Feature

अनुभुति : इटहरी पारायण र मेरो प्रेम

इलाम बाट विर्तामोढ र त्यहाँ बाट २ घण्टा बसमा दौडेपछि इटहरी पुग्यौं । इटहरी पारायण ०६३ मा। आजपनि  त्यो बेलाको धमिलो याद मानसपटलमा कतै लुकेर...

Wednesday, February 5, 2020

भगवान्, मैले गल्ती त गरिनँ ?

सबै घटनाको सुरुवात कहाँबाट भयो एकिन छैन । जतिसम्म थाहा छ त्यहाँबाट सुरु गरौं ।

कुरा, दुई हजार आन्ठाउन्न सालको हो । ठ्याक्कै गते र महीना याद भएन । बुबाको रिक्बेस्टमा ओझा गुरुले झ्याप्पै ‘कण्ठी’ बाँधिदिए । २/४ वटा अन्जान मन्त्रले कान फू–फू पनि गरिदिए । सभ्य भाषामा यसलाई ‘दीक्षा दिएको’ भन्छन ।

जन्मेको आधा दशक पनि नबित्दै यसरी म दिक्षित भएँ । त्यो बेलामा यसको न अर्थ थाहा थियो न महत्व ।


बिस्तारै यसको अर्थ र महत्व बुझ्दै गएँ ।

कानमा फू–फू गरेको मन्त्र ‘नीजनाम’ मन्त्र रहेछ । जसको अर्थ हुन्छ ‘आफ्नो मन्त्र’ । ‘नीज’ मतलव आफ्नो । मन्त्र त थाहा छँदै छ ।

गुजराती भाषामा वर्णित ६ चौपाइको नीजनाम मन्त्र न कहिले कण्ठ गरियो, न कसैलाई भनेर नै सुनाइयो ।

कसैले नीजनाम मन्त्र आउँछ भनेर सोधे भने, ‘जाबो त्यतिपनी आउँदैन जस्तो लाग्छ क्याहो ? बरु तँ/तिमी/तपाइँलाई आउँछ भने भने/भन्नुस, ‘भन्ने रेडिमेड उत्तर दिनै पर्ने हुन्थ्यो। त्यसो भनिसकेपछि आउनेले भन्न कष्ट गर्दैनथे, नआउने को ताल उही भैहाल्यो । त्यसैले – तैँ चुप, मै चुप ।

नीजनाम मन्त्रको खास अर्थ नबुझी आधाउधी रटेको थिएँ । अर्थ थाहा थिएन ‘अगि भनिँहालेँ नी ।’ ध्यान गरेर बस्दा यही आधा मन्त्र दुईरचार पल्ट जप्ने गरिन्थ्यो । ठूलो स्वरमा पण्डितले वेदमन्त्र पाठ गरेजास्तो गर्नु नपर्ने भएकाले मैले नजानेको कुरा कसैलाई थाहा हुने कुरै हुँदैन थियो ।

यो मन्त्र पाएको २० वर्ष हुन लग्यो, खै केही लछार्पाटो लाग्ने देखिएन । मलाई यो मन्त्र विर्शिन अझै दशक लाग्न सक्छ । जीवन भरी नविर्सिन पनि सक्छ । तर, मलाई यत्ती थाहा छ - अब यो मन्त्रको कुनै काम छैन ।

त्यस्तै कण्ठी ।

‘कण्ठी’ भनेको ‘तुलसीको माला’ हो । ‘यो कण्ठ(घाँटी)मा लगाइने भएकाले यसलाई कण्ठी भनिएको रे !’ एकजना पण्डितले प्रवचन गर्ने क्रममा भनेको कतै सुनेको थिएँ । कुरो ठिकै हो - कण्ठमा लगाउने भएकाले कण्ठी भनियो । शीरमा लगाउने फूल ‘शीरफूल’ भनेजस्तै ।

बिस्तारै कण्ठी लगाउनु शोख भन्दा पनि बाध्यता बन्दै गयो । आफैंलाई अनौठो लाग्न थाल्यो । त्यो कण्ठीको भारले नै थिचिएजस्तो पो लाग्न थाल्यो ।

तर, कण्ठी लगाउने सवालमा बारम्बार प्रवचन भैरहन्थ्यो । प्रवचनकै क्रममा एक जाना पण्डितले प्रश्न गरे, ‘मान्छे मरेपछी पहिले कहाँ लैजान्छन ?’ उत्तर पनि आफैंले दिए – ‘तुलसीको मोठमा ।’ सबैले ध्यान दिएर सुनिरहेकाले मैले पनि सुनें । उनले भन्दै गए, ‘हामी कहिले र कहाँ मर्छौँ थाहा छैन । हामीलाई भोलीनै पो काल आइहान्छ कि !

कस्तो अवस्थाला मर्छौं केही ग्यारेन्टी छ त ? उत्तर – छैन । त्यसैले यो तुलसीको माला घाँटीमै लगाएको छ भने मरेपछी तुलसीको मोठमा लैजानु पर्दैन ।’

वाह, कति सोलिड उत्तर !

तर, मलाई त्यति सुनेपछी हाँसो लागिहाल्यो । सोचें ‘ज्युँदो तुलसीले पो धेरै अक्सिजन दिन्छ र मर्नेबित्तिकै मोठमा लौजानु विज्ञानसम्बत् छ । तर मरिसकेको डाँठको के अर्थ ?’ फेरि सोचें, ‘तुलसीलाई स्वयं बिष्णुको प्रतिक मानिन्ने भएकाले पनि यसो भन्नू उचितै होला ।’ खैर केही छैन ! चित्त बुझाउने बानी लागेकै हो । थप एक पटक बुझाइयो ।


स्नानगृहमा नुहाउँदा गलामा लगाएको तुलसीको माला फुत्त भुइँमा खस्यो । चर्पीसँगै रहेको स्नानगृहमा खसेको माला उठाएर फेरि लगाउनु हुन्छ वा हुन्न, दोधारमा परें ।
त्यस्पछी कहिले कण्ठी लगाइनँ ।
************
‘सानै उमेरमा सिकेको ज्ञानले जीवनभर महत्व राख्छ, हामीले राम्रा कुराहरु मात्र सिक्नु पर्छ । नराम्रो कुरालाई छोड्दै जानु पर्छ, ’ सामाजिक बिषय पढाउँदै गर्दा जीत बहादुर सरले भनेको अझै याद आउँछ ।

सरले अगाडि थप्नुहुन्थ्यो, ‘मानिस सामाजिक प्राणी हो । हामी समाजका सर्वश्रेष्ठ सजिव पनि हौं ।’

तर, सरले स्कुलमा भनेका कुरा र गुरुबाले प्रवचनमा भनेका कुरा मिल्दैन थिए । गुरुबा भन्थे, ‘हामी तुच्छ मानिस अग्यानी होउँ । हामीभन्दा ज्ञानी त जनावर हुन्छन । गाईलाई नै हेरौं, उसले घाँस मात्र खान्छ । मांशाहारी खानु हुँदैन भन्ने उसलाई भरपुर ज्ञान छ । पशु भएर पनि उ बाट घर लिप्ने शुद्ध गोवर निस्किन्छ । हाम्रो बाट निस्किन्छ ? – निस्किँदैन ।’

गुरुबाले भनेका वाक्यांश जस्ताको तस्तै यही नै हुन् ।

उनी मानिसलाई थप विश्वस्त बनाउँदै भन्थे, ‘कुकुरले पनि आफ्नो ड्युटी जानेको हुन्छ । उसलाई आफ्नो मालिक र मालिकको सम्पत्तिको रक्षा गर्न कसैले सिकाउनु पर्दैन, आफैं जान्दछ । तर, मान्छेको व्यवहार हेर – आफ्नैलाई धोका दिएर भागिरहेका हुन्छन ।’

स्कुल र मन्दिरमा सुनिने यस्ता दुईथरी कुराले मेरो दिमाग ह्याङ हुन्थ्यो । ‘आखिर मानिस पशुभन्दा उत्तम कि खत्तम हो ? यो प्रश्नको सीधासीधा उत्तर कस्ले देला ?’ म सोच्छु ।

अनि उत्तर पनि आफैं खोज्छु – जसले यो बारेमा खोजी गर्छ उसले यसको उत्तर पाउला । तर त्यो उत्तर सबै मानिसमा पुग्न अझै कति वर्ष लाग्ला खै !

मेरो बाल्यकालका कौतुहुलताले प्रश्न जन्माइरहन्छ । उत्तर पनि दिन्छ । तर, प्रतिप्रश्नसहित।

एक दिन के भयो भने – स्नानगृहमा नुहाउँदा गलामा लगाएको तुलसीको माला फुत्त भुइँमा खस्यो । चर्पीसँगै रहेको स्नानगृहमा खसेको माला उठाएर फेरि लगाउनु हुन्छ वा हुन्न, दोधारमा परें । त्यस्पछी कहिले कण्ठी लगाइनँ ।


सानामा देखाएको सबै बाटो भेट्न नसकिने रहेछ । बाँच्दै गएपछी संसरलाई हेर्ने आँखामा परिवर्तन हुँदै जाने रहेछन् ।
************

त्यसैले होला, आजभोली त्यस्ता दोधारे विचार आउन कम भएको छ । तर, दोधारे विचार आउन कम भयो भन्दैमा पहिलेको दर्शनलाई भुल्न मिल्दैन ।

मैले एकपटक दर्शनको खोज गरें । खोज सुरु गर्न मैले ५ प्रश्न तयार परेको थिएँ ।

ती पाँच प्रश्न

१, के समय र स्थानसँगै मानवताको सिद्धान्त परिवर्तन हुन्छ ?

२, के देखेको सबै सत्य हुन्छ ?

३, अनि सुनेको ?

४, के सत्यमा पनि ‘तात्विकता’ हुन जरुरी छ ?

५, तात्विकता भनेको के हो ? भन्ने थियो।

त्यसबेला मेरो मानसपटलमा युद्ध चलिरहेको थियो – समाज र धर्मबीचको युद्ध । युद्धभन्दा पनि एक प्रकारको गृहयुद्धनै भनौं । जसबाट चाहेर पनि मुक्त हुन सकिरहेको थिइनँ ।

खासमा, खोज गर्नै नपर्ने ‘तात्विकता’ भन्ने विषयमा मेरो मगज बटारीइ रहेको थियो । झिसमिसेको बुट्यानझैं अमुर्त चिन्तनहरु स्वैरकल्पना बनी गुज्रिरहन्थे, मैले सम्हाल्न खोज्दा–खोज्दै पनि अनवाश्यक तर्कका पगरीहरु गुँथिन्थे । मैले दिमागलाई ठाउँमा ल्याउनै सकिरहेको थिइनँ । यसैबीच अर्को ज्ञान ममा पैदा भयो ।

जसले तात्विकताको अर्थ दियो ः ‘मानिसले कुनै कुरालाई कसरी बुझ्छन भन्ने कुरा उनीहरुले सिकेको कुरामा भरपर्छ । सुनेको, देखेको, स्पर्श गरेको कुरालाई बुझ्नसक्ने अन्तरज्ञान नै मानिसको त्यस बस्तुप्रतीको तात्विकता हो । कुनै कुराको अन्तरवस्तुलाई कतिसम्म मनन गर्न सकिन्छ भन्ने कुरा नै तात्विकताको सार हो । यसको मापन नभएपनी सतही अनुमान भने यसरी लगाउन सकिने रहेछ ।’

अर्थ दिमागमा त आयो । तर, यसको व्यवहारिकता खासै प्रष्ट भएन । यो त फगत साहित्य मात्र भयो ।

त्यसैले मलाई अर्को ज्ञान भयो : समयक्रमसँगै निर्णयमा परिपक्वता र आफूलाई चित्त बुझाउने क्षमतामा वृद्धि हुँदोरहेछ । आफूलाई सिद्धान्तका रापिला तीरबाट बचाएर बाँच्नलाई संघर्ष गराउने तत्वहरु शरीरभित्रबाट सक्रिय हुँदारहेछन् ।

सानामा देखाएको सबै बाटो भेट्न नसकिने रहेछ । बाँच्दै गएपछी संसरलाई हेर्ने आँखामा परिवर्तन हुँदै जाने रहेछन् ।