Feature

अनुभुति : इटहरी पारायण र मेरो प्रेम

इलाम बाट विर्तामोढ र त्यहाँ बाट २ घण्टा बसमा दौडेपछि इटहरी पुग्यौं । इटहरी पारायण ०६३ मा। आजपनि  त्यो बेलाको धमिलो याद मानसपटलमा कतै लुकेर...

Wednesday, August 19, 2020

एउटा गर्विलो सन्तान बन्न सकुँ

बुबा, तपाइँले मलाई दिनुभएको सबैभन्दा ठूलो उपहार नै मेरो जन्म हो । अनि पालनपोषण ।


यो भन्दा ठूलो उपहार कसले कसलाई दिनसक्छ छ ? के कसैले कसैलाई उसको जन्म र बालापन भन्दा ठूलो उपहार दिन सक्छ र ? मलाई लाग्छ सक्दैन । त्यसैले ठूला उपहारहरु शब्दमा, भावनामा र बस्तुमा तुलना गरिँदैन ।

उफ ! म त भावनामा बगिसकेँछु । अब फेरि आजको विषेश चार्डमा आऔँ । आज भाद्र कृष्ण औंषी अथात् बुवाको मुख हेर्ने दिन । पण्डितहरु भन्छन् । आज बिहानै उठेर नुहाइधुहाइ गरेर बुवाको मुख हेर्नुपर्छ ।

मुख हेर्नुको मतलब बुवालाई छोराछोरीले उनीहरुलाई सम्झिन्छन भन्ने अनुभुती गराउनु पनि हो । मलाई लाग्छ बुवाले छोराछोरीको ध्यान कन्द्रित गर्न सक्नु भनेको उनको मन प्रफुलित बनाउनु पनि हो ।

यही कुरोको मनन गरेका मेरो एक जना साथीले प्लस टू पढ्दा दिउँसो आफ्ना बाबुलाई फोन गर्दथे । खासै कामको कुरा पनि हुने गर्थेन् । म चाहीँ यस्तो अनावश्यक फोन अधिकाँश बिहान(६ बजे अघि) गर्थेँ । उताबाट पनि त्यही समयमा धेरै फोन आउँथ्यो ।

त्यसैले मैले सोधेँ, ‘दिउँसो त महँगो पर्छ, बिहान गर्नु नि ।’

उसले जवाफमा भन्यो, ‘विहान बुबा घरमै हुनुहुन्छ नि त ।’

‘अनि के भयो त ?’

‘हेर् । दिउँसो बुवा अरु साथीहरुसँग हुनुहुन्छ होला । मैले फोन गरेपछि उहाँले मेरो छोरो पनि सहरमा साइन्स पढ्दैछ भनेर भन्न सक्नुहुनेछ भनेर दिउँसो फोन गरेको । यस्तो कुराले छोराले सम्झिन्छ भनेर बुबाले सबैलाई भन्न सक्नुहुन्छ के ।’

‘वाह ! जवरजस्त पुत्र,’ मैले अन्तिममा यति भनेँ ।

तर, उसको आइडियो मलाई गज्जबको लाग्यो । आइडिया भन्दा पनि बुबाको मनोभावना बुझ्न सक्ने कुरा खुबै मन पर्यो ।

आखिर जन्म दिएर,पालन पोषण गरेर एउटा बावुले के चाहान्छ ? त्यही छोरोको खुसी न चहान्छ । छोराहरुको खुसी देखेर बाबुले हजारौँ दुःख बिर्सन सक्छ भने छोराहरुले बाबुको सुसीका लागि झिना काम किने नगर्ने ? अवस्य पनि गर्नेपर्छ ।

उसको त्यो आइडिया मैले पनि चारेरे प्रयोग गरेँ । त्यसले मलाई त केही प्रभाव पारेन केही छिनका लागि बुवालाई खुसी पार्यो किने भन्ने चाहीँ लागेको छ ।

जति फोन गरे पनि मैले बुवालाई कहिल्यै भनिनँ कि म तपाईलाई कति माया गर्छु । उहाँले पनि कहिल्यै भन्नु भएन । तर पनि मलाई लाग्छ उहाँले मलाई सबैले भन्दा नजिकबाट चिन्नुभएको छ । मेरो समस्या, आवश्यकता र सौख उहाँलाई भन्दा धेरै सायदै कसैलाई थाहा होला ।

त्यसैले मैले सोच्नुभन्दा पहिले नै उहाँले मलाई चाहिने कपडा किनिदिनु हुन्थ्यो । स्कुलका किताब र ड्रेस किनिदिनु हुन्थ्यो । मैले थाहा हुनुपूर्व नै उहाँलाई थाहा हुन्छ कि मैले कति काम गर्न सक्छु ।

मैले कति खाना खान्छु देखि मैले कति घाँस दाउरा गर्न सक्छु/सक्दिन उहाँलाई नै मजाले थाहा हुन्छ । मैले धेरैपटक उहाँलाई सोधेँ हुँला कि मैले कति गर्न सक्छु, पढ्न कति सक्छु । खाना कति खाउँ, यो खाउँ कि नखाउँ । लाग्छ मेरोबारे हेरक प्रश्नको मँसँग पनि नभएका उत्तर बुबासँग छ ।

कतिपय अवस्थामा अझै पनि म आफ्नो बारेमा खुलेर भन्न सक्दिनँ । कसैले प्रश्न सोधेको अवस्थामा मैले सीधा उत्तर दिन नसकेर धेरैपटक बुवातिर हेरेको छु । त्यसपछि उहाँले जे उत्तर दिनुहुन्छ मेरो मनले कहिल्यै होइन भनेन ।

मलाई लाग्छ बुवा नभएका छोराछोरीले यस्तो संकटको समाना कसरी गर्छन् होला ?

यसबारे १२ मा पढ्दाको एउटा घटना सुनाउँछु । म साथी मिलनको मा बस्न गएको थिएँ । साँझ खाना खाइसकेर हावा खान हामी छतमा उक्लियौँ ।

यस्तै परिवारबारे कुरा चलिरहेको थियो । एकाएक ऊ भावविह्वल भयो । कुराकानीका क्रममा उसले जोडेको एक पङ्ती मलाई जस्ताको त्यस्तै याद छ ।

‘आखिरमा सानै हुँदा आमा त बित्नु भयो । म उहाँ वित्नुभयो भनेर एक मनले चित्त बुझाउन सक्छु तर सानैमा हराएको बुवा अझैपनि फर्किनु होला भन्ने आशा लागिरहन्छ,’ उसले यसरी भन्यो कि मैले उसको कुरा सुनेर न केही सोच्न सकेँ न केही भन्न् बस सुनिरहेँ । उसका रसाएर चुहिन नसकेका आँखा हेरिरहेँ ।

मैले रमाउँदै सुनाएका परिवारका कुराप्रति आफैंलाई पीडाबोध भएर आयो । तर त्यो घटनापछि यति थाहा भयो कि बुबाको महत्व बुवा नहुनेलाई जति सायदै कसैलाई थाहा होला ।

एसले मलाई त्यो रात अघि नै बुवा र आमाको तस्बिर देखाएको थियो । तर, ती तस्बिरहरु यति भावनात्मक र गहिरा होलान् भनेर मेले कहिल्यै सोचेको सम्म पनि थिइनँ । मनमा एक किसिमको पीडा बोकेर पनि हरेक साना साना कुरामा रमाउन सक्ने साथी पाएकोमा म उप्रति आजसम्म गर्व गर्छु ।

आख्यानकार कृष्ण धराबासीको आधा बाटो नामक उपन्यास उनको आमाको मृन्यु भएपछि सकिन्छ । यसर्थमा अभिभावक रहँदासम्मको जीवनलाई आधा बाटो भन्ने सांकेतिक नाम उपन्यासमा पाइन्छ । यसलाई जोडेर भन्न सकिन्छ, मिलनले त आफ्नो आधा बाटो सानै उमेरमा हिँडिसकेछ ।

करिब दुई दशकघि हराउनु भएको उसको बुबा एकदिन घर फर्किएर आउनु भयो भने ऊ जतिनै म पनि खुसी हुन्छु होला ।

खैर, छोडिदिउँ यि सबै वियोगान्त कुरा । आज त बुवालाई खुसी पार्ने दिन पो हो । उहाँलाई विहान गरेको फोन कलले भन्दा धेरै खुसी मेरो चरित्र र मैले गरिरहेको कामले बनाउनु पर्ने हो । मलाई थाहा छैन कि मैले उहाँलाई कति खुसी बनाउन सकेँ । मेरो स्कुलको फी तिर्न, ड्रेस, कापी र पुस्तक किनिदिन, औषधि उपचार गरिदिन गाईको गोबर, आलु र अँदुवाको भारी, तरकारीका बोरा बोकेर एक डाँडाबाट अर्को डाँडासम्म पुर्याउन सक्ने मेरो बुबाको ढाडमा कति मल्हम लागाउन सकेँ, मलाई थाहा छैन् ।

गम्बुट र म्याजिक चप्पलबाहेक अन्य फुटवेयर नपरेका ति खुट्टाको कति सम्मान गर्न सकेँ मलाई थाहा छैन् । तर मलाई यति थाहा छ कि म तपाइँले देखाएको बाटोमा हिँड्न भुल्ने छैन् । तरकारी बेचेर कमाएको सानोसानो रकम भेला गरेर मेरो ठूलो सपना पुरा गर्ने जिम्मेवारी लिनुभएको तपाइँको लक्ष्य नै मेरो लक्ष पुरा गर्नु हो । त्यही लक्ष्यमा हिँडिरहेको मैले सफलता पाउँछु वा पाउँदिन त्यो निर्णय गर्ने अधिकार तपाइँले चै चिनाएको भगवानलाई छोड्दिन चहान्छु ।

तर, जस्तो परिस्थिती आओस् तपाइँको आदर्शमा आँच आउन दिने छैन् । काठमाडौंको खाल्डोबाट सुदुरपुर्वमा रहनुभएका मेरा बालाई सम्झेर आजमात्र होइन हरेक दिन यही प्ररेणा मनमा खेलाउँछु – कि एउटा गर्विलो सन्तान बन्न सकुँ ।

Tuesday, August 4, 2020

‘कुकरको बिर्को !’

कोठामा छिर्नेबित्तिकै वाइफाईसँग जोडिएको आवाज मेरो मेसेन्जरले जहिल्यै दिन्छ। आज पनि दियो। हातगोडा धोइसकेपछि मेसेन्जरमा सबैको डे र मेसेज चेक गरेँ। र, फेसबुकको वाल कोट्याउन थालेँ।

आजभोलि सामाजिक सञ्जालले धेरै कुरा सिकाउँछ। शुक्रबार साँझ पनि त्यस्तै एउटा कुरा सिकेँ।

फेसबुकमा सदाझैँ पोष्टहरु थिए। स्क्रोल गर्दै जाँदा एक ठाउँ पुगेँ। जहाँ, आँखा ट्याक्क अडिए – ‘साया’ नामक फेसबुक ग्रुपको पोस्ट थियो त्यो।

एक प्रश्न सोधिएको थियो त्यहाँ, जसले मेरो दिमागलाई सोच्न बाध्य बनायो। उसो त, सामाजिक संजालको पोस्टबारे धेरै सोच्ने गर्दिनँ। त्यसमाथी जुन ग्रपुमा पोस्ट भएको थियो, त्यो ग्रुपको मेम्मबर थिइनँ। मेम्बर बन्नका लागि एक जाना साथीले आग्रह गरेका रहेछन्।

पोस्टको माथी देखाइएको थियो – ‘विपिन वान्टस यू टू जोइन साया।’

तर मैले ग्रुप जोइन गर्ने भन्दा पनि कोइसनको उत्तर सोच्न थाले। जहाँ सामीले प्रश्न गरेकी थिइन, ‘तपाईंहरुलाई भाँडा माझ्ने बेला सबैभन्दा माझ्न दिक्क लाग्ने भाँडो कुन हो ?’

म पनि घरमा दैनिक भाडा माझ्ने मान्छे। सकेसम्म घरमै खाना बनाएर खाने, जसकारण भाँडा माझ्ने काम हुने नै भयो। त्यसैले आफैंले आफैँलाई सोधेँ – ‘मलाई माझ्न अप्ठ्यारो लाग्ने भाँडा कुन होला त ?’

उत्तर पाउन मुस्किल पर्यो।

एसो आर्मालितिर हेरेँ – ग्लास र बटुका चम्किरहेका थिए। तर तिनीहरु माझ्न अप्ठ्यारा थिएनन्। फिल्टर तिर हेरेँ त्यो पनि माझ्न खासै गाह्रो थिएन्।

अलि गाह्रो लाग्ने भनेको कालो कराई हो। त्यो पनि भन्नैपर्ने गरिको गाह्रो भने होइन। थाल प्लेट पनि माझ्दा स्वाट्टै गइहाल्ने खालका भाँडा हुन क्यारे।

‘आखिर के हुन सक्छ त त्यो बस्तु ?’ धेरै गहिरिएर सोचेँ। उत्तर पत्ता लगाउन नसकेपछि त्यही पोस्टको कमेन्ट हेर्ने सोच बनाएँ। तर कमेन्ट हेर्न मिलेन। पहिले ग्रुपमा जोइन हुनपर्ने भयो।

मैले साया लेखेको ठाउँमा क्लिक गरेँ। र, ग्रुप जोइन गरेँ।

अनि लगत्तै रिफ्रेस गरिहालेँ। वालको तेस्रो स्थानमा देखियो त्यो पोस्ट। लगत्तै कमेन्टमा क्लिक गरेँ। त्यहाँ केही इमोजीका कमेन्ट थिए त केही मलाई भाँडा माझ्ना आउँदैन भन्ने खालका। आउँदैन भन्नेवाला धेरैजसो केटाहरु नै थिए।

तर तेस्रो कमेन्टमा मिलन रोकायाले कुकर माझ्न अप्ठ्यारो लाग्ने लेखेका थिए। त्यसपछि कुमारी आलेले त्यही पोस्टमा कमेन्ट गर्दै ‘कुकरको ढक्कन’ लेखकी थिइन्। उनलाई कुकरको बिर्को माझ्नल गह्रो लाग्ने रहेछ।

मैले सोचेँ। अहो...! हो त है...

त्यो कुकरको बिर्को माझ्न त लास्टै घाँडो हुन्छ। कहिले चिल्लो जादैन, कहिले सिट्ठीले दुःख दिन्छ त कहिले रबरको कुनाको जुठो त्यतिकै रहन्छ।

अझ भनौँ। त्यो सानासाना प्वालबाट त घोचीघोची फोहोर निकाल्नु पर्छ। यसको आकार पनि नियमित हुँदैन। कस्तो आकारको हो यो बिर्को ? मैले कुकरको बिर्को अन्य भाँडाको बिर्कोसँग दाँजी हेरेँ तर अन्य कुनैसँग मेल खाएन।

‘खै कस्तो आकार हो यसको।’ यही कुरा मनन गरेकी केशरी थापा लेख्छिन्, ‘दाल उमालेको कुकरको ढक्कन माझ्न लास्टै गह्रो।’ र, हो पनि।

किनभने दाल उमालेपछि त्यसको छोक्रा अक्सर कुकरको प्वालमा गएर टाँसिन्छ। र, माझ्न अप्ठ्यारो हुन्छ। मैले पनि अनुभव गरेको कुरा हो।

त्यही पोस्टको कमेन्टमा लोकेश घर्ती लेख्छन्, ‘सबैभन्दा गाह्रो कुकरको बिर्को हो। यो बनाउने मान्छेलाई मेरो तर्फबाट ध्यानाकर्षण गराउन चाहान्छु।’ कुकर बनाउनेलाई घर्तीले फेसबुकबाटै सानोतिनो गुनासो पोखे।

यसो भन्दै गर्दा मैले सोचेँ। साँची ‘कुकर र त्यसको बिर्को कसले बनायो होला ?’ गएर गुगल गरिहालेँ, ‘हु इन्भेन्टेड प्रेसर कुकर एन्ड इट्स कभर ?’

गुगलले देखाइहाल्यो – ३५० वर्ष पहिले फ्रेन्च भौतिकशास्त्री डेनिस पपिनले प्रेसर कुकरको डिजाइन गरेका रहेछन्। प्रेसर कुकरको सन् १६७९ बाट औपचारिक व्यापार सुरु भएको रहेछ। मैले दैनिक प्रयोग गरिरहेको कुकरको सुरुमा नाम कुकर होइन रहेछ।

यसलाई बनाउने वैज्ञानिक पपिनको नामबाट राखिएको रहेछ – पपिन्स डाइजेस्टर। पछि यसैलाई नै प्रेसर कुकर भनेर चिनिन थालिएछ। तर घर्तीको यो अपिल भौतिकशास्त्री पपिनले सुन्न पाउने छैनन किनभने उनको मृत्यु १७१३ मै लन्डनमा भइसकेको छ।

फेरि पोस्टकै कुरा गरौँ, धेरै मानिसले पनि कुकरको बिर्को नै माझ्न सबैभन्दा गाह्रो हुने लेखेका छन्। त्यही पोस्टका धेरै कमेन्ट पढेपछि प्रश्नकर्ता समीले आफ्नै पोस्टमा कमेन्ट गरेकी छिन्, ‘सबैलाई कुकरको बिर्को नै रैछ, गाह्रो लाग्ने।’

यो कमेन्टको साथमा उनले हाँसोको एउटा स्माइली पनि छोडेकी छिन्।

यसबाहेक एक जना फेसबुक प्रयोगकर्ता कुमार घिमिरेले सहित्यिक पारामा कमेन्ट गरेका छन्, ‘सबैभन्दा घाँडो, दुधचिया उमालेको भाँडो।’ साथै अर्को एक जनाले चिया उमाल्ने किट्ली पनि माझ्ना गाह्रो पर्ने बताए। कमेन्टका साथ उनले आँखाबाट आँशु चुहाउँदै हाँसीरहेको चार वटा स्माइली राखेका छन्। जसले उनको कमेन्ट एक ठट्टा हो भन्ने जनाउँछ।

तर अधिकांस मानिसले कुकरको विर्को वा ढक्कन नै गाह्रो हुने बताए। कतिले सिधै कुकर लेखे, कतिले कुकरको बिर्को लेखे भने, कति जनाले तर रोमनमा कुकर लेख्दा त्यसको स्पेलिङ शुद्ध लेखेनन्। विगारे। जे होस् धेरैलाई कुकरको बिर्को माझ्न अप्ठ्यारो लाग्ने रहेछ।