले भन्दा धेरै खुसी मेरो चरित्र र मैले गरिरहेको कामले बनाउनु पर्ने हो । मलाई थाहा छैन कि मैले उहाँलाई कति खुसी बनाउन सकेँ । मेरो स्कुलको फी तिर्न, ड्रेस, कापी र पुस्तक किनिदिन, औषधि उपचार गरिदिन गाईको गोबर, आलु र अँदुवाको भारी, तरकारीका बोरा बोकेर एक डाँडाबाट अर्को डाँडासम्म पुर्याउन सक्ने मेरो बुबाको ढाडमा कति मल्हम लागाउन सकेँ, मलाई थाहा छैन् ।
गम्बुट र म्याजिक चप्पलबाहेक अन्य फुटवेयर नपरेका ति खुट्टाको कति सम्मान गर्न सकेँ मलाई थाहा छैन् । तर मलाई यति थाहा छ कि म तपाइँले देखाएको बाटोमा हिँड्न भुल्ने छैन् । तरकारी बेचेर कमाएको सानोसानो रकम भेला गरेर मेरो ठूलो सपना पुरा गर्ने जिम्मेवारी लिनुभएको तपाइँको लक्ष्य नै मेरो लक्ष पुरा गर्नु हो । त्यही लक्ष्यमा हिँडिरहेको मैले सफलता पाउँछु वा पाउँदिन त्यो निर्णय गर्ने अधिकार तपाइँले चै चिनाएको भगवानलाई छोड्दिन चहान्छु ।
तर, जस्तो परिस्थिती आओस् तपाइँको आदर्शमा आँच आउन दिने छैन् । काठमाडौंको खाल्डोबाट सुदुरपुर्वमा रहनुभएका मेरा बालाई सम्झेर आजमात्र होइन हरेक दिन यही प्ररेणा मनमा खेलाउँछु – कि एउटा गर्विलो सन्तान बन्न सकुँ ।
